www.tandavnews.com
Fact ~ In search of truth

मनिकर्णिका : द क्वीन अफ झाँसी

– सुमित्रा भट्टराई

एउटै चलचित्रले राष्ट्रप्रेम जगाउँछ, उही चलचित्रले समानताका कुरा गर्छ, इतिहास खोतल्छ अनि चलचित्रले मनोरञ्जन प्रदान नगर्ने त कुरै भएन । २५ जनवरीमा रिलिज भएको चलचित्र मनिकर्णिका ः द क्वीन अफ झाँसी, यिनै बिषयवस्तुहरूको फ्युजन हो ।

उसो त सेलेक्टेड र मुभिमा मात्रै देखा पर्ने कंगना रनौट चुजी नायिकामा गनिन्छिन् । देखिरहेको र भोगिरहेको बिषयमा चलचित्र बनाउनु त कुनै नयाँ कुरा भएन, चलचित्र उत्कृष्ट बन्न कथा पस्किने शैलीमा भर पर्छ । मुख्य भुमिका आफ्नै भएपनि चलचित्रबाटै ईतिहास खोतल्ने प्रयास गर्नु अफ्ठेरो बिषय हो अझ आधाआधि कंगनाको आफ्नै निर्देशनमा ।

Batas

चलचित्रमा झण्डै दुईसय बर्ष पुरानो झँसी, कतै ईष्ट ईण्डिया कम्पनी त कतै तत्कालिन शासकहरूको लाचारी र जनताको तडप बनेर बगेको छ । सन् १८२८ मा भारतको उत्तरप्रदेश स्थित बनारसमा जन्मिएकी मनिकर्णिकालाई झाँसी विवाह गरी आएपछि पति राजा गंगाधर राव नेवाल्करले लक्ष्मी नाम दिए, पछि उनै महारानी लक्ष्मीबाई : क्वीन अफ झाँसी बनिन् ।

माईति बिठुरमा घोडचढी, साहसिक काम मन पराउने मनिकर्णिकाको आवश्यकता देखेरै झाँसीकी रानी बनाउन प्रस्ताव आउँछ । प्रस्ताव स्वीकार गरेपछि तत्कालै विवाहको सिन आउँछ । बाल्यकाल र वैवाहिक जीवनसम्म आईपुग्दाको सिन बनाउन अलिक हतार गरेझैँ देखिएको भएपनि पछिल्लो हाफले स्वतन्त्रता संग्राममा स्थानीयले भोगेका समस्या र अंग्रेज शासनकाललाई गज्जबले उतारेको छ । यस चलचित्रमा रहेको गित “मै रहुँ या नारहुँ, भारत ये रहेना चाहिए” को धुन र शब्दले राष्ट्रप्रेम अझ जगाउँदो हो भारतियमाझ ।

चलचित्रमा कंगनाका केही संवादहरू निकै प्रिय लागे । जस्तै अंग्रेज शासकलाई भनेको संवाद–“तिमीहरू शासन गर्न चाहन्छौँ, हामी जनताको सेवा गर्न चाहन्छौँ ।” भनेको समयमा होस् वा अंग्रेजसंग मिलेर देवरले गरेको घातले आजित बनेर उनले बोलेको अर्को संवाद “हे धर्तिमात्रा जब आफ्नैहरू पराईसंग मिलेर आफैँमाथि हमला गर्छन् त म कसरी तिमीलाई बचाउन सक्छु ?”

चलचित्रमा लक्ष्मीबाई अंग्रेजको क्याम्पमा पुग्दा ब्याकग्राउन्डमा एउडा बोर्ड पनि छाउँछ । “Dogs and Indians are not allowed .”  लेखिएको सो बोर्डले भारतिय नयाँपुस्ताको मनमा अंगे्रजप्रति घृणा थप्दो हो । कुमकुम र मेहन्दी उत्सव गरेर अंग्रेजका विरूद्ध लड्न हतियार संकलन गरेको विषय उत्तिकै चाखलाग्दो गरी राखिएको छ । उत्सवमा आएकी विधवा बालिकालाई लक्ष्मीबाईले सिन्दुर लगाउन फकाउँदा र बालिकाले सिन्दुर लगाएको सो सिन निकै भावुक छ ।

चलचित्र हेर्दै गर्दा ति संवादहरूले मन सिरिङ बनाईरहेको हुन्थ्यो । एक विधवा रानी जसले एकमात्र सन्तान र पति दुवै गुमाउनुपरेको छ । राजा गंगाधर बित्नु अघि सत्ता विश्वासघाती भाईको हातमा पर्छ भनेर त्यो जोडीले धर्मपुत्र राख्छन् र मृतक छोराकै दामोदरकै नाम दिन्छन् । लडाईमाझ नै मारिएपनि लक्ष्मीबाईको मृत्यू बलिदान र स्वाभिमानको मृत्यू भएको सन्देश चलचित्रले दिन्छ ।

ग्वालियरको सिन्धियावंश

एउटा विषयले कति बर्ष सम्म प्रभाव पार्छ भन्ने बिषय मैले चलचित्र हेरिसकेपछि ग्वालियरको बारेमा जान्न मन लागेर केही साईटमा खोजी गरेँ । गणतन्त्र स्वीकार्दै राजनीतिमा जोडिएको पहिलो राजपरिवार मानिने भारतको सिन्धियावंश, जसले महारानी लक्ष्मीबाईलाई स्वतन्त्रता संग्राममा साथ दिएन ।

सो परिवारकी राजमाता विजयाराजे सिन्धियाले सन् १९५७ मा कांग्रेसको तर्फबाट उम्मेदवारी दिई हिन्दुमहासभाका देश पाण्डेलाई ६० हजार भारी मतले जितेकी थिईन् । पुर्वराजपरिवारको सदस्यले चुनाव जितेपनि विजयाराजेलाई सहानुभुति जनाउँदै अधिकांश भारतियले सिन्धियावंशप्रति असन्तुष्टि भरिएका प्रतिक्रिया दिएका देखिन्थे ।

त्यसबेला सिन्धहरूले र ग्वालियर शाही परिवारले रानी लक्ष्मीबाईलाई साथ दिएको भए उनी अंग्रेजसंग हार्नुपर्दैनथ्यो भनेर । ग्वालियर दरबारबाट र तत्कालिन राजाबाट रानी लक्ष्मीबाईलाई गरेको घात चलचित्रले पनि देखाउँछ ।

केही असावधानी

राम्रो हुँदाहुँदै पनि चलचित्रमा केही त्रुटी भनौँ या असावधानी पनि देखिन्छ । राज्य आफ्नो भएपनि शासन अरूको अर्थात् अंग्रेज कम्पनीको अधिनमा राज्य चलाउनु कायर हुनु हो भन्दै लक्ष्मीबाईका पति राजा गंगाधरले कंगन अर्थात् चुरा लगाएको देखिन्छ ।

महिलाको गहना चुरा कसरी कायरताको प्रतिक हुन सक्छ ? नारीवादको पक्षमा बोल्ने कंगनाको आफ्नै निर्देशनमा बनेको चलचित्रमा चुरा कायरताको प्रतिक बन्नु दुखदः लाग्यो । ईतिहासको भएको सो घटनामा सांकेतिक रूपमा परिमार्जन गरेको भए अझै राम्रो हुने थियो । चलचित्रमा अंग्रेजी फौजसंगको लडाईमा तरवारले बेलायतको झण्डा काटिनु र घृणित् बन्नु पनि संवेदनशिल बिषय हो । धन्न अंग्रेज संग यसका बारेमा बहस गर्ने फुर्सद छ्रैन अथवा अंग्रेजले यस बिषयलाई महत्व दिँदैनन् ।

ऋतिक रोशनको भनाईका कारण नेपालीले गरेको प्रर्दशन याद आयो चलचित्र हेर्दैगर्दा । मनमा लागिरह्यो सो ठाउँमा अंग्रेजको साटो अरू देशको झण्डा भईदिएको भए ?

समग्र

खैर पुरै चलचित्र हेरिसक्दा दुईथान असन्तुष्टी बाहेक मैले ईतिहासको जानकारी, मनोरञ्जन र लक्ष्मीबाईको जस्तै साहस सबैथोक पाएँ । कतिबज्यो भनेर घडि हेरिरहनु परेन । साहसिक दृष्य र संवादहरूले मनमा जोस थपिरहे । चलचित्रमा डेनी डेनजोङ्पा सेनापति बनेर रानी लक्ष्मीबाईलाई अन्तिम समयसम्म साथ दिई आफ्नो भुमिकामा रातोरानीझैँ खुलेका छन् ।

अभिनेत्री अंकिता लोखण्डेले रानी लक्ष्मीबाई र झाँसीसंग पवित्र रिश्ता निभाएकी छन् । चलचित्रमा रानी लक्ष्मीबाई र छोरा घोडासहित हाम फालेको स्थल अझै पनि झाँसी दरबारको आर्कषण बिन्दु हो । सेटदेखि संवाद र आभुषण देखि भिआईएक्सले चलचित्रमा मिठासपन थपेको छ ।

ईष्ट ईण्डिया कम्पनीप्रति भारतियहरूको धारणा र तत्कालिन भारतियको जीवनशैलीलाई चलचित्रले गजबले पस्केको छ । भारतको स्वतन्त्रता संग्रामका बारेमा र लक्ष्मीबाईका बारेमा ईतिहास पढ्न अल्छी मान्नेलाई चलचित्रले मनोरञ्जन सहित ईतिहास सुनाईदिन्छ र देखाईदिन्छ । चलचित्र हेर्दैगर्दा उनीजस्तै छोरा गिर्वाणयुद्ध विर विक्रम शाहको नायवी शासन सम्हालेकी रानी राजेन्द्र लक्ष्मी सम्झिएँ ।

घात गरेपछि बेतिया निर्वासन पठाईएका बहादुर शाह र अंग्रेजसंग मिलेर झाँसी र राजपरिवारलाई घात गर्नसक्ने मानेर देश निकाला गरिएका देवर दुबैको नियती उस्तै लागे । मनले पनि नेपाली ईतिहाससंग जोडिएका विभिन्न कालखण्ड सम्बन्धित चलचित्र हेर्ने इच्छा गर्यो ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.