www.tandavnews.com
Fact ~ In search of truth

खोसिएको कोख, न्याय माग्दै मञ्जु

पोखरा
ताण्डव न्यूज ।

९ महिनासम्म पेटमा राख्दाको सकस एउटी आमालाई बाहेक अरुलाई के थाहा होला र ? एउटी आमाले आफ्नो सन्तानको निम्ती आफ्नो जीवननै त्याग्न पनि पछि पर्दिनन् । तर त्यही आमाको अघि आफ्नो सन्तान अरुले खोसेर लैजादाको पीडा मञ्जु नेपालीको रोदनबाट थाहा हुन्छ ।

घटना यस्तो छ

Batas

मञ्जुको उमेरले भर्खर १३ टेकेको थियो । कोपिलामा हुर्किदैं गरेकी मञ्जु फक्रिन नपाउँदै नवलपरासीका मनिष चौधरीले परिवारकै दबाबमा उनकै घर धादिङबाट चुँडे । ०५४ बैशाख २० गते नवलपरासी घर भई पोखरा बस्ने मनिषले लगाइदिएको सिन्दुरले मञ्जुलाई पोली मात्रै रह्यो ।

सानै उमेरमा बिहे गरी श्रीमानको हिँसा जसोतसो सहेर बसिरहेकै थिइन् । मनिष पट्टीका दुई सन्तान मन्टेश्वरी जाने भइसकेका थिए । तर पनि मनिष र मञ्जुको वैवाहिक जीवन उथलपुथल बन्दै थियो । मनिषको दिनहुँको कुटाइले उनको शरिरमा निलडाम हुन्थ्यो । गालिगलौजले रातमा आँखाका परेला जोडिन पाउँदैनथे । बिहान मन्टेश्वरी पुग्नुपर्ने छोराछोरी भोकै सुत्नुपथ्र्यो ।

कति सहनु यो दानवीय व्यवहार ? उनी मनिषबाट टाढिने बिचार गरिन । हुर्किदैं गरेका दुई सन्तानको जीवन आफ्नो जस्तो कहिल्यै नहोस् भन्ने थियो । घर बनाउने, गिट्टी कुट्ने गर्न थालिन् ।

इट्टा, ढुङ्गा, गिट्टीसँग दिनहुँ मितेरी गाँसेर तङग्रिएका हत्केलाले बच्चाको खानपान र पढाइलाई अघि बढाइरहेको थियो । कमाई राम्रै हुन्थ्यो । पालिएकै थिए मञ्जु, र दुई सन्तान ।

समय वित्दै थियो । घर बनाउने कामकै सिलसिलामा पोखरा मानपा–४ नालामुख बस्ने सुरेश साइसँग मञ्जुले विन्ध्यवासिनी मन्दिरमा दोस्रो बिहे गरिन् ।

सुरेशसँगै बस्न थालेकी मञ्जुले छोरीलाई जन्म दिइन् । छोरी जन्मिएपछि सुरेशले दुरी बढाए । दुईबीच बोलचाल र बसोबास पातलिदैं गयो । सुरेश मञ्जुको अगाडी नै देखा पर्न छाडिसकेका थिए ।

यता मञ्जुको कोख अर्को सन्तान हुर्किदै थियो । ९ महिनापछि पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा सुरेश र उनको अर्को निशानीले जन्म लियो ।

मञ्जुको भनाई अनुसार बच्चा जन्मने वित्तिकै केही व्यक्तिले उनलाई पैसाको लोभ देखाए । तर, उनले मानिनन् । बच्चा जन्माएको ३ दिन मात्रै भएको थियो । ३ दिनकै दिन उनलाई झुक्याएर कसले बच्चा लग्यो, यकिन भएन । उक्त बच्चाको लागि उनी आजसम्म भौतारिरहेकी छन् ।

विक्षिप्त भएकी मञ्जुलाई सोही घटनाले थप मानसिक तनाव उत्पन्न गराएको छ । उनी ०७० देखि पोखरा स्थित एक संस्थामा आश्रय लिइरहेकी छन् ।

हराएको बच्चाबारे मञ्जुको तर्क

मञ्जुले बच्चा सुरेश र प्रहरीको मिलेमतोमा बेपत्ता पारिएको दाबी गर्छिन् । केही व्यक्तिले बच्चा जन्मदा अस्पतालमा ३ लाखको लोभ देखाएर लैजान खोजिएको उनी सम्झन्छिन् । ‘मलाई ३ लाख दिन्छु । बच्चा बेचम् भन्ने लोभ देखाइएको थियो ।

९ महिना कोखमा राखेर जन्माएको बच्चालाई त्यस्तो पाप कसरी सोच्न सक्छे एउटी आमाले ? तर पछि मलाई झुक्याएर बच्चा बेपत्ता पारियो । मैले कति सोधखोंज गरें, पत्ता लागेन’ उनले यत्ति भन्दैमा आँखाका आँशु झर्न तयार भइसकेका थिए ।

‘प्रहरी कहाँ पनि पुगें । उनीहरुले मेरो कुरा सुन्नै मानेनन् । विक्षिप्त भएकी मलाई देवी चडेको छ भन्न सम्म भ्याए’ झर्न तयार भएका आँशु यति बोलिरहँदा भुइसम्मे पुगे । बच्चा प्रहरीकै रोहवरमा बेपत्ता पारिएको उनको आरोप छ ।

अहिले उनी सुरेश पट्टीबाट जन्मिएको पहिलो बच्चाको नैसर्गिक अधिकार र दोस्रो बच्चाको खोजी गरी न्याय दिलाउन माग गर्दै विभिन्न निकाय धाइरहेकी छन् । यिनै घटनाहरुलाई उल्लेख गर्दै उनले कोपिला नेपाल कास्कीमा ‘न्याय पाउँ भन्ने सम्बन्धमा’ निवेदन दिएकी छिन् ।

‘पहिलो बच्चाको नैसर्गिक अधिकार र दोस्रो बच्चाको खोजी गर्न र त्यही बेला अन्याय गर्ने व्यक्तिहरुबाट न्याय पाउँ भनि यो निवेदन पेश गरेकी छु’ निवेदनमा उल्लेख छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.