www.tandavnews.com
Fact ~ In search of truth

तन्नेरीको आर्कषण ‘मायालु डाँडा’

म्याग्दी ।

‘लभ्ली हिल’ को नामले चर्चित म्याग्दीको बेनी नगरपालिका वडा नं २ खबरामा रहेको ‘मायालु डाँडा’ मा भौतिक पूर्वाधार निर्माणसँगै आन्तरिक तथा बाह्य पर्यटकको भिड बढ्न थालेको छ ।

भीड बढ्न थालेपछि बेनी नगरपालिका, म्याग्दी उद्योग वाणिज्य सङ्घ र प्रवासी म्याग्देलीको संस्था (मोना) ले थप भौतिक पूर्वाधार निर्माण गर्न चासो देखाएका छन् ।

Batas

सदरमुकाम बेनीबजारदेखि करिब आधा घण्टाको दूरीमा रहेको ‘मायाँलु डाँडा’ (लभ्ली हिल) मा हिजोआज म्याग्दीका मात्रै होइन, देशका विभिन्न जिल्लाबाट आएका व्यक्तिका साथै विदेशीको समेत भिड लाग्न थालेको छ ।

लभ्ली हिलमा रेलिङ, गोलघर, खाजाघरलगायतका पूर्वाधार निर्माण गरिएपछि पर्यटकको आकर्षण बढ्दै गएको हो । साविकको ज्यामरुककोट गाविसमा पर्ने खबरा गाउँ नजिकै रहेको ‘खाराको डाँडो’ अहिले लभ्ली हिल बन्न पुगेको छ ।

म्याग्दी सदरमुकाम बेनी बजारदेखि नजिकै रहेको पर्यटकीय गन्तव्यको सम्भावना बोकेको लभ्ली हिलमा अहिले दिनहुँजसो सयौँको सङ्ख्यामा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । स–साना बालबालिकादेखि पाका उमेरका मानिस लभ्ली हिलमा पुग्ने गरेका छन् । लभ्ली हिलको डिलबाट सुन्दर र आकर्षक देखिने बेनी बजारलाई पिठ्युँमा पारेर तस्विर खिच्न खासगरी तन्नेरी पुग्ने गर्छन् ।

लभ्ली हिलबाट चारैतिरको दृश्य अवलोकन गर्न सकिने र गर्मीयाममा शीतलताको खोजीमा मानिस आउने गरेको स्थानीयको भनाइ छ । पहिले केही सिमित मानिस पुग्ने ठाउँ पछिल्लोपटक लभ्ली हिल बनेपछि समूह–समूह बनाएर दैनिकरुपमा युवा पुस्ता पुग्ने गरेका छन् ।

सामान्य समयमा समेत लभ्ली हिलमा मानिसको उपस्थिति देखिन्छ भने शनिबार र अन्य सार्वजनिक बिदाको दिनमा त झन् भीडै लाग्ने गरेको छ । प्रायः कलेज पढ्ने उमेरका युवायुवतीका लागि लभ्ली हिल आकर्षणको गन्तव्य बनेको छ ।

प्रवासी म्याग्देलीलाई साझेदार बनाएर नयाँ अवधारणाअनुसार हाँडेभिर–बेनी जोड्ने म्याग्दी नदीको पुल नजिकैबाट पदमार्ग निर्माण थालिएको छ । पदमार्ग निर्माण भएपछि लभ्ली हिलमा पुख्ने आन्तरिक तथा बाह्य पर्यटकको संख्या तीन गुणाले बढ्ने अपेक्षा गरिएको बेनी नगरपालिका–२ का वडाध्यक्ष हिराबहादुर थापाले बताए ।

म्याग्दी भ्रमण वर्ष २०७५ को अवसर पारेर सरकारी निकाय, निजी क्षेत्र र प्रवासी म्याग्देलीको संयुक्त साझेदारीमा पर्यटन पूर्वाधार योजनाअन्तर्गत पदमार्ग निर्माण गर्न लागिएको म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तमकुमार कर्माचार्यले बताए ।

कुल ५७ लाख, आठ हजार, २ सय ६० लागत अनुमान गरिएको पदमार्गको निर्माणमा बेनी नगरपालिका, मोना र उद्योग वाणिज्य संघले क्रमशः ५०, ४० र १० प्रतिशत लगानी गर्ने गरी यसअघि नै समझदारीपत्रमा हस्ताक्षरसमेत गरिसकिएको छ ।

बेनीदेखि आधा घण्टाको दूरीमा रहेको लभ्ली हिलबाट बेनी बजार, गलेश्वर, पौलस्त्य आश्रम, पुलाचौर, भकिम्लीको स्वर्गाश्रम, पर्वत बेनी र मल्लाजलगायतका क्षेत्र देख्न सकिन्छ ।

यसैगरी म्याग्दी जिल्लाको अधिकांश भू–भागका साथै उत्तरी पर्वतको जलजला गाउँपालिकासहित संसारको सातौँ अग्लो चुचुरो धौलागिरी, अन्नपूर्ण हिमाल तथा सूर्योदय र सूर्यास्तको समेत मनमोहक दृश्यावलोकन गर्न पाइन्छ । बेनी बजार आसपासका क्षेत्रबाट बग्ने म्याग्दी र कालीगण्डकी नदीको बहावलगायत आकर्षक दृष्यको अवलोकन गर्न सकिन्छ ।

केही वर्षयता दैनिकजसो समूह बनाएर घुम्न जाने स्थानमा परेको लभ्ली हिललाई आन्तरिक तथा बाह्य पर्यटकको रोजाइमा पर्ने गरी पर्यटकीय गन्तव्य बनाउनुपर्ने जिल्लाका पर्यटन व्यवसायीले माग गरेका छन् ।

लभ्ली हिल पुग्नका लागि पदमार्ग, रेष्टुराँ, भ्यू टावर, पौडी पोखरी लगायत बालबालिकादेखि वृद्धवृद्धासम्मलाई रमाउने स्थलका रुपमा स्थापित गर्न सकेको खण्डमा पर्यटन व्यवसायसमेत फस्टाउने सम्भावना रहेको छ ।

लभ्ली हिलमा गत आर्थिक वर्ष २०७३/७४ मा पर्यटन कार्यालय पोखरा, बेनी नगरपालिकाको आर्थिक सहयोग र स्थानीयवासीको श्रमदानमा भौतिक पूर्वाधारको विस्तार गरिएको लभ्ली हिल पर्यटन पूर्वाधार विकास उपभोक्ता समितिले जनाएको छ ।

कुल १२ लाखको लागतमा लभ्ली हिलमा गोलघर (भ्यु प्वाइन्ट), रेलिङ र बस्नका लागि आरामदायी बेञ्चलगायतका पूर्वाधारको निर्माण गरेसँगै त्यहाँ पुग्ने पर्यटकको सङ्ख्यामा वृद्धि भएको छ ।रासस

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.