www.tandavnews.com
Fact ~ In search of truth

ह्यासट्याग मेन्सुरेसन म्याटर्स

सन्दर्भ मे २८ अर्थात् महिनावारी स्वच्छता दिवस

– दुर्गा रानामगर

‘तिमीले रगत बगायौ, देखियो तिम्रो बहादुर चरित्र, मेरो रगत बग्यो र भएँ म अपवित्र ।’  ‘अरु दिन घरको रानी, अनि ५ दिन चै मैले छोएको पानी नि नखानी ?’ ‘आमा छन् र त ममता छ, महिनावारी छ र त आमामा ममता छ ।’

यी सामाजिक सञ्जालको ट्रेन्डिङ्गमा चलेको ह्यासट्याग मेन्सट्रियुएसन म्याटर्समा व्यक्त विचारहरु थिए ।  नेपालमा हरेक दिन करिब ३ लाख महिला तथा किशोरी महिनावारी हुन्छिन् । महिनावारी एक प्राकृतिक र सामान्य प्रक्रिया हो । यद्यपि हाम्रो समाजमा भने यसलाई ‘अ’सामान्य रुपमा लिइन्छ ।

Batas

‘अ’ सामान्य रुपमा लिइएको कारणले गर्दा नै किशोरी तथा महिला महिनावारीको विषयमा खुलेर कुरा गर्न चाहँदैनन्् । महिनावारीलाई लाजको विषयसँग जोडेर हेरिन्छ ।

स्कुल छँदा महिनावारीको प्रक्रियाबाट गुज्रिरहेकी मेरी साथीलाई एकदमै पीडा भएछ । तर उनले हामीलाई बताउन सकिनन्, न त शिक्षकहरुलाई नै । उनको पीडा असह्य भएर उनी ढलिन्् । यदि हाम्रो समाजमा महिनावारीको विषयमा खुलेर भन्न सक्ने वातावरण भएको भए सायद उनले पहिले नै भन्थिन् र विद्यालयबाट छुट्टि मागेर जान सक्थिन् । तर त्यस्तो वातावरण नभएको कारण मेरो साथीमात्र नभएर धेरै दिदीबहिनीहरु अनेकन समस्याबाट आफै गुज्रनुपरेको छ ।

किशोरी पहिलो पटक महिनावारी हुँदा नै घरमा त्यसलाई लुकाउने प्रयास गरिन्छ । १२ दिनसम्म भित्र कोठामा बस्नुपर्ने, सुर्यलाई हेर्न नहुने, घरका पुरुष सदस्यलाई हेर्न नहुने, आफूले खाएको भाँडा छुट्टै राख्नुपर्ने, फूल छुन नहुने, पूजा गर्न नहुने आदि चलनहरु छन् ।

अधिंकाश महिलाको महिनावारी हुँदाको भोगाई समान छन् । अहिले त्यसमा ‘छुट’ र केही नियम कटौति हुँदै आएतापनि केही भने अझै छन् । महिनावारीलाई अपवित्र रुपमा मानिएको कारणले पूजाआजामा अनिष्ट हुन्छ भनेर मन्दिर नजानु, टीका नलगाउनु भनिन्छ ।

वर्षमा एकपटक आउने महान् चाड दशै तिहारमा महिनावारी भएकै कारण त्यसबाट वञ्चित हुनुपर्दाको पीडा कसैले पनि शब्दमा व्यक्त गर्न सक्दैन । घरका सबै परिवार रमाइलो गरेर बस्दा आफू एक्लै छुट्टिएर बस्नुपरेको दुःखदायी अनुभव अधिकांश दिदी बहिनीहरुसँग छ । कतिले आफ्नो स्वास्थ्यको ख्यालै नगरिकन औषधी खाएरै महिनावारीको दिन पछाडि सार्ने पनि गर्नुहुन्छ ।

पूर्व मिस नेपाल तथा मिडिया पर्सानालिटि माल्भिका सुब्बाले एक कार्यक्रममा आफ्नो अनुभव साट्दा सुरुमा महिनावारी नबार्ने परिवारबाट बार्ने परिवारमा पुग्दा आफूलाई छुट्याइएको अनुभव भएको बताएकी थिइन् । घरको भान्छामा समेत जान नपाउने अवस्था थियो उनलाई तर विस्तारै सम्झाउँदै जाँदा अहिले आफूलाई भान्छामा जाने सम्मको वातावरण बनेको बताइन् ।

हरेक वर्ष ‘छाउपडीले महिलाको मृत्यु’ लेखिएकोे समाचारहरु आउँछन् । केही वर्षअघि जुम्लामा पुग्दा त्यहाँ पनि छाउपडी थियो । कुराकानीका क्रममा एकजना दिदीले छाउगोठमा जानै पर्ने नत्र देउता रिसाउने र अनिष्ठ हुने बताइन् । हामीले हाम्रा साँस्कृतिक तथा सामाजिक विश्वासहरुको सम्मान गर्नुपर्छ तर त्यसो भन्दैमा गलत अन्धविश्वासहरुलाई निरन्तरता दिनुपर्छ भन्ने होइन ।

छाउगोठमा बसेकै कारणले कतिजना दुव्र्यवहारमा परेको तथा बलात्कृत हुनुपरेको, सर्पले टोकेर, चिसोले कठ्याङग्रिएर मृत्यु भएको घटनाहरु थुप्रै छन् । लेखक राज सरगमको उपन्यास छाउघरमा पनि छाउपडी प्रथाको विषयलाई चित्रण गरिएको छ । १२ वर्षे किशोरी रजश्वला भएका कारण घरको गोठमा बस्न बाध्य हुन्छिन् । र उनको २२ दिनसम्म छाउगोठमा बस्दा मनमा उठेका मनोभावलाई उपन्यासमा प्रस्तुत गरिएको थियो ।

मदन पुरस्कार विजेता तथा ‘अपवित्र रगत’की लेखिका राधा पौडेलले महिनावारीको समयमा महिलाहरुमाथि हुने छुवाछुतले मानवअधिकारको उल्लङ्घन भएको बताउँछिन् । उनले महिलालाई भान्छा, मन्दिर, विद्यालयहरुमा गरिने छुवाछुतले महिलालाई दोस्रो दर्जाको नागरिकको रुपमा व्यवहार भइरहेको बताइन् । महिनावारीको प्रक्रियालाई सामान्य रुपमा लिई हरेक घरपरिवारमा खुलेर कुरा गर्ने वातावरणको सिर्जना गर्नुपर्नेमा उनी जोड दिन्छिन् ।

अहिले सरकारी तथा विभिन्न सङ्घ संस्थाहरुले महिनावारी स्वास्थ्य सचेतनाका लागि विद्यालय तथा समुदायस्तरीय कार्यक्रमहरु ल्याएका छन् । त्यसले केही वर्षयता सकरात्मक परिवर्तनहरु पनि देखिएको छ । महिनावारीलाई सामान्य रुपमा लिदै यसका सम्बन्धित अन्धविश्वासहरुलाई हटाउन सामाजिक सञ्जालहरुमा अभियानहरु पनि चलेका छन् ।

भारतीय मूलकी क्यानेडियन लेखिका रुपि कौरले आफ्नो बिस्तारा र कपडामा लागेको महिनावारीको रगतको फोटोलाई इन्स्ट्रग्राममा राखिन् । उनले राखेको त्यस फोटोलाई केही समयमा नै इन्स्ट्राग्रामले हटायो । जसले सामाजिक सञ्जालमा ठूलो बहसको विषय बनायो । उनले महिनावारीलाई कुनै ट्याब्बुको रुपमा नभई सामान्य रुपमा लिनुपर्ने सन्देश दिन नै आफूले सामाजिक सञ्जालमा राखेको बताइन् । बहस चर्किन थालेपछि इन्स्ट्राग्रामले नै उनीसँग माफी माग्यो ।

महिनावारीका बारेमा हाम्रो छोरी, दिदीबहिनीहरुलाई यस्तो वा त्यस्तो गर्नुहँुदैन भनेर नियमहरु सिकाउनुभन्दा त्यसबेलामा ध्यान दिनुपर्ने सरसफाइ, आराम, पोषिलो खानेकुरामा बारे सिकाउनु अझ आवश्यक र उपयोगी हुन्छ । परिवारमा महिनावारीलाई लज्जा वा लुकाउनुपर्ने विषयको रुपमा लिइनुहुँदैन ।

सन् २०१४ देखि मे २८ लाई महिनावारी स्वच्छता दिवसको रुपमा मनाउन थालिएको छ । विशेष गरेर किशोरी तथा महिलाहरुका लागि महिनावारी हुदाँ सरसफाइ तथा आराममा ध्यान दिन, सचेतना जगाउन तथा यससँग सम्बन्धित अन्धविश्वास तथा कुरीतिहरुलाई हटाउँदै लैजानका लागि यो दिवस मनाउन थालिएको हो ।

[email protected]

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.