www.tandavnews.com
Fact ~ In search of truth

नारायणगढ–मुग्लिन सडक वर्षामा पर्ख र हेरको अवस्थामा

नारायण अधिकारी
चितवन (रासस)

नारायणगढ–मुग्लिन सडकखण्डको चोरखोलादेखि टोपेखोलासम्म निरन्तर खसिरहेको पहिरो यस वर्ष रोक्न सम्भव नरहेको विज्ञहरुले बताएका छन् ।

वर्षात् भएसँगै मुग्लिनबाट चार किलोमिटर नारायणगढतर्फ पर्ने टोपेखोला र तीन किलोमिटर ३०० मिटर दूरीमा पर्ने टोपेखोलाबीचको ७०० मिटर क्षेत्रमा पहिरो खस्ने गरेको छ । सोही क्षेत्रमा चार किलो भन्ने क्षेत्र पनि पर्छ ।

अधिकांश पहिरो टोपेखोला, चारकिलो र चोरखोलामा खस्ने गरेको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका भू–प्रविधिसम्बन्धी परामर्शदाता टुकलाल अधिकारी सो क्षेत्रमा खसेको पहिरो यो वर्षात्मा नियन्त्रण गर्न नसकिने बताउछन् । उनले सामान्य ढंगबाट पानी तर्काएर पहिरो घटाउने र सुरक्षा सावधानी अपनाउनेबाहेक अन्य उपाय नभएको बताए ।

सो ठाउँको माटो खुकुलो भएको र चट्टानहरु साना साना टुक्रा रहेका कारण तत्काल रोक्न नसकिने र स्वायल नेल प्रविधि अपनाउनुपर्ने अधिकारीले बताए । उनका अनुसार यो प्रविधिमा १० देखि १५ मिटरको रड भित्तोमा ड्रिल गरेर छिराउनुपर्ने हुन्छ । रडसँग पाइपको माध्यमबाट सिमेन्ट छिराएर भित्रको मजबुत लेयरसँग बाँध्नुपर्ने हुन्छ । बाहिरपट्टि पनि रडसँगै सिमेन्टले भित्तो ढलान गर्नुपर्ने उनले बताए ।

हिउँदको समयमा मात्रै यो प्रविधिबाट काम गर्न सकिने बताउँदै उहाँले मनसुन बन्द भएपछि विज्ञहरुले यसको अध्ययन गरी डिजाइन तयार गरेर काम गर्नुपर्ने बताए । सरकारले ध्यान दिएर समयमै काम थालेमा अर्काे वर्षको वैशाख जेठसम्ममा यो प्रविधिबाट पहिरो रोक्न सकिने उनले बताए । छोटो प्रक्रियाबाट गर्दा केही छिटो काम सकिने उनले बताए ।

यो प्रविधि उच्चस्तरको र निकै खर्चिलो भएको पनि उनले बताए। यो प्रविधिबाट पहिरो रोक्दा काम थोरै देखिने तर लागत धेरै लाग्ने गर्छ ।

कुलेखानीको बाँधको दुवैतर्फ, अरनिको राजमार्गलगायतका ठाउँमा यो प्रविधिबाट पहिरो नियन्त्रण गर्ने काम भएको उनले बताए ।

नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहितकुमार बिसुराल विज्ञहरुले विभिन्न उपायहरु बताइरहेको भए पनि मनसुन नहटेसम्म पहिरो रोक्ने कुनै पनि काम गर्न नसकिने बताउछन् । एकै क्षेत्रमा पहिरो खसिरहेको भन्दै उहाँले अहिले सावधानी अपनाउने र यथाशक्य छिटो पहिरो हटाउनेतर्फमात्रै आयोजना लागेको बताए ।

स्वायल नेलजस्तै गरी युरोपियन क्रिस्मर प्रविधिबाट पनि पहिरो रोक्न सकिने विज्ञहरुले सुझाव दिएको उनले बताए। यो प्रविधिमा बाहिर फलामको पाता राखेर भित्र ड्रिल गरी बलियो भागसँग जोड्ने काम गरिन्छ । यसका अतिरिक्त विभिन्न सुझाव आइरहेको भन्दै उनले मनसुन सकिएपछि विज्ञहरु बोलाएर विस्तृत अध्ययन गरी उपयुक्त उपायको खोजी गरिने बताए ।

वर्षात्मा ठूलो पहिरो खसेर पहाडले आफैँ सतह मिलाएमा पहिरो नियन्त्रण सामान्य ढंगले गर्न सकिने पनि उनले बताए। त्यसको पर्खाइमा पनि आयोजना रहेको छ ।

आयोजनाका इञ्जिनियर शिव खनालका अनुसार सो क्षेत्रको टोपेखोला र चोरखोलामा १०० मिटरमाथिबाट पहिरो खसेको छ भने चार किलोमा ७० मिटर माथिबाट पहिरो खसेको छ । खनालका अनुसार चार किलोको डाँडो साना–साना ढुंगाले अड्याएको कमजोर भौगोलिक बनोटको छ भने चोरखोला र टोपेखोलामा माटोको मात्रा बढी र खुकुलो रहेको छ ।

उक्त क्षेत्रमा तीन मिटरसम्म भित्तो काटेर सडक विस्तार गरिएको छ । नारायणगढ–मुग्लिन सडकखण्ड स्तरोनतिको काम अन्तिम चरणमा पुगेको छ । यसै क्रममा अधिकांश ठाउँमा भित्तो काटेर सडक चौडा गरिएको छ ।

सो सडकको अन्य ठाउँको भित्तो कडा चट्टान र खँदिलो माटो भएकाले पहिरो रोक्ने काम सहज बनेको छ । सडकका अन्य ठाउँमा पहिरो रोक्नका लागि बायोइञ्जिनियरिङ, रक बोल्टिङ, नेट मिटिङलगायतका प्रविधि प्रयोग गरिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.