www.tandavnews.com
Fact ~ In search of truth

मुक्तिक्षेत्रको विकासको लागि नयाँ गुरुयोजना

पर्वत
संजय रेग्मी ।

हिमालपारीको जिल्ला मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिर विकासको लागि गुरुयोजना निर्माण गरिएको छ । ‘मुक्तिनाथ बृहत्तर बिकास गुरुयोजना’ पर्यटन प्रवद्र्धन गर्दै पर्यटकहरुको आगमनलाई बढाउने उद्धेश्यले निर्माणको तयार पारिएको छ ।

मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेलका अनुसार भक्तजनलाई सहज बनाउने गरी मन्दिर परिसरलाई फराकिलो बनाउने, आनी बस्ने घरलाई नरसिंह गुम्बा बनाउने, त्यसको पूर्व तर्फबाट बाटो ल्याउने, बाढीले बगाएको कागबेनीलाई श्राद्ध स्थलको रुपमा प्राविधिक डिजाईन अनुसार निर्माण गर्ने, तीर्थालु र भक्तजनको सुविधा र सुन्दरताको लागि रानीपौवाको गेटदेखि मुिक्तनाथ गेटसम्म लिफ्ट–बिद्युत भ¥याङ राख्ने, रानीपौवा बजारलाई पिसिसी ढलान गर्ने र कागबेनीदेखि रानीपौवाको जिप स्टेशनसम्म डेलिनेटर लाईट जडान गर्ने लगायतका कुराहरु समावेश गरिएको छ ।

Batas

योजनामा तत्काल समावेश गरिएका कुराबाहेक स्थानीयले थप योजना प्रस्तुत गर्न सकेमा गुरुयोजनामा थप गरिने अध्ययन टोलीमा संलग्न पुरातत्व बिभागका ईन्जिनियर प्रज्वल बज्राचार्यले बताए । ‘पर्यटन विभाग÷मन्त्रालयले र पुरातत्वले तयार गरेका विगतका गुरुयोजनालाई समेत अध्ययन गर्ने छौँ । जसले अहिले गरिएको अध्ययनलाई थप परमार्जित गर्न सहयोग गर्नेछ,’ उनले भने ।

गुरुयोजनाले मुस्ताङको पवित्र धार्मिक तथा पर्यटीकय स्थल मुक्तिनाथलाई पर्यटनमैत्री बनाउँदै थप आकर्षक बनाउने अपेक्षा गरिएको छ । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई थप आकर्षण गर्नको लागि संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको टोलीले मुस्ताङमै पुगेर गुरुयोजना तयार पार्नका लागि आवश्यक तथ्यांक संकलन गरेको छ ।

संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका उपसचिव दुर्गाप्रसाद भुर्तेल, पर्यटन बिभागका सचिन्द्रकुमार यादव र गणेश पौडेल तथा पुरातत्व बिभागका ईन्जिनियर प्रज्वल बज्राचार्यको टोलीले स्थलगत अध्ययन गरेको हो ।

टोलीले तयार पारेको वर्तमान खाकालाई स्थानीयले स्वागत गरेको मुक्तिनाथ विकास समितिका अध्यक्ष समेत रहेका मुस्ताङका प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

‘गुरुयोजना अनुसार मुक्तिनाथको विकासमा अगाडि बढ्न सकेमा मुस्ताङले धेरै पर्यटक तान्न सकिनेछ,’ प्रमुख जिल्ला अधिकारी पौडेलले भने, ‘पदमार्ग र पदयात्रामा नाम चलेको मुस्ताङ जिल्ला झनै पर्यटकीय केन्द्रको रुपमा विकास हुन सक्छ भन्ने अपेक्षा हामीले गरेका छौँ ।’ गुरुयोजनालाई शीघ्र कार्यान्वयन प्रक्रियामा लैजान मन्त्रालयको टोलिलाई अनुरोध गरिएको पनि प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

मुक्तिनाथ गुरुयोजना सम्वन्धमा बसेको बैठकले गुरुयोजना कार्यान्वयन पूर्व मुक्तिनाथ विकास समितिको चालु कोष मार्फत खर्च हुने गरी तत्काल ६ बुँदै भौतिक विकास कार्यलाई प्राथमिकता दिएर अघि बढाउने निर्णय पनि गरेको छ । गुरुयोजनाको लागि पर्यटन मन्त्रालयले एक करोड रुपैयाँ र गण्डकी प्रदेश सरकारले ४० लाख रुपैयाँ बिनियोजन गरेका छन् ।

यसअघि २०७० सालमा मुक्तिनाथ क्षेत्र विकास समिति र पुरातत्व विभागले करिव २२ लाख खर्चिएर मुक्तिनाथ गुरुयोजना तयार गरेको भएपनि कार्यान्वयनमा आउन सकेको थिएन । पुरानो गुरुयोजना कार्यान्वयन नभएपछि पर्यटन मन्त्रालयले बृहत मुक्तिनाथ विकास गुरुयोजनाको अवधारणा अघि ल्याएको हो । मुक्तिनाथ क्षेत्र विकास समितिमा हाल करिव ४ करोड रुपैयाँ भन्दा बढी आर्थिक मौज्दात छ ।

मुस्ताङका पूर्व साँसद रोमी गौचन थकालीले मुस्ताङमा थप पदमार्गको खोजी गरेर विकास र प्रचार गर्न सकेमा पर्यटकहरुको आकर्षण बढ्नुका साथै गुरुयोजनालाई सफल बनाउन सहयोग पुग्ने प्रतिक्रिया दिए । पदमार्गको रुपमा परिचित रहेको मुस्ताङमा सुविधाका नाममा धेरै मोटरबाटो खनिनुले भने पदमार्गलाई धरापमा पारेको उनको भनाई छ ।

हिन्दू र बौद्ध धर्मावलम्बी दुबैको सहिष्णुताको केन्द्र मानिने मुस्ताङमा मुक्तिनाथ, कागवेनी तथा दामोदरकुण्ड, बौद्धमार्गीहरूका धार्मिक धरोहरका रुपमा रहेका विभिन्न गुम्बा, तिब्बती संस्कृतिको पाइने माथिल्लो मुस्ताङ सहित जिल्लामा विभिन्न पैदलमार्ग छन् । मुस्ताङमा वैदशिक सहयोगमा झण्डै ५ अर्बको लगानीमा मुक्तिनाथमा केवलकार बनाउन अध्ययन भइरहेको छ । यसले पनि गुरुयोजनामा उल्लेख गरे अनुसारको विकासमा सघाउने अपेक्षा गरिएको छ ।

मन्दिरको परिसर सँगसँगै आनी–झुमा बस्ने पुरानो दुई तले घरलाई पनि केही तल सारिने भएको छ । मुक्तिनाथ दर्शनमा जाने भक्तजन तथा पर्यटकहरुलाई सहज बनाउनको लागि आनी बस्ने घर सार्नुका साथै मन्दिर परिसरलाई समेत चक्लाउने तयारी भएको हो ।

यसबाहेक, कागबेनीमा जिर्ण अवस्थामा रहेको श्राद्ध गर्ने अर्थात पिण्ड दिने ठाउँलाई समेत स्तरोन्नती गरिने भएको छ । बर्खायाममा कालीगण्डकी नदीमा बढेको बहावले श्राद्ध गर्ने ठाउँलाई कटान गरेको छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी शिशिर पौडेललेले पर्यटन बिभागका महानिर्देशकले परिसर फराकिलो पार्न टेन्डर गर्ने बिषयमा जानकारी गराउँदै फोन गरेको सुनाए ।

बेनी–जोमसोम र जोमसोम–कोरला सडकको कालोपत्रे तथा स्तरोन्नति कार्य चलिरहेको बेलामा पर्यटन विभाग र पुरातत्वले पुनः मुक्तिनाथ गुरुयोजना तयार गर्नुले पनि यसमा सघाउने अपेक्षा गरिएको छ ।

वर्षेनी चैते दशैँ, बडा दशैँका सोह्र श्राद्ध र रामनवमीका दिनमा कागबेनीको श्राद्धस्थलमा दिवंगत भएका आफन्तहरुलाई ण्डि दिनेहरुको भिड लाग्ने गरेको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.