www.tandavnews.com
Fact ~ In search of truth

‘एक्टिभ’ नविना

उमा विक
पोखरा, ताण्डव न्यूज ।

बाआमा कृषक । जेठी सन्तान, खान लाउन धौँधौँ । बाबा आमाले गरेको खेती किसानीले नै धेरै पढौँला र समाजले भन्ने जस्तो ठूलो जागिर खाउँला भन्ने आशै थिएन ।

पढ्नुपर्छ भन्ने चाहि थियो । स्कुल लेवलको पढाई पछि उच्च शिक्षा लिनलाई आफैँले कमाउनुपर्ने बाध्यता थियो । फेन्सीमा काम गर्न थालिन् र त्यहीबाट आउने पैसाले कलेज पढिन् । उनले मात्र पढेर हुन्थेन । दुई वटा भाइ थिए । उनीहरुलाई पढाउने जिम्मा पनि उनकै थियो ।

Batas

सबैले पढ्नको लागी पैसा थिएन् । ब्याचलर पढ्दै गर्दा फ्रि–ट्रेनिङको बारेमा उनले सुनिन् । पढाई मध्यम थियो पढाई अगाडि बढाउन पैसाले पुग्दैनथ्यो । उनले निधो गरिन् सीप सिक्ने । र जान थालिन् फ्रि–ट्रेनिङमा । पञ्चकन्या ट्रेनिङ इन्स्टिच्युट बाट १ वर्ष बुटिकको ट्रेनिङ लिइन् । बुटिक सिकेपछि कटिङ जान्नुपर्ने आवश्यक ठानिन् र जनहित ट्रेनिङ इन्स्टिच्युटबाट ३ महिना फ्रि–ट्रेनिङ नै लिइन् । उनलाई यत्तिले पुगेन् । निशूल्कै रुपमा फेसन डिजाइनिङको १५ महिने कोर्ष समेत पूरा गरिन् ।

कास्की अर्मला कि नविना गुरुङ भर्खर २७ वर्षकी भइन् । निशूल्क पाएको अवसरलाई उनले कहिल्यै गुम्न दिइनन् । अवसरको सदुपयोग गरिन् । त्यही तालिमहरुबाट सिकेको सीपलाई आफ्नै घरमा बसेर प्रयोगमा ल्याउन थालिन् ।

सटर लिएर काम गर्नलाई उनीसँग प्रयाप्त पैसा थिएन । त्यसैले २०७० सालबाट थोरै आवश्यक सामान किनेर घरमै बसेर काम गर्न थालिन् ।

बिहानमा फेसन डिजाइनिङ कोर्ष, दिउँसो जागिरका लागि फेन्सी दौडिन्थिन् । साँझमा भने फेरि बुटिकको काम गर्थिन् । आफ्नो लागि भन्दा पनि उनले आफ्ना दुई भाईलाई पढाउनलाई दौडधुप गर्नुपथ्र्यो ।

उनले सिकेको सीपले व्यवसायिकता पाउन ४ वर्ष लाग्यो । कारण उनीसँग लगानी गर्नको लागी पैसा थिएन् ।

उनले युट्युबमा ह्यान्डमेड के–के सामान बनाउन सकिन्छ भनेर सर्च गर्थिन र आफूले बनाउन कोसिस गर्थिन् । यस्तैमा उनलाई नेपाली ढाकाको ह्यान्डमेड ब्याग बनाउन इन्ट्रेस्ट बढ्न थाल्यो । यसका लागि फेरि अर्मला लिइन् ।

उनीसँग सीपको चाङ नै थियो । तर सोचेअनुरुप काम गर्न सकेको थिइनन् । नविनाको इन्ट्रेस्ट देखेर उनका एक जना भिनाजुले लगानी गरिदिए । त्यसबाट उनको सीपले व्यवसायिकता पायो ।

नविना नेपाल महिला उद्यमी संघ कास्कीकी सदस्य पनि हुन् । उनलाई योङ महिला उद्यमीको रुपमा लिन्छन् ।

७ महिलालाई रोजगारी

नविनाले अहिले आफ्नो फ्याक्ट्रिमा ७ जना महिला दिदीबहिनीलाई रोजगार दिएकी छन् । भन्छिन् ,‘जो अल्छी छैन् उसका लागि हो रोजगारी ।’

महिला दिदीबहिनी र अपांगता भएका व्यक्तिलाई उनले प्राथमिकतामा राखेर काम दिने गर्छिन् । अहिले उनी कहाँ कान नसुन्ने, राम्ररी बोल्न नसक्नेहरुले पनि काम गरिरहेका छन् । अपांगता भएका व्यक्तिपनि काम गर्न सक्छन् भनेर प्रोत्साहन दिनका लागि प्राथमिकतामा राखेको नविना बताउँछिन् ।

नविनाका अनुसार उनीहरु मिहेनती र इमान्दार पनि हुन्छन् । काम राम्रो गर्छन् ।

नविनाले काम गर्दाताका १० हजार रुपैयाँ तलब पाउँथिन् । उनले भने आफ्ना कर्मचारीहरुलाई खुशी पारेर पारिश्रमिक दिने गरेको बताउँछिन् । एक महिनामा ३० देखि ३५ हजारसम्म कामको प्रकृति हेरेर तलब पाउने उनले सुनाइन् । दशैँ, तिहार ,विवाह, व्रतबन्ध जस्ता अकेजनमा उनको आम्दानी राम्रो हुन्छ । उनी भन्छिन् ,‘मेरो उद्धेश्य पैसा मात्र कमाउने भन्दा पनि २, ४ जनालाई रोजगारी दिनु हो ।’

अहिले उनले बुटिक र नेपाली ढाकाको ह्यान्डमेड ब्यागको काम एउटै सटरमा राखेर गरेकी छिन् । ह्यान्डमेड नेपाली ढाकाको ब्याग, पर्स, पेन्सिल केसको माग पछिल्लो समय बढ्दो रहेको उनको अनुभव छ ।

सीप जरुरी छ

नविनाले ब्याचलर पढ्दापढ्दै सीपका लागि पढाई छोडिन् । पढाई छोड्नु रहर होइन बाध्यता हो तर उनलाई पश्चताप छैन् । ‘पढेर मात्र हुँदैन,सीप आवश्यक छ, ’उनी भन्छिन्, ‘हाल म आफैले बुटिक,कटिङ,ह्यान्ड मेड ब्याग बनाउने टे«निङ दिन्छु । प्राय पढेलेखेकाहरु नै टे«निङमा आउँछन् । अझ स्टाफ नर्स, इन्जिनियरिङ पढ्नेहरु टे«निङ लिन्छन् ।’

चुनौती

‘काममा निरन्तरता दिन गाह्रो छ राखेका स्टाफले इमान्दारीसँग काम गर्दैनन्,’ उनले भनिन्, ‘मिहेनत गरेर काम सिकायो, जान्नेभएपछि छोड्दिन्छन् । मेरोमा लेडिज राख्नुपर्छ तर लेडिज स्थिर भएर काम गर्दैनन् । ’

उत्पादन गरेका सामानहरु व्यवस्थित रुपले बजारिकरण नहुँदा व्यवसायमा गाह्रो भइरहेको उनी बताउँछिन् ।

नेपाली प्रोडक्टमा शंका

विदेशी सामानलाई मात्र राम्रो मान्ने हामी नेपालीको बानीले नेपाली प्रोडक्टको बजारीकरण हुन सकिरहेको छैन् । ‘विदेशी सामान भन्ने बित्तिकै वाउ भन्ने तर नेपाली प्रोडक्टमा शंका गर्छन, ’उनी भन्छिन्, ‘बाहिरबाट आएका सामान किन्न जति नि पैसा दिन तयार हुने ग्राहकले नेपाली ह्यान्डमेड प्रोडक्टमा पैसा तिर्न हिचकिचाउँछन् । जसले गर्दा नेपाली प्रोडक्टको व्यवसायिकरण हुन सकेको छैन् ।’

नबिनाले बनाएको नेपाली ह्यान्डमेड ब्याग नेपालगञ्ज, तनहँु, स्याङजा, पाल्पा, बागलुङ, पर्वत, म्याग्दी लगायतका जिल्लामा निर्यात भइरहको छ । ब्याग क्यानडामा पनि निर्यात हुने गरेको नविना बताउँछिन् । नेपाली ढाकाको ब्यागलाई उद्योगकै रुपमा विस्तार गर्ने नबिनाको लक्ष्य छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.