www.tandavnews.com
Fact ~ In search of truth

नार फुको च्याखु गोठमा सिमित ७७ वर्षीया आनीको संसार

नवीन लामिछाने

नार फु, मनाङ,  (रासस): नेपालमा थुप्रै परिवर्तन भए र हुँदै आएका पनि छन् । महिला अधिकारका चर्का नारा र भाषणले कति सडक तताइएका पनि छन् ।

हिजोआज हाम्रो देशका महत्वपूर्ण ठाउँमा नारीको राम्रै उपस्थिति रहेको पाइन्छ भने सरकारले पनि महिलालाई प्राथमिकताका साथ अवसर दिँदै आएको छ । नियम कानून पनि निर्माण भएका छन् ।

तर दूरदराजमा रहेकी एक वृद्वा आनी छोमा लामालाई सरकार के हो भन्ने कुरा समेत थाहा छैन । मनाङको नार फु गाउँपालिका च्याखुको लेकमा रहेको सानो गाईगोठमा दुःखले जीवन बिताउँदै आएकी ७७ बर्षीया आनी छोमा लामा नेपाली राम्रोसँग बोल्न पनि जान्दिनन् ।

उनलाई तिव्बतबाट भागेर लुक्न आएका खम्पा विद्रोहीहरुले दिएको पीडा राम्रोसँग थाहा छ । आफू जन्मिएको घर देखाउँदै उनले भनिन् “हामी यही घरमा जन्मिएका हौँ । तिव्बतबाट भागेर आएका खम्पाले हामीलाई धेरै दुःख दिए । हामीले बनाएको घर भत्काए । चाैँरी मारे, दिदीबैनीलाई नराम्रो व्यवहार पनि गरे ।”

सानैबाट दुःख भोगेकाले आजसम्म पनि दुःखमा नै रमाउन सकेको छु, उनी भन्छिन्, “पहिला चौँरी पालेकी थिएँ, चौँरीले राम्रो फाइदा दिएन र अहिले लुलु गाई पालेकी छु । यिनीहरु डुलाएर दिन काटेकी छु ।”

मनाङ जिल्ला सदरमुकाम चामेभन्दा तल नझरेकी छोमा लामालाई मनाङमा मोटर आएको पनि थाहा छैन । बाटो बनेको छ, मोटर चल्छ नि भन्दा खै कुन्नि, मलाई त थाहा छैन भन्दै निधार खुम्चाउँछिन् ।

विवाहसम्म नगरेकी आनी छोमा हाल बहिनीसँग बसेकी छिन् । आफ्ना भनेकै यिनै दुई बहिनी रहेको बताउँदै उनीहरुकै साथमा र आडभरोसामा रहेको उनले बताइन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.