www.tandavnews.com
Fact ~ In search of truth

नेविसंघ कास्कीमा चर्को विवाद : पत्रमा आएका अध्यक्ष अस्वीकार, अधिवेशनको माग

माधब भुसाल
पोखरा, ताण्डव न्यूज ।

शुक्रबार नेपाल विद्यार्थी संघ कास्की अध्यक्षको नाम तोकेरै केन्द्रबाट पत्र आयो ।

नेविसंघ अध्यक्ष नैनसिंह महरले विकास थापालाई सभापति बनाएको निर्णय सहितको त्यो पत्रले लामो समयदेखि रिक्त रहेको पदपुर्ति त भयो तर चर्को विरोध र असन्तुष्ट उत्पन्न गरायो । केन्द्रीय निर्णयप्रति नेविसंघका अधिकांश विद्यार्थी खुलेरै असन्तुष्ट प्रकट गरे ।

Batas

किन असन्तुष्ट ?

केहि महिना पहिले केन्द्रले जिल्लाको विवाद मिलाउन र अध्यक्षको विषय सल्टाउन सहमहामन्त्री इश्वर विष्टलाई खटायो । पछि, विष्टको जिम्मेवारी केन्द्रले नै तान्यो । र, विकास थापालाई अध्यक्ष बनाएर पत्र पठायो ।

केन्द्रीय अध्यक्ष महर देउवा निकट हुन् । उनले थापालाई अध्यक्ष तोक्नुको कारण पनि देउवा पक्षकै भएर हो भन्ने तर्क गर्छन् विद्यार्थी नेताहरु ।

के भन्छन् नेताहरु ?

नेविसंघ कास्कीका पुर्व सचिव विक्रम आदीत्य सिंह गिरी केन्द्रको निर्णयप्रति सन्तुष्ट छैनन् । कांग्रेस कमजोर भएको बेला एकजुट भएर अघि बढ्नुपर्नेमा विद्यार्थीबिच विवाद उत्पन्न भएकोमा उनले दुखेसो पोखे ।

संगठनमा आबद्ध विद्यार्थीहरुको मर्म र भावना विपरीत यस्तो निर्णय भएको उनको ठहर छ ।

भन्छन्‘विद्यार्थीहरुसँग सहमति नै नभई केन्द्रले पत्र काटेर हुन्छ ? नेतृत्वकर्ता भनेको सहमति मै बनाउने हो । केन्द्रको निर्णयप्रति हामी असन्तुष्ट छौं ।’

विद्यार्थी नेता लक्की पहाडी जिल्लामा रहेका क्याम्पस कमिटिहरु पनि यस निर्णय स्विकार्न तयार नरहेको जनाउँछन् ।

‘ग्राउण्ड लेभलमा रहेर खटिने संठनका विद्यार्थीहरुको इच्छा विपरीत आएको निर्णय हो यो । हामी कुनै पनि हालतमा केन्द्रको निर्णय स्विकार्न सक्दैनौं’ उनले भने ।

केन्द्रीय अध्यक्षको निर्णयप्रति सहमत छैनन्, विद्यार्थी नेता अञ्जान थापा पनि । मिलेमतोमा आफु निकटका व्यक्तिलाई अध्यक्ष बनाएर पत्र पठाइनु गलत भएको उनको बुझाइ छ । अधिवेशन नै गराएर अध्यक्ष तोकिनु पर्ने थापाले बताए ।

नेविसंघ कास्कीमा विवाद देखिन थालेको करिब ८, १० वर्ष भयो ।

यस बिचमा महरले अधिवेशनबाटै अध्यक्षको टुङ्गो लगाउने आश्वासन पनि दिए । अधिवेशन लत्याउँदै अन्ततः पत्र काटेर अध्यक्ष तोकेकोमा विद्यार्थी नेता प्रविन पौडेल पुर्ण रुपमा असहमति जनाउँछन् ।

‘लामो समयदेखि संगठनमा विवाद छ। सबैको चित्त बुझ्ने गरि निर्णय गरिनुपर्नेमा, एकलौटी गर्न त भएन नि । अधिवेशनबाटै यसको निक्र्योल गर्नुपर्छ’ उनको भनाई ।

अर्का विद्यार्थी नेता राजेन्द्र बराल केन्द्रलाई जुनसुकै हालतमा अधिवेशन गराउन प्रेसर दिने बताउँछन् । ‘हामीले केन्द्रलाई अधिवेशनका लागि जोड दिन्छौं । यस अर्थमा, पत्र काटेर तोकिएको अध्यक्ष हामीलाई मान्य छैन’ उनले सुनाए ।

असन्तुष्ट अधिकांश विद्यार्थीहरुको माग एउटै छ, अधिवेशन हुनुपर्ने । विद्यार्थी नेता विश्व पौडेल अधिवेशनले मात्रै विवाद सुल्झिने तर्क गर्छन् ।

‘लोकतान्त्रीक प्रक्रियामा जाऔं भनेका हौं । आफु निकटकालाई पत्र काटेर अध्यक्ष बनाइनु झन् विवाद लम्ब्याउनु मात्र हो’ उनले भने ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.