www.tandavnews.com
Fact ~ In search of truth

अब नेपाल प्रहरीको संरचना प्रादेशिक तहअनुसार, एआइजीको दरबन्दी कटौती

काठमाडौँ (रासस)

सरकारले नेपाल प्रहरीको विद्यमान संरचनालाई प्रादेशिक तहमा रुपान्तरण गर्ने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्को आजको बैठकले प्रादेशिक तहका लागि नेपाल प्रहरीको नयाँ संरचनाअनुसार तीन हजार १०१ जनाको दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए ।

Batas

सरकारले प्रहरी एकाइ नै नपुगेका स्थानीय तहमा आवश्यक पर्ने जनशक्तिको पदपूर्तिको पहिलो प्राथमिकता दिन आगामी वर्ष एक हजार ६०० दरबन्दी पूर्ति गर्ने तथा बाँकीमा क्रमशः दरबन्दी पूर्ति गर्ने गरी प्रस्तावित तीन हजार १०१ दरबन्दी सिर्जना गर्न स्वीकृति दिने निर्णय गरेको हो ।

एआइजीको दरबन्दी कटौती

बैठकले नेपाल प्रहरीका केही पद खारेजी, पद मिलान र दरबन्दी थप गर्ने निर्णय गरेको पनि मन्त्री बाँस्कोटाले जानकारी दिए ।

सरकारले नेपाल प्रहरीको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी तीन र सशस्त्र प्रहरी बल नेपालको अतिरिक्त प्रहरी महानिरीक्षकको दरबन्दी दुई कायम गरेको छ । यसअघि नेपाल प्रहरीमा अतिरिक्त प्रहरी महानिरीक्षकको स्वीकृत दरबन्दी संख्या १६ र सशस्त्र प्रहरी बलमा छ जना रहेको थियो ।

सरकारले रसुवागढी—स्याफ्रुबेँसी र चीनको च्याङ्बु जोड्ने तथा सिन्धुपाल्चोकको तातोपानी नाकाको मितेरी पुल चीन सरकारको पूर्ण आर्थिक एवं प्राविधिक सहयोगमा पुनःनिर्माण गर्न स्वीकृत गर्ने निर्णय गरेकोे मन्त्री बाँस्कोटाले जनाए । चीन सरकारले उक्त पुल निर्माण गर्न नेपाल सरकारसमक्ष प्रस्ताव गरेको थियो ।

सरकारले नेपाल र चीनबीच ऊर्जा क्षेत्रमा सहकार्य गर्ने सम्बन्धमा ऊर्जा मन्त्रालय र चीनको सम्बन्धित क्षेत्रका समकक्षीबीच सहमतिपत्रमा हस्ताक्षर गर्न अख्तियारी दिने निर्णय भएको पनि जानकारी दिइयो ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.