www.tandavnews.com
Fact ~ In search of truth

निर्मला पन्त हत्या प्रकरणः डिएनए रिपोर्ट मिलेन

भीमदत्तनगर,  (रासस)

कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं निर्मला हत्या काण्डका अनुसन्धान अधिकृत कृष्णराज ओझाले तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक विष्ट, उनका छोरा किरणराज विष्ट र भीमदत्तनगरका स्थानीय युवा आयुश विष्टको डिएनए रिपोर्ट आएको जानकारी दिए ।

प्रहरी नायब उपरीक्षक ओझाले तीनै जनाको रिपोर्ट मेल नखाएको बताए । “हिजो काठमाडौँबाट प्राप्त भएको रिपोर्ट आज बिहान जिप्रकामै खोलेर हेर्दा नेगेटिभ देखियो,” उनले भने, “घटनाको सुक्ष्म अनुसन्धान तीव्र गतिमा हुदैछ ।”

गत साउन १० गते बलात्कारपछि हत्या गरी उखुबारीमा फालिएकी निर्मलाको साउन ११ गते शव भेटिएको थियो । यसअघि घटनाको मुख्य अभियुक्त बनाइएका कञ्चनपुरको भीमदत्तनगरपालिका–१९ बागफाँटाका ४१ वर्षीय दिलीपसिंह विष्टको पनि डिएनए परीक्षण गरिएको थियो । विष्टको पनि रिपोर्ट मेल नखाएपछि उनलाई हिरासतमुक्त गरिएको थियो । भीमदत्तनगरमा आन्दोलनका क्रममा प्रहरी उपरीक्षक विष्टकै डिएनए परीक्षण गर्नुपर्ने माग उठेपछि केही समयअघि परीक्षणका लागि रगत लिइएको प्रहरीले जनाएको छ ।

“रिपोर्ट जस्तो आए पनि प्रहरीको अनुसन्धान चलिरहेकै छ,” ओझाले भने, “प्रहरीका धेरै टिम अनुसन्धानमा जुटेका छन् ।” कञ्चनपुरमा अहिले पनि विभिन्न महिला एवं दबाब समूहले निर्मलाका हत्यारालाई कारवाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.