www.tandavnews.com
Fact ~ In search of truth

कर्मचारीलाई भेदभाव गरिएको छैन : मेयर जिसी, अधिकृत पौडल सेतीमा हामफालेको प्रहरी निष्कर्ष

पोखरा ।

पोखरा लेखनाथ महानगरपालिकाका सामाजिक विकास अधिकृत ओमराज पौडेल गत असार ९ गतेदेखि सम्पर्कविहीन भएको विषयसँग जोडेर भएका टीका टिप्पणी र आरोपको महानगरपालिकाले पत्रकार सम्मेलन गरेर खण्डन गरेको छ ।

महानगरलाई लगाइएका आरोपमा कुनै सत्यता नभएकाले भ्रममा नपर्न नगरबासीमा मेयर मानबहादुर जिसीले शनिबार पत्रकार सम्मेलन गरेर आग्रह गरेका छन् ।

Batas

खोजीका लागि हरेक दिन प्रहरीको एक टोली खटिए पनि पौडेलको अवस्था पत्ता नलागेको जिसीले बताए । जिसीले पौडेलको खोजीमा सम्पूर्ण शक्ति लगाएपनि अवस्था पत्ता लगाउन नसकिएको बताए ।

‘हाम्रो सामाजिक शाखा प्रमुख पौडेलको खोजीमा सबै शक्ति लगाएका छौं,’ उनले भने, अझै पनि सबै मिलेर खोजी गरौं ।’ उनले महानगरले पौडेलको खोजीमा चासो नदिएको भन्ने आरोप झूठो भएको दाबी गरे ।

उनले भने,‘हाम्रो परिवारको सदस्य सम्पर्कविहीन हुँदा हामीले चासो नदिने भन्ने नै हुँदैन, महानगरपालिका खोजी कार्यमा संवेदनशील छ, हामी माथि लगाइएको आरोप झूठा र आधारहीन छन् ।’

पौडेललाई काममा टर्चर दिएका कारण घट्ना घटेको भन्ने आरोप पनि मिथ्या भएको उनले बताए । ‘हामीले टर्चर दिएको छैन, दिन जरुरी पनि छैन,’ जिसीले भने, ‘काम लगाउने हाम्रो जिम्मेवारी भित्रै पर्छ, त्यो बाहेक अन्य केही गरिएको छैन । ’

पौडेलको कार्यकक्ष परिर्वतन गरिएको बारेमा पत्रकारको जिज्ञासामा मेयर जिसीले स्थानीय तहमा कर्मचारी समायोजन भएर आएपछि व्यवस्थापन गर्दा कार्यकक्ष मात्रै परिर्वतन भएको र पौडेलको जिम्मेवारी अहिलेसम्म पनि हेरफेर नभएको स्पष्ट पारे ।

महानगरपालिकाले कसैलाई सरुवा, बढुवा र घटुवाको कुरै नगरेको र साउन एक गतेदेखि अधिकृतलाई आवश्यकता अनुसार वडामा खटाउने छलफल भएको तर, कसैलाई नखटाइएको उनले जानकारी दिए ।

‘हाम्रा भन्दा पनि राम्रा र क्षमतावान कर्मचारीलाई प्रोत्साहन गरेको छौं,’ मेयर जिसीले भने,‘ राजनीतिक आस्थाका आधारमा कसैलाई पनि भेदभाव गरिएको छैन, परिवारका सदस्यलाई राजनीतिक रुपमा कित्ताकाँट गर्न जरुरी छैन, गरेको पनि छैंनौं, गर्दा पनि गर्दनौं ।’

पौडेल बेपत्ता भएकोमा महानगरपालिका परिवार मर्माहत भएको बताउँदै जिसीले मानवीय सम्वेदनालाई बुझेर पौडेलको खोजीमा जुट्न सबैमा आग्रह समेत गरेका छन् । यसअघि नेपाली कांग्रेस र स्थानीय तह कर्मचारी युनियन नेपालले विज्ञप्ती निकाल्दै महानगरपालिकामा काममा परेको दबाब र टर्चरले घट्ना घटेको आरोप लगाएका थिए ।

पौडेलको खोजी सेतीमा केन्द्रित

कास्की प्रहरीले पौडेलको खोजी सेती नदी र त्यसको आसपासमा केन्द्रित गरेको छ । पाेखराको महेन्द्रपुलबाट एक जना व्यक्ति सेती नदीमा हामफालेको प्रत्यक्षदर्शीले बताएको र घट्नाको प्रकृति र पौडेलले घरमा लेखेर छाडेको नोटका आधारमा सेतीमा हामफालेको आशंकामा सेती नदी वरपर प्रहरीले खोजी केन्द्रित गरेको हो ।

महानगरपालिकाले पौडेलको खोजीमा भएका काम बारे जानकारी गराउन अनुरोध गरेपछि महानगरको पत्रकार सम्ेमलनमा कास्कीका प्रहरी प्रमुख प्रहरी उपरिक्षक ओमबहादुर रानाले डिजिटल प्रस्तुति राखेका थिए ।

असार ९ गते बिहान सवा ५ बजे पौडेल महेन्द्रपुल चोकबाट पुलतर्फ गएको सिसी टिभीमा समेत देखिएको छ । पत्रकार भेटघाटमा सिसी टिभी फुटेज देखाउँदै कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले पौडेल चोकबाट पुलसम्म गएको देखिएको र पछि फर्किएको नदेखिएकाले हामफालेको हुनसक्ने बताए ।

उनले घरबाट बिहान ५ बजे हिँडेको र त्यहाँ सवा ५ बजे आएर पुलतर्फ जानु र हामफालेको देख्ने प्रत्यक्षदर्शी समेत भेटिनु तथा हामफाल्ने व्यक्तिको हुलिया समेत पौडलसँग मिल्नु संयोग मात्र नभएको गुरुङले बताए ।

पौडेलको खोजी र घटनाको बारेमा अनुसन्धान गर्न डिएसपी रवीन्द्रमान गुरुङको संयोजकत्वमा ५ सदस्यीय समिति असार १० गते गठन गरिएको एसपी रानाले जानकारी दिए । रानाले कास्की मातहतका युनिटको साथै तनहँ र चितवन प्रहरीलाई समेत खोजीका लागि पत्रकार गरिएको बताए ।

उनले पौडेलको खोजीमा संघीय प्रहरी इकाइ र प्रदेश नम्बर ४ प्रहरी कार्यालयले समेत चाँसो दिएको बताउ । असार ९ गते नेपाल प्रहरी, सशस्त्र र नेपाली सेनाको उद्धार टोलीले सेतीका विभिन्न भागमा खोजी गरेको र खोजी कार्य अहिले पनि जारी रहेको उनले जानकारी दिए ।

त्यस्तै पौडेलले घर छाड्नु अघि श्रीमतीलाई सम्बोधन गरेर एउटा नोट समेत छाडेका छन् । उक्त नोटमा श्रीमतीलाई खुसी राख्न नसकेको र आगामी दिनमा साथ दिन नसक्ने उल्लेख गर्नुका साथै सन्ततीलाई सम्बोधन गरेर ३ फूललाई राम्ररी हेरविचार गर्न श्रीमतीलाई अनुरोध गर्दै अलबिदा लेखेको प्रहरीले बताएको छ ।

पौडेलको मोबाइल नम्बरमा बारम्बार सम्पर्क गर्ने मोबाइल नम्बरको बारेमा अनुसन्धान गरिरहेको छ । बारम्बार पौडेलको मोबाइलमा सम्पर्क गर्ने एक महिला र २ पुरुष भएको प्रहरीले बताएको छ ।

चितवन निवासी महिलाले ६८ पटकसम्म पौडेलको मोबाइलमा मिसकल गरेको देखिएको छ । तर, हाल उक्त मोबाइलको स्वीच अफ रहेको प्रहरीको भनाइ छ । पोखरा छोरेपाटनका एक पुरुष र झापाका अर्का एक पुरुषले अघिल्लो दिनदेखि घट्ना घटेको दिनसम्म पनि बारम्बार सम्पर्क गरेको रेकर्ड भेटिएको छ ।

यी बाहेक अन्य केही मोबाइल नम्बरलाई पनि प्रहरीले निगरानी गरेको छ । गत असार गते बिहानदेखि सम्पर्कविहीन भएका पौडेलको अवस्था अझै पत्ता लाग्न सकेको छैन ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.