www.tandavnews.com
Fact ~ In search of truth

तीन महिना काम गर्न दिनुस, आलोचना त्यसपछि :इमरान खान

इस्लामावाद, पाकिस्तान । 

सञ्चारमाध्यम तथा प्रतिस्पर्धी समूहलाई तत्काल आलोचना गर्नुभन्दा सरकारलाई काम गर्न कम्तीमा पनि तीन महिनाको समय दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खानले आग्रह गरेका छन् ।

प्रधानमन्त्रीको कार्यालयमा पत्रकारहरूलाई सम्बोधन गर्दै खानले भने, “आफुले सत्ता सम्हालेको पहिलो बर्ष पाकिस्तानले कठिनाईको सामनाबाट नै गुज्रनु पर्ने अवस्था देखिएको छ ।”

पाकिस्तान तेहरीक–ए–इन्साफ (पिटिआई) ले सत्ता सम्हालेको केही समय नहुँदै पाकिस्तानमा सञ्चारमाध्यम विगत चारबर्ष यता निकै सकसका साथ चलेको भन्ने समाचार आएपछि नवनिर्वाचित प्रधानमन्त्रीले तत्काल आलोचनाभन्दा आफ्नो सरकारले कम्तीमा तीन महिना काम गर्न दिन सञ्चारकर्मी तथा राजनीतिक दलसँग आग्रह गरेका हुन्।

खानले पाकिस्तानमा भ्रष्टाचार नियन्त्रण आफ्नो प्रमुख लक्ष्य भएको दोहोराउँदै भने, “देशमा नत राष्ट्रिय मेलमिलाप संगठनजस्ता संस्था रहने छन् न जिम्मेवारीबाट कोही पन्छिन पाइनेछ ।”

आफ्नो सरकारले काम शुरु गरेपछि गरेका कामबाट राज्यले कस्तो भिन्नताको महशुस पाउने हो यसलाई देखिने गरी काम हुने क्रिकेट खेलाडीबाट राजनीतिमा आएका नेता खानले विशेष जोड दिँदै बताएको पाकिस्तानी दैनिक द डनले शनिबारको अङ्कमा उल्लेख गरेको छ ।

मन्त्रीका पद स्थायी नहुने र कामका आधारमा परिवर्तन गरिने खानले बताए ।

उक्त अवसरमा प्रधानमन्त्री खानले सामाजिक सेवामा सुधार, कृषिमा परिवर्तन ल्याउने प्रतिवद्धता समेत जनाएकाे पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।

उनले भारतसहितका छिमेकी मुलुकसँगको सम्बन्ध सुधारका लागि आफु प्रतिवद्ध रहने पनि बताएका छन् ।

बानी गाला निवासबाट अफिस जाँदा हेलीकोप्टरको प्रयोग गरेको भन्ने प्रश्नको उत्तरमा आफुले जनताको असुविधालाई मध्यनजर राख्ने गरेको बताए ।

पैँसठ्ठी बर्षीय नेताले एक सय दिनको योजना सार्वजनिक गरिसकेका छन् । जसमा सरकारी निकायलाई मजबुत बनाउने, पाकिस्तानको अर्थतन्त्रलाई पुनर्जीवन दिने र पाकिस्तानलाई एक समृद्ध राज्य बनाउनेजस्ता कार्यक्रम रहेका छन् ।-रासस

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.