www.tandavnews.com
Fact ~ In search of truth

उडान आकाशको : सानो कमजोरी, ठूलो दुर्घटना

सन्तोष अधिकारी
पोखरा, ताण्डव न्यूज ।  

पोखरालाई पर्यटनको राजधानी नै घोषणा गर्नुपर्ने गण्डकी प्रदेश सरकारबाटै गाइँगुईँ हल्ला पनि चलाइएकै छ । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ लगायत सबै मन्त्री र प्रदेश सभा सदस्यहरुले पनि कार्यक्रमहरुमै दिनहुँजसो भाषण ठोकिरहेकै छन् ।

तर, पोखराको पर्यटनको एउटा मेरुदण्ड जस्तै रहेको ‘प्याराग्लाइडिङ’ को उडान, व्यवस्थापन यति घिन लाग्दो छ कि विदेशी एक जनाले सयौँको संख्यामा विदशी नै सहभागि हुने प्रतियोगिता गरिरहन्छ । तोकिएको भन्दा बाहिर उडान भरिरहेको हुन्छ । यस्ता गतिविधि पोखराको आकाशमा दिनहुँ भइरहँदा पनि सरोकारवाला पक्ष भने आँखा र कान बन्द गरेर बसिरहेको छ ।

Batas

तीन दिनमा चार दुर्घटना दुईको मृत्यु

गत फागुन १९ गते पोखराको सराङ्कोटडाँडाबाट उडेर फेवातालमा खसेको प्याराग्लाइडिङका प्याराग्लाइडरको उपचारको क्रममा मृत्यु भयो । मृत्यु हुनेमा रोमानियाका ४२ वर्षका इड सेडजियर हुन् ।

तालमा खसेको प्याराग्लाइडिङमा सवार यात्रुको उद्धार गरी उपचारको लागि मेट्रोसिटी हस्पिटलमा पु¥याएपनि उपचारकै क्रममा उनको मृत्यु भएको मेट्रोसिटी अस्पताल आइसियुका डा गोविन्दराज पाण्डेले बताए । उनी ब्लु स्काई प्याराग्लाइडिङ कम्पनीबाट अनुमति लिएर उडेका थिए । ल्याण्ड गर्न नसकेपछि प्याराग्लाइडिङ फेवातालको मध्यभागका खसेको थियो । त्यो घटना सेलाउन नपाउँदै भोलीपल्ट फागुन २० गते सोमबार पनि पोखरामा प्याराग्लाइडिङ दुर्घटनामा प¥यो ।

दुर्घटनामा परेर दुई विदेशी प्याराग्लाइडर घाइते भए । कास्कीको दुई फरक फरक ठाउँमा दुर्घटनामा परेका प्याराग्लाइडरमध्ये माछापुच्छ्रे गाउँपालिकाको ठाँटीमा विद्युतको पोलमा ठोक्कीएर घाइते भएका पोल्याण्डका जानुज कारोल गम्भीर घाइते भएका थिए । उनी अहिले पनि उपचाररत छन् ।

अर्का विदेशी प्याराग्लाइडर भने कास्कीकै मादी गाउँपालिकाको छाचोकमा दुर्घटना परेका हुन् । ६३ वर्षीय इलगिज यागुदिन रूखमा अड्किएका थिए । उनलाई स्थानीयले उद्धार गरेका हुन् । उनीहरु दुवै अनुमति लिएको ठाउँ भन्दा बाहिर उडान भरिरहँदा दुर्घटनामा परेका हुन् ।

पोखराको आकाशमा अहिले अनुमति लिएको भन्दा भिन्न ठाउँमा विभिन्न मुलुकका प्याराग्लाइडरहरुले जथाभावी उडान भर्दा दुर्घटना भइरहेको छ । त्यस्तै फागुन २१ गते भएको प्याराग्लाइडिङ दुर्घटनामा एक जनाको मृत्यु भयो । दुर्घटनामा परेका प्याराग्लाइडरको उपचारको क्रममा मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । कास्की प्रहरी कार्यालयका प्रहरी निरिक्षक गणेश सुवेदीका अनुसार सरांकोटबाट उडेको केहिबेरमा नै उनी दुर्घटनामा परेका थिए । रसियन नागरिक विएमआइ जिभिआइएलको दुर्घटनामा मृत्यु भएको हो ।

पोखराको आकाशमा विदेशीको रजाईँ

पर्यटकीय दृष्टिकोणले स्वदेशी तथा विदेशीहरुको प्रमुख रोजाइको गन्तव्य हो पोखरा । हिमालको काखको उपत्यका र यहाँका डाँडाकाँडाले नै सबैको मन लोभ्याउँछ । त्यसैमाथी फेवाताल, बेगनास तालमा माछापुच्छे« र अन्नपूर्णको छायाँले झनै मनमोहक तुल्याउँछ । पोखरा आउने प्रायले सराङ्कोटबाट प्याराग्लाइडिङमा उडान भरेर फेवाताल माथिको आकाशमा रम्ने गर्छन् ।

विदेशीहरु वर्षेनी यहि पोखराको आकाशमा प्याराग्लाइडिङ उडान भर्न सयौँको संख्यामा आउँछन् । आफ्नो देशमा भन्दा सुरक्षित मानिने कारणले नै विदेशीहरु पोखराको आकाशमा साहसिक खेल प्याराग्लाइडिङ उडान भर्न आउँछन् । अहिले पोखराको आकाशमा झण्डै ३०० सय विदेशी व्यक्तिगत रुपमा प्याराग्लाइडिङ उडानको अनुमति लिएर प्रतियोगितामा भाग लिइरहेको स्रोतले बतायो ।

पोखरा महानगर र अन्य सरोकारवाला पक्षले स्लो उडान तत्काललाई रोक्ने बताएपनि विदेशीहरुले सरांकोट बाहेकका ठाउँहरुबाट उडान भरिरहेका छन् । रसियन नागरिक इजोभ काजकोभले ओपन हिमालयन नाम दिएर अहिले विदेशीहरु बिच पोखरामै प्याराग्लाइडिङ प्रतियोगिता गराएका हुन् । उनले नेपाल सरकारको कुनै पनि नियकासँग अनुमति पनि लिएका छैनन् । गत फागुन १५ गतेबाट सुरु उक्त हिमालयन कपमा सहभागि विदेशीसँग आयोजकले प्रतिव्यक्ति २५ यूरो रकम समेत उठाएका छन् ।

पोखराको आकाशमा प्याराग्लाइडिङको उडान अनुमति दिने नागरिक उड्ययन प्राधिकरण पोखराका प्रमुख भोला प्रसाद गुरागाइँका अनुसार यो आर्थिक वर्ष यता मात्रै ८२१ जना विदेशीले पोखराको आकाशमा उडान भर्न अनुमति लिइसकेका छन् ।

‘यो आर्थिक वर्षको कुरा गर्दा ८२१ जनाले पोखराको आकाशमा प्याराग्लाइडिङ उडाउन अनुमति नै लिइसकेका छन्,’ उनले भने, ‘अहिले १५ दिनको लागि मात्रै पोखराको आकाशमा उड्न करिब ३०० जना विदेशीले अनुमति लिइसकेका छन् ।’ अनुमति लिने विदेशीहरुले १५ दिनको प्रतिव्यक्ति ५ हजार ६ सय रुपैयाँ नेपाल सरकारलाई बुझाएका छन् । अहिले भइरहेको प्रतियोगिताबारे नागरिक उड्ययन प्राधिकरण पोखरालाई जानकारी नै छैन ।

प्राधिकरणका प्रमुख गुरागाईँ प्याराग्लाइडिङ दुर्घटना दिनदिनै हुनुलाई पोखराको कस्मेटिक टुरिजम सकिँदै जानु भएको औँलाउँछन् । ‘तालमात्रै हेर्न कुनै विदेशी पोखरा आउनेवाला छैन,’ उनले भने, ‘यो भन्दा धेरै गुणा तालहरु छिमेकी देशहरुमा छन् । यहाँ त नजिकै हिमाल छ । त्यही हिमालको छेवैमा प्याराग्लाडिङमा सफर गर्न पाइन्छ । अल्ट्रालाइट उडान भर्न पाइन्छ र पो आएका छन् । यसरी दुर्घटना बढ्न थालेपनि नकरात्मक सन्देश विश्वभरी फैलिन्छ । यहाँको टुरिजम विकास भएकै कस्मेटिकले हो त्यै सकिएपछि हालत के होला ?’

क्षमता जाँच नगरी उडानको अनुमति

आफ्नो देशमा भन्दा सुरक्षित प्याराग्लाइडिङ गर्न पाउने भएकै कारण पोखराको आकाशमा वर्षेनी हजारौँको संख्यामा विदेशीले उडान अनुमति पाउँछन् । उनीहरु सबै प्याराग्लाइडिङको उडान अनुमति पत्र (लाइसेन्स) प्राप्त प्याराग्लाइडर हुन ।

तर, उनीहरुले पोखराको भूगोल, थर्मल, हावाको चाप, टेक अप र ल्याण्ड गर्ने ठाउँको बारेमा अध्ययन नै नगरी सिधै उडान भर्छन । ‘उनीहरु लाइसेन्स प्राप्त त हुन्छन् । तर, यहाँको भूगोलबारे अध्ययन नगरी, यहाँको थर्मलको ख्याल नगरी उडान भर्नेहुँदा दुर्घटनाको जोखिम बढेको छ,’ गुरागाइँले भने । फागुन १९ पछि लगातार तीन दिन भएको दुर्घटना यसैको उदाहरण भएको प्राधिकरण बताउँछ ।

एनएएलाई पनि पत्तो छैन्

नेपाल हवाई खेलकुद सस्था (एनएए) लाई पनि प्रतियोगिताबारे केही जानकारी नभएको संस्थाका उपाध्यक्ष सोबित वानियाँले जानकारी दिए । ‘यसरी प्रतियोगिता गराउन र उँडान भर्नका लागि अनुमति नागरिक उड्ययन प्राधिकरणबाटै लिनुपर्ने हो,’ उनले भने, ‘हाम्रो संस्थालाई पनि यसबारे आधिकारीक रुपमा केहि जानकारी छैन । यसरी थाहै नदिई प्रतियोगिता हुँदा राजस्व पनि गुमेको छ ।’

सराङ्कोट, तोरीपानी र मान्द्रेढुंगाबाट उड्छन्

एकल उडानको अनुमति लिएर प्रतियोगितामा भाग लिनेहरु पोखराको सराङ्कोट, तोरीपानी र मान्द्रेढुंगाडाँडाबाट उडिरहेका छन् । यसरी उडान भर्नेहरुले सराङ्कोटको उचाइ भन्दा २ हजार फिट माथी मात्र उडान भर्न पाउँछन् । सराङ्कोटको उचाइ पाँच हजार फिट छ । अहिले उडान भरिरहेका विदेशीहरुले यो नियम पनि पालना नगरेको स्रोतले बतायो ।

होला त सहमति कार्यान्वयन ?

पोखरा महानगरपालिकाको तथ्याङ्क अनुसार अहिले पोखराको आकाशमा प्याराग्लाइडिङ उँडान भर्ने जम्मा ४० कम्पनी छन् । ती मध्ये यसभन्दा पहिले नै कर तिर्ने जम्मा एउटा कम्पनी छ ‘माउण्टेन भ्यू प्याराग्लाइडिङ’ । अरुले अहिले सम्म नीति नियमलाई पेलेरै उडान भरिरहेका थिए । कर नै नतिरेपछि पोखरा महानगरले पटक पटक पत्र पठाएर ताकेता ग¥यो ।

अन्तिम पटक फागुन १५ गते एक हप्ताको समय दियो । तर पनि कम्पनीहरुले कर तिर्ने छाँटकाँट नै देखाएनन् । कर नतिर्ने सबै कम्पनीका प्याराग्लाइडिङ बुधबारदेखि नै बन्द गर्ने निर्णयमा महानगर पुग्यो ।

तर, म्याद सकिने अन्तिम दिन मंगलबार व्यवसायीहरु महानगर पुगे र एक हप्ताभित्र कर तिर्ने सहमति गरे । यसरी नै चार वर्ष वितेको महानगरले पत्तो पाएन । उक्त सहमति पछि बन्द हुने भनिएको प्याराग्लाइडिङ उडान एकहप्ते म्याद सहित चलिरहेका छन् । तर नागरिक उड्डयन प्राधिकरण पोखराले भने विदेशीलाई सोलो उडान गर्न नदिने बताइसकेको छ । दिनदिनैको दुर्घटनापछि तत्कालको लागि एक्लै उड्न नदिने प्राधिकरणले जनाएको छ ।

मंगलबार पोखरा महानगरपालिका र नेपाल हवाई खेलकुद संस्था (एनएए), नेपाल प्याराग्लाइडिङ तथा ह्याण्ड ग्लाइडिङ्ग संघ (नेफा) को संयुक्त छलफल पछि व्यवसायीहरुले एक हप्ता भित्र २०७२÷७३ देखि हालसम्म ४ बर्षको स्थानीय तहलाई शुल्क तिर्ने बिषयमा सहमति भएको हो । नागरिक उड्ययन प्राधिकरण पोखरामा भने करिब ६० वटा कम्पनीहरुले उडान अनुमति लिइसकेको तथ्याङ्क छ ।

अहिले उडान गरिरहेका ४० कम्पनी मध्ये एउटा कम्पनीले मात्र कर तिरेको पोखरा महानगरपालिका १८ का अध्यक्ष रण बहादुर थापाले बताए । अरु ३९ वटा कम्पनीले २०७२ सालबाट प्याराग्लाइडिङ उडानबापतको कर नतिरेको रेकर्ड पोखरा महानगरमा छ । ‘अब कर नतिर्ने कम्पनीका गाडी प्याराग्लाइडिङ गर्ने मान्छे बोकेर सरांकोट उक्लन पाउँदैन,’ वडा अध्यक्ष रणबहादुर थापाले भने, ‘अहिलेसम्म माउण्टेन भ्यू प्याराग्लाइडिङले मात्र कर तिरेको छ ।’

प्रत्येक कम्पनीले वार्षिक रुपमा करबापत एक लाख २५ हजार रुपैयाँ पर्यटन वापत कर तिर्नुपर्नेहुन्छ । सो रकम वडा कार्यालयले वा पोखरा महानगरपालिका जहाँ बुझाएपनि हुने उल्लेख गरिएको छ ।

आर्थिक वर्ष २०७२÷०७३ र २०७३÷०७४ मा प्रत्येक कम्पनीले नेपाल सरकारलाई कर बापत जम्मा पाँच हजार पाँचसय रुपैयाँमात्र बुझाउँथे । पछि बढेर आर्थिक वर्ष २०७४÷०७५ मा बढेर वार्षिक कर ५० हजार रुपैयाँ पुगेको थियो ।

त्यस्तै आर्थिक वर्ष २०७५÷०७६ मा बढेर प्रदेश सरकारले पर्यटन शूल्क शीर्षकमा एकमुष्ट एक लाख २५ हजार रुपैँया बुझाउनुपर्ने नीति ल्याएको हो ।

पछिल्लो समय एक हप्ते म्याद राखेर भएको सहमतिमा प्रदेशलाई तिर्नुपर्ने पर्यटन शूल्क नामको एक लाख तिर्नेबारे कुरा नभएको बताइएको छ । व्यवसायीहरुले स्थानीय तहलाई तिर्नुपर्ने जति रकम मात्र तिर्ने बताएका छन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.