www.tandavnews.com
Fact ~ In search of truth

पर्वत, म्याग्दी र मुस्ताङमा हिमपात : पुराना घर जोखिममा, बाटो बन्द

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज । 

गएको बिहीबार बिहानदेखि भैरहेको बर्षाका कारण साबिकको धौलागिरी पर्वत, बागलुङ र म्याग्दीको साथै मुस्ताङ जिल्लाको जनजीवन प्रभावित भएको छ ।

शनिबार बिहानै यी जिल्लाका उच्च पहाडी भेगहरुमा बाक्लो हिउँ जमेका कारण अत्याधिक चिसो छ भने जनजीवन नै प्रभावित भएको छ ।

Batas

साधारण अवस्थामा हिउँ नपर्ने गरेको पर्वत जिल्लामा यही माघमा दोस्रो पटक हिमपात भएको छ । यसअघि गएको माघ ११ गते राती पनि जिल्लाका बिभिन्न स्थानमा ३ फिट सम्मको हिउँ पररेकोमा आज पनि सोही मात्रामा र कतिपय ठाउँमा त्यो भन्दा पनि बाक्लो हिउँ जम्मा भएको छ ।

जिल्लका बिभिन्न ठाउँका स्थानीयले दिएको जानकारी अनुसार फलेवास नगरपालिकाको डहरेको लेक, कार्कीनेटा, भंगरा र थापाठानाको माथिल्लो भागमा हिमपात भएको छ ।

यस्तै, जलजला गाउँपालिकाको हम्पालको लेक, लेकफाँट, शालिजा, धाइरिङ, नाङलीवाङ, बनौँ लगायतका ठाउँमा हिउँ परेको छ। यस्तै, मोदी गाउँपालिकाको क्याङ, लेस्पार, सहस्रधारा, देउपुरको उपल्लो भाग लगायतका ठाउँमा पनि हिमपात भएको छ । जिल्लाका अन्य ठाउँ बाँसखर्क, भुकताङले, पञ्चासे, चिसापानीको लेकहरुमा पनि हिउँ जमेको छ ।

हिमपात भएको क्षेत्रमा चिसोका कारण जनजीवन कष्टकर बनेको छ । बाहिर हिउँ परेको र कतिपय ठाउँमा शीत जमेका कारण दैनिकी सञ्चालनमा नै कठिनाइ भएको छ । हिमपातका कारण दैनिकी असहज बनेको भए पनि वर्षाका कारण कृषक भने खुशी भएका छन् ।

लामो समयदेखि वर्षा नहुँदा हिउँदे बालीमा सिँचाइको समस्या भएको थियो । वर्षाले गहुँ, आलु, तोरी लगायत विभिन्न हिउँदे बालीलाई फाइदा पु‍¥याएको भए पनि हिउँ जमेका ठाउँमा लगाइएका खाद्यबाली तथा फलफूलमा क्षति पुगेको छ ।

मुस्ताङमा पुराना घर भत्कीन सक्ने, हिम पहिरोको जोखिम

हरेक चिसो याममा हिमपात हुने गरेको मुस्ताङमा अहिले पनि हिमपात भैरहेको छ । प्रायजसो मुस्ताङको उपल्लो क्षेत्रमा बाक्लो हिउँ पर्ने गरेको भएपनि शुक्रबार साँझदेखखि भने मुस्ताङको तल्लो क्षेत्रमा पर्ने सदरमुकाम जोमसोम सहितका ठाउँहरुमा पनि हिमपात भैरहेको छ ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रमुख प्रहरी नायव उपरीक्षक महेन्द्र खड्काका अनुसार अहिले पनि हिउँ पर्ने क्रम रोकिएको छैन् । जोमसोममा मात्रै झण्डै २ फिट सम्म बाक्लो हिउँजमीसकेको छ भने, खोलाको पनि पनि जमेको छ । ‘यहाँ खोलाको पानी जमेको छ, जोमसोममै पनि २ फिट बाक्लो हिउँ जमेको छ । जनजीवन कष्टकर बनेको छ ।’ उनले भने । अत्याधिक चिसो भएका कारण सर्वसाधारणहरु घर बाहिर निस्कन सकेका छैंनन् । अहिले तल्लो मुस्ताङको तापक्रम माईनस ८ डिग्री पुगेको छ भने उपल्लो मुस्ताङमा माईनस १२ डिग्री रहेको छ ।

प्रहरी नायव उपरीक्षक खड्काका अनुसार यही गतिमा हिउँ पर्दै गएमा मुस्ताङका पुराना घरहरु भत्कीन सक्ने र हिमपहिरो जान सक्ने सम्भवना पनि देखिन्छ । घरहरुको छानामा निकै बाक्लो हिउँ जम्मा भएकोले घरहरुले हिउँको भार थेग्न नसक्दा घर भत्कीन सक्ने हुन्छ । यद्यपी अहिलेसम्म हिमपातका कारण नै दुर्घटना भएको कुनै खबर नआएको उनले बताए ।

म्याग्दीमा पनि हिमपात मुस्ताङ जोड्ने सडकमा लेदो, बाटो अबरुद्ध

जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढाका अनुसार म्याग्दीका पनि धेरै पहाडी ठाउँहरुमा बाक्लो हिउँ परेको छ । उच्च स्थानमा रहेका गुर्जा, घोडेपानी, सिखघारा, दाना लगायतका ठाउँमा झण्डै २ फिट बाक्लो हिउँ जमेको छ ।

यसैगरी, तल्लो क्षेत्रमा सदरमुकाम बेनीको केही माथि रहेको भकीम्ली गाउँमा पनि बाक्लो हिउँ परेको छ । भकीम्लीमा रातीमा हिउँ परेको भएपनि अहिले भने रोकिएको छ । यद्यपी अग्ला डाडाँहरु रहेको तथा मुस्ताङसंग जोडिएको उपल्लो क्षेत्रमा भने हिमपात भैरहेको छ ।

लगातारको बर्षा र हिमपातका कारण मुस्ताङ जोड्ने एक मात्र सडक पनि अबरुद्ध भएको छ । म्याग्दीको दाना भन्दा केही तल पर्ने गुईँठेमा बाटोमाथिबाट लेदो बगेर बाटो पुरिएका कारण मुस्ताङ आवतजावत गर्ने सवारीहरु अबरुद्ध भएका छन् । सडक सुचारु गराउनको लागि बिहानैदेखि एक्जाभेटरको प्रयोग गरेर काम भैरहेको पनि प्रहरी नायव उपरीक्षक बुढाले जानकारी दिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.