www.tandavnews.com
Fact ~ In search of truth

पर्वतको साहित्यमा आकर्षण र विकर्षण

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

भनिन्छ, साहित्य जसमा हाँसेकालाई रुवाउने र रोएकालाई हँसाउने गुण हुन्छ । साहित्यसँग यस्तो बलियो शक्ति हुन्छ जसमा राखिएको बिषयवस्तु र उठान शैलीले पाठकलाई लोभ्याउँछ अनि रचनाप्रति सबैलाई आकर्षित गर्न सक्छ । साहित्य मनभित्रबाट खुलेर आउनुपर्छ, तब मात्र कुनै तह उत्तीर्ण गरेका बाहेकले पनि धाराप्रवाह कल्पना शक्तिलाई खन्याउँदै साहित्यिक रचना गर्न सक्छन् ।

नेपाली साहित्यको विकासक्रम संस्कृतबाट सुरु भएकोमा आजभोली नेपाली भाषा साहित्य व्यापक छ । नेपालमै चल्ने अन्य राष्ट्रभाषामा पनि साहित्यिक रचनाको विकास राम्रैसँग भैरहेको छ । पछिल्लो पुस्ता साहित्यमा धेरै रुची राख्छ त कतिपयलाई साहित्यिक रचनामा आकर्षित गर्न नै नसकिएको अवस्था छ ।

Batas

हामीले यहाँ उठाउन लागेको प्रसंग भने पर्वत जिल्लाको समग्र साहित्यिक अवस्थाको हो । साहित्य क्षेत्रमा राष्ट्रिय स्तरमा नाम कमाईसकेका रचनाकारहरु नरहेको पर्वतमा केही साहित्यकारहरु भने राष्ट्रिय स्तरका रचनाबाट आफूलाई अब्बल बनाउने प्रयासमा लागिरहेका छन् । छिमेकी जिल्ला कास्कीका स्वर्गीय साहित्यकार कविशिरोमणी लेखनाथ पौड्याल र मुस्ताङका स्वर्गीय साहित्यकार भूपी शेरचनको न्यानो मायाबाट सिञ्चित पर्वतको साहित्य पनि कमजोर भने छैन ।

राष्ट्रकवि माधव प्रसाद घिमिरेले पनि दोश्रो मुनामदनको संज्ञा दिएको खण्डकाब्य बेलुराम पर्वत जिल्लाकै साहित्यकार टुकनाथ रेग्मीले रचना गरेका हुन् । उनी लगत्तै अर्को खण्डकाब्य हरितारा प्रकाशनमा ल्याउने तयारीमा छन् । टुकनाथ जस्तै पाका र पुराना साहित्यकार शान्तिनारायण श्रेष्ठ पनि पर्वतको साहित्यका बलिया खम्बा हुन । उनी पछि साहित्यकारहरु ईन्द्रकुमार बिकल्प, राजेन्द्र पहाडी, ईन्द्रमान खत्री, ओमप्रसाद घायल, डा. षडानन्द पौड्याल, डा. बलाराम उपाध्याय रेग्मी– लगायत पाको पुस्ता बनेर वर्तमान साहित्यको नेतृत्व गरिरहेका छन् ।

उनीहरु बाहेक युवा पुस्ताका साहित्यकारहरु जन्मिने क्रम पनि कम्ती छैन । पछिल्लो पुस्ताबाट अर्जुन पौडेल निर्जन, एन.पी. घायल, शंकर गिरी ठाकुर रसाईली लगायतको समूह धेरै साहित्यिक फोरमहरुमा अक्सर भटिन्छन् भने सदरमुकाम बाहिरबाट धेरै चर्चामा नआएका युवा तथा उदियमान साहित्यकारहरुको जमर्को पनि उत्तिकै राम्रो छ ।

पर्वतमा साहित्यको विकास जति तिब्र हुँदै छ उत्तिकै मात्रामा पाठकहरुको बिकर्षण पनि बढ्दै छ । यद्यपी बिकर्षण भन्दा आकर्षण नै बढी रहेको साहित्यकारहरुको प्रतिक्रिया छ । साहित्यकारहरुका रचनाले पाठकको मन जित्न सकेमा मात्र पाठकहरुलाई आकर्षित गराउन सकिने सहित्यकार टुकनाथ रेग्मीले बताए । उनको बिचारमा अहिलेका युवाहरुलाई प्रविधिको प्रयोगले पनि साहित्यका किताब, रचना, लेख पढ्नबाट बञ्चित गराएको छ ।

रेग्मी भन्छन्, ‘आजभोली क्षमता भएका युवा युवतीहरु पनि प्रविधिको अधिकतम प्रयोगमा लागेका कारण बसेर सोच्ने र रचना तथा सिर्जना गर्ने कुराबाट टाढा रहेका छन् । साहित्य साधना हो, यसको लागि एकत्रित र नियन्त्रित मन चाहिन्छ । तर आजभोली सामाजिक बिभिन्न क्रियाकलापका कारण साहित्यमा युवा पुस्ताको चाख जति हुनुपर्ने हो त्यती नभएको मलाई लाग्छ ।’

पर्वतको सबैभन्दा पुरानो साहित्यिक संस्था पर्वत साहित्य सङ्गमका अध्यक्ष समेत रहेका अर्का साहित्यकार राजेन्द्र पहाडी आजभोलीका पाठकहरु प्रविधि र सामाजिक सञ्जालहरुमा बढी लाग्ने भएका कारण अबका साहित्यिक रचनालाई प्रविधिमैत्री बनाउन सकेमा यसबाट नछोईएको पक्षलाई पनि साहित्यमा लोभ्याउन सकिने अवस्था आउने बताउँछन् । पहाडी भन्छन, ‘आजभोली रिडरहरु पनि केही एडभान्स भैसक्नुभएको छ । गुगल र यूटुवमा सबै कुरा भेट्टाउने भैसकेका कारण अबका पाठकले पनि साहित्यिक रचनालाई त्यसरी नै भेट्टाउन चाहन्छन । रिडरको सोचलाई ग्रास्प गर्न सकियो भने अहिलेको पुस्तालाई साहित्यले नछुने भन्ने हुँदैन ।’

पुराना साहित्यकार शान्तिनारायण श्रेष्ठले पहिले र अहिलेको साहित्यमा धेरै फरक रहेको बताए । पहिलेका साहित्यिक रचनामा जति गाम्भीर्यता भएपनि अहिलेको साहित्यमा त्यती त्यस्तो नरहेको उनको विश्लेषण छ । कतिपय रचनाकारहरुले मनलाग्दी तरिकाले सामाजिक बिषयबस्तु र पाठकको चाहना नबुझी रचना प्रकाशन वा प्रशारण गर्दा पाठकलाई चित्त नबुझेको उनको ठहर छ । ‘साहित्यमा सेन्सरसीप छैन, रचना गर्नेले प्रकाशन गर्न सक्नुुहुन्छ, त्यसका कारण पनि उक्त प्रकाशनमा पठनीय सामग्री थिए की थिएनन् ? भन्ने प्रश्न उठ्ने गरेको छ ।’ अहिलेका पाठकहरुमा साहित्यिक वा अन्य पत्रपत्रिकाहरु मागेर पढेने तर किनेर नपढ्ने बानीले साहित्यकारहरुलाई लेखेर बाँच्ने अवस्था नरहेको लेखकहरु बताउँछन् ।

युवा पुस्ताका साहित्यकार शंकर गिरीले साहित्य क्षेत्रसँग सम्बन्धित कार्यक्रमहरुको आयोजना गर्ने त्यस्ता फोरमहरुमा धेरैलाई सहभागी गराउन सक्ने हो साहित्य अहिलेको अवस्था भन्दा निकै माथि उठ्ने बताउँछन् । पर्वतमा त्यती धेरै साहित्यक कार्यक्रमहरु आयोजना नहुने गरेका कारण पनि साहित्यिक क्षेत्र जति बलियो हुनुपर्ने भएपनि त्यती बलियो नरहेको उनको बिश्लेषण छ ।

विद्यालय, क्याम्पस वा अन्य ठाउँमा विभिन्न प्रतियोगितात्मक कार्यक्रमहरुको आयोजना गर्दा साहित्यिक पाटोलाई पनि ध्यान दिन सकेमा विद्यार्थीको माध्यमबाट साहित्यिक सफलता प्राप्त गर्न सकिने उनले बताए । यदाकदा औँलामा गन्न सकिने संख्यामा मात्र साहित्यिक कार्यक्रमहरु आयोजना हुने गरेका कारण अहिलेको युवा पुस्ता साहित्यसँग ठोक्किन नपाएका कारण प्रतिभा भएकाहरु पनि कता कता रुमलिएको जस्तो देखिएको अरु बौद्धिक बर्गले पनि उनी बताउँछन् ।

पर्वतमा साहित्यिक बहस, गीत, कविता, गजल वाचन लगायतका साहित्यिक क्रियाकलापहरु कमै मात्रामा हुन्छन भनिहाल्न मिल्दैन, तर जति हुनुपर्दथ्यो त्यति नभएको भने पक्का हो । केही बर्ष पहिलेको तुलनामा रचनाहरु पस्किने क्रम बढ्दो छ तर अबका लेखाईमा समाजसँग प्रत्यक्ष जोडिएका र नागरिकका सरोकारका बिषयबस्तुलाई वास्तविक चित्रका रुपमा उठाउन सकेमा देशका अरु जिल्लाको तुलनामा पर्वतको साहित्य कम नहुने कुश्मा नगरपालिका २ खुर्कोटमा रहेको कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा संस्कृत साहित्यमा आचार्य गरेका बाबुराम शर्मा बताउँछन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.