www.tandavnews.com
Fact ~ In search of truth

पोखरा १८का वडाध्यक्ष रणबहादुर थापा सहित तीन जना पक्राउ

पाेखरा
ताण्डव न्यूज । 

पोखरा महानगरपालिकाका १८ वडाअध्यक्ष सहित तीन जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ । पोखरामै बस्दै आएका तिब्बती शरणार्थीलाई नेपाली नागरिकता बनाउन सहयोग र सिफारिस गरेको आरोपमा उनीहरुलाई आज कास्की प्रहरीले पक्राउ गरेको हो ।

यसै घटनामा संलग्न अन्यल ८ जनालाई कास्की प्रहरीले केहि दिन अघि नै पक्राउ गरिसकेको छ । वडा अध्यक्ष रणबहादुर थापा, वडा सदस्य ज्ञानबहादुर थापा र पञ्चिकाधिकारी राजेन्द्र पौडेललाई आज पक्राउ गरेको हो ।

Batas

तिब्बती शरणार्थीसँग विवाह गरेर गएकी नेपाली नागरिकका सन्तानलाई पोखरा सराङकोट १८ का लेखबहादुर थापाले छोरी बनाएर नागरिकता बनाएको आरोपमा उनीसहित ८ जनालाई कास्की प्रहरीले केहि दिन अघि पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो । उनीहरु नागरिकता लिन झुटो कागजात तयार पार्ने र उनीहरूलाई सहयोग गर्ने व्यक्ति रहेका छन ।

लेखबहादुरका दुई नातिनीहरूले फरक फरक मितिमा नागरिकता लिएका छन् । गएको जेठ २६ गते सरु आङ्बोले र असार ६ गते तासी आङ्मोले जिल्ला प्रशासन कार्यालय कास्कीबाट नागरिकता लिएका थिए । नागरिकता लिने दुवै शरणार्थी लेखबहादुरकै हुन भनेर केही स्थानीयले सर्जिमनसमेत गरेका थिए ।

सर्जिमन मुचुल्का गरेका स्थानीयहरू बेलबहादुर थापा, इमा थापामगर, सन्तोष थापामगर, ज्ञानबहादुर थापा क्षेत्री, कमल थापालाई पनि कास्की प्रहरीले नियन्त्रणमा लिएको छ । नागरिकता बनाउन अन्तिम सिफारिस गर्ने वडा अध्यक्ष बल्ल पक्राउ परेका हुन ।

‘अनुसन्धानकै क्रममा छौँ, उनीहरू तिब्बती हुन भन्ने अध्ययनले देखाएपछि नागरिकता रद्द भइसकेको छ,’ जिप्रका कास्कीका प्रहरी निरिक्षक गणेश सुबेदीले भने, ‘अनुसन्धान भइरहेको छ । सबै कानुनी दायरामा आउँछन् ।’

पक्राउ परेकाहरूलाई झुटो विवरण पेस गरी नागरिकता लिएको शीर्षकको मुद्धामा कानुनी कारबाही हुनेछ । लेखबहादुरकी छोरीले तिब्बती शरणार्थीसँग विवाह गरेकी हुन । उनीबाट जन्मेका दुई छोरीलाई नेपाली नागरिकता दिएको खुलेको थियो । उनीहरूलाई वंशजको नागरिकता दिलाउन लेखबहादुरले झुटो विवरण पेश गरेको पाइएको थियो ।

नातीनीहरूको नागरिकता बनाउन लेखबहादुरले सबै विवरणहरू झुटो बनाएको खुलासा भएको छ । सिफारिस पत्रमा नातीनीहरूको बाबु पनि लेखबहादुर नै उल्लेख गरिएको छ । त्यस्तै जन्मदर्ता र विद्यालयको अभिलेखमा समेत सरु र तासी आङ्मोका बाबुको नाम लेखबहादुर उल्लेख छ । झूटो विवरणका आधारमा नागरिकता लिएको उजुरीमाथि कास्की प्रशासनले छानबिन थालेको थियो ।

लामो समयपछिको छानबिन र अध्ययन पछि लेखबहादुरले नातिनीहरूको नागरिकता बनाउन तयार पारेको कागजात सबै झुटो भएको पुष्टि भएको कास्की जिल्ला प्रशासनले जनाएको छ। पक्राउ परेकाहरूमाथी नागरिकता ऐन, २०६३ अनुसार कानुनी कारबाही अघि बढ्नेछ।

उनीहरूको कसुर प्रमाणीत भए एक वर्ष देखि ५ वर्षसम्मको कैद सजाय वा ५० हजार देखि एक लाख रुपैयाँसम्मको जरिवाना हुने छ । मुद्धाको किसिम हेरेर दुवै सजाय हुने प्रावधान पनि ऐनमा छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.