www.tandavnews.com
Fact ~ In search of truth

‘कडाइका साथ सुशासन र तीव्रताका साथ विकास’

काठमाडौँ (रासस)

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक आन्दोलनको चरण समाप्त भएकाले अब कडाइका साथ सुशासन र तीव्र्रताका साथ विकासमार्फत समृद्धितर्फको यात्रा शुरु भएको बताएका छन् ।

आदिकवि भानुभक्त आचार्यको २०५औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी कला साहित्य प्रतिष्ठानले आयोजना गरेको त्रिदिवसीय बृहत् हिमवत् खण्ड कला साहित्य सम्मिलन २०७५ को आज यहाँ उद्घाटन गर्दै उनले भने , “भौतिक समृद्धि मात्र नभई सांस्कृतिक समृद्धितर्फ पनि राज्यको ध्यान केन्द्रित छ ।”

Batas

प्रधानमन्त्री ओलीले पैसाले मात्रै विकास हुँदैन, सोच र चिन्तनले विकास हुन्छ, औपनिवेशिक कालमा जस्तो ठूला र धनीले साना र गरीबलाई शोषण गरेर धनी र सम्पन्न हुने चरण समाप्त भइसकेको छ भन्दै अब स्वतन्त्रता, सुरक्षा र सम्मान सहितको आधुनिक लोकतन्त्रका लागि साहित्य र संस्कृतिकर्मीहरु पनि केन्द्रित हुनुपर्नेमा जोड दिए ।

जैविक र मानवीय न्यायोचित आवश्यकताको परिपूर्ति जनताको पहिलो शर्त भएको उल्लेख गर्दै उनले एकता, सहिष्णुता र मेलमिलाप नेपाली संस्कृति भएकाले नेपालको ऐतिहासिक र वैभवपूर्ण संस्कृतिलाई विश्वसमक्ष फैलाउनुपर्ने बताए ।

शताब्दी वाङ्यमय पुरुष सत्यमोहन जोशीले नेपाली कला र संस्कृतिको विदेशीले समेत अन्वेषण गरिरहेको सन्दर्भमा स्वदेशका प्राज्ञिक निकायले आफूलाई त्यसमा केन्द्रित गराउनुपर्ने आवश्यकता औँल्याए ।

वरिष्ठ साहित्यकार डा मोदनाथ प्रश्रितले नेपालको हिमाली सभ्यता र परम्परालाई अग्रभागमा राखेर हिमवत् खण्डको संस्कृतिको अध्ययन र संरक्षणमा लाग्न सम्बन्धीत सबै पक्षसंग आग्रह गरे ।

वरिष्ठ कवि वैरागी काइँलाले कतिपय भाषा र संस्कृति लोपोन्मुख हुन लागेको बेला सम्मिलनले त्यसको जगेर्नामा योगदान दिन सक्ने अपेक्षा व्यक्त गरे ।

सम्मिलनमा नेपाली साहित्यमा विद्यावारिधि बेलायती नागरिक डा माइकल हर्ट, भारतको सिक्किम विश्वविद्यालयका डिन डा कविता लामालगायत जापान, भुटान, थाइल्याण्ड, रुस, फ्रान्सलगायत मुलुकका साहित्यकारको सहभागिता छ ।

भारतको ग्वाँटी, उत्तराखण्ड, सिक्किम, कोलकोता, हिमाञ्चल, देहरादुन, दार्जिलिङ, वाराणसी, विहार, सिलोङलगायत स्थानका साहित्यकारहरुको सहभागिता छ ।

सम्मिलनमा हिमवत् खण्ड र साहित्यसम्बन्धी कार्यपत्र, बहुभाषिक कवि गोष्ठी, सांस्कृतिक कार्यक्रम हुनाका साथै चन्द्रागिरि अवलोकन र स्थलगत सिर्जना लेखन र प्रस्तुतिसमेत हुने आयोजक समितिका संयोजक प्रा राजेन्द्र सुवेदीले जानकारी दिए ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.