www.tandavnews.com
Fact ~ In search of truth

जनताहरुको सोंच पनि स्मार्ट हुनुपर्छ

पाेखरा
ताण्डव न्यूज । 

१) अध्यक्ष हुनुभएको २ वर्ष बितिसकेको छ, वडामा विकास निर्माणका कामहरु केके गर्नुभयो ?

वडा नं १ मा भएका विकासमा हालसम्म नालीको व्यवस्थापन सहित ४ सय ५० मिटरको फुटपाथ निर्माण भइसकेको छ । ७ सय मिटर कालो पत्रे र ५ सय मिटर ढलान बाटो पनि निर्माण गरिसेकेका छौ । ४ इन्चको पाइप ४ सय ५० मिटर, ३ इन्चको पाइप ५ सय ६३ मिटरको खानेपानीको पाइप बिच्छाएका छौं । जसमा ४ इन्च र ३ इन्चको पाइपमा पानी जोडिएको छ भने ६ इन्चको पाइपमा पानी जोडिएको छैन ।

Batas

छिट्टै समस्या भोग्नु नपर्ने गरी इन्जिनियरहरुसँगको राम्रो सहकार्यमा हामीले कालो पत्रे बाटोको निर्माण गरेका छौं । त्यसले गर्दा पहिलै बनाएका बाटोहरुमा पनि खासै समस्या देखिएको छैनन् । खानेपानी र ढलको व्यवस्था गरेर बनाएको बाटो धेरै टिकाउ हुने जानकारी अनुसार बाटोको निर्माण गरेका छौ । पहिलो वर्षमा सरकारी विद्यालयमा अध्ययन गर्ने विपन्न विद्यार्थीहरुलाई २ लाख बराबरको झोलाहरु वितरण गरेका थियौं ।

२) जनताहरु वडामा कस्ता–कस्ता समस्या/गुनासो लिएर आउँदा रहेछन् ?

वडामा विभिन्न समस्या र गुनासोहरु आउँछन् । जसमा धेरै आउने समस्या नागरिकतासम्बन्धी काम, जग्गाका कारोबार, फैसला भइसकेका तर कार्यान्वयनमा नआएका मुद्दाहरु, लेनदेनका मुद्दाका समस्याहरु वडामा आउने गर्छन् । त्यसका लागि हामीले ४ वटा क्षेत्र छुट्टाएका छौं ।

सानो तिनो समस्याहरुको समाधानका लागि जनप्रतिनिधि, टोल विकास, आमा समूहका समितिका प्रतिनिधिले नै समस्याको हल गरेका छन्, भने अलि जटिल समस्यालाई वडामा नै बसेर दुवै पक्ष बोलाएर छलफल गरी समाधान गर्ने गरेका छौं । यस्तै अन्य समस्याहरु, बाटोको समस्या, लेनदेनका मुद्धा, फैसला भई कार्यान्वयनमा नआएका मुद्दाका लागि व्यवस्थित तरिकाले अगाडि बढाउनका लागि यसका लागि पनि छलफल भइराखेको छ ।

३) वडामा रहेका मुख्य समस्याहरु केके रहेछन् त ?

हाम्रो वडा नगरपालिका भएको झन्डै ५७ वर्ष भइसकेको छ । मुख्य समस्या भनेर खासै केही पनि छैन । पहिला पहिला थाहा नभएर होला जन्मदार्ता विवाह दर्ता नगरी बसेकाहरु उमेर पुगेका व्यक्तिको पनि नागरिकता नभएको अवस्था धेरै थिए । तर अहिले स्थानीय सरकार आएसँगै कामहरु भइराखेका छन् ।

हाम्रो वडामा आउने जग्गा सम्बन्धीकेही समस्याहरु छन तर यसलाई मुख्य समस्या नै त भन्न मिल्दैन । अब यो वर्षभरि सार्वजनिक जग्गाहरु नापेर मापदण्ड विपरीत बनाएका घरहरु हटाउने र सार्वजनिक जग्गाको संरक्षण गर्ने योजना बनाएका छौं ।

४) वडा अध्यक्षबाट जनताहरुले कस्तो अपेक्षा राखेको पाउनुभयो ?

आफूले चुनेर ल्याएपछि जनताको अपेक्षा त अवश्य नै हुन्छ । विकास निर्माणका कामसँगै समयमै सेवा लिन सकियोस् भन्ने जनताहरुको अपेक्षा पाएको छु । स्मार्ट सिटी बन्नका लागि हामीले बनाएको योजनाहरुले मात्र हुँदैन । त्यसका लागि यहाँ बस्ने जनताहरु पनि स्मार्ट हुनु जरुरी हुन्छ । जनताहरुले पनि अहिलेको सूचना प्रवाह, अहिलेको नयाँ संविधान अनुसारका नीति नियम कानुनहरुको बारेमा ज्ञान लिनुपर्ने हुन्छ ।

जब हामी बस्ने मानिस नै स्मार्ट हँुदैनौँ भने सिटी स्मार्ट हुनुको केही अर्थ हुँदैन । अहिले केन्द्र र स्थानीय सरकारका नियमहरु बनिसकेका भए पनि केही नियमहरु बन्दै छन् । अरु शिक्षासम्बन्धी नियमहरु पनि प्रदेश सरकारले बनाउँदै छ । समाज परिवर्तन तुरुन्तै हुने कुरा होइन । विस्तारै अनुभूति गर्ने कुरा हो । पहिला देखिएको समाज र अहिलेको समाजमा पनि धेरै परिवर्तन आइसकेका छन् ।

५) तत्काल के कस्ता योजनामा व्यस्त हुनुहुन्छ ?

अहिले हामीले थुप्रै नयाँ योजनाहरु संकलन गरेका छौ । पूर्वाधार, शिक्षा, स्वास्थ्य, पशु, कृषि, नयाँ पुरानो सडकका लागि योजनाहरुको खाका तयार गरी महानगरमा प्रपोजल पेस गरेका छांै । अबका ३ वर्षमा के–के काम गर्ने भन्ने योजनाहरु पनि तयार गरि १६ वटा शीर्षकमा प्रपोजल दिएका छौं ।

नयाँ योजनामा जेष्ठ नागरिकको सम्मानका लागि क्लब स्थापना गर्ने र गर्भवती महिलालाई पोषण आहार दिने व्यवस्थाको योजना बनाएका छौं । अबको नयाँ वर्षदेखि स्वास्थ्य चौकीमा जाँच गर्न आउने महिलाहरुलाई क्यालसियम पनि दिने सुविधा प्रधान गर्ने योजना रहेको छ ।

६) अबको ३ वर्षमा वडा नं १ लाई कुन स्तरमा देख्न सकिन्छ ?

अबको ३ वर्षमा पूर्वाधारका कामहरु धेरैजसो सम्पन्न नै भइसकेका हुन्छन् । विद्यालयलाई पनि गुणस्तरीय बनाई व्यवहारिक शिक्षा सिकाउने योजना बनाएका छांै । साथै यहाँको लोकप्रिय रहेको गाईघाटको पनि व्यवस्थित गर्ने, केआइसिंह पुलदेखि याम्दीसम्मको फुट ट्रयाक र खेल मैदान बनाउने सोच छ । हाम्रो वडामा मर्मत गर्ने बाटोहरु धेरै छन् तर सायद ३ वर्षमा नयाँ सडक बनाउने बाटो रहदैन होला ।

प्रस्तुति : विनिता सुनार

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.