www.tandavnews.com
Fact ~ In search of truth

पोखरा २८ : हिले बाटोमा हिँड्न बाध्य ‘महानगर’वासी

माधव भुसाल
पोखरा, ताण्डव न्यूज ।

विकटका नागरिकलाई निकटमा ल्याउन पोखरा २८ मा सडक स्तरोन्नतीका लागि पोखरा महानरपालिकाले ठेक्का लाएको थियो । ठेक्का सम्झौता भएर निर्माण कार्य सुरु भएपनि गुणस्तर नहुँदा स्थानीयले सास्ती खेप्नु परेको छ ।

बाटोको छेउमा लगाएको ग्याबीन वाल समेत भत्सिकेको छ । हल्का वर्षा हुनेवित्तिकै बाटोको अवस्था दर्दनाक देखिन्छ । ताण्डव न्यूजसँग कुरा गर्दै एक स्थानीयले भने ‘ठेकेदारको मनपरी छ यहाँ । मन लाग्दा काम गर्ने, नभए नगर्ने । वडाध्यक्ष पनि निरिह भए । हेर्नुस् त, लगाइएको ग्याबिन वाल समेत भत्किसक्यो ।’

Batas

महान चाड दशैं मुखैमा आइपुग्दा बजारका लागि आवतजावत गर्ने स्थानीयलाई बाटोले हैरान पार्ने गरेको छ । दलदल बाटोमा हातमा चप्पल बोकेर स्थानीयहरु आधा खुट्टा गाढेर गन्त्ब्य पुग्न विवश छन् । ‘दैनिक १२, १३ वटा सार्वजनिक सवारीहरु गुड्दै आइरहेकोमा बाटोकै कारण अहिले सेवा दिन मुस्किल परेको छ । गुड्दा गुड्दै कहाँ गएर चक्का फस्छ पत्तै हुँदैन । साह्रै विजोग भयो ।’ स्थानीयले दुखेसो पोखे । उक्त बाटो भएर दैनिक करिब १ हजार देखि १५ सय स्थानीय आवतजावत गर्दछन् ।

अहिले बिग्रिएका बाटोमा गिट्टी राख्ने काम भइरहेको छ । तर पनि त्यहाँका स्थानीयलाई चित्त बुझिरहेको छैन । ‘किन ?’ भन्ने हाम्रो प्रश्नमा एक स्थानीयले भने ‘भोली सोमबार यहाँ ८० वर्षमाथीका वृद्धवृद्धालाई सम्मान गर्ने कार्यक्रम छ । भोली मेयर सा‘ब आउँदैहुनुहुन्छ । उहाँलाई देखाउन गिट्टी छरिएको छ । आजसम्म जनताले कति दुख पाए । दुख देखेको भए त बाटो बिग्रिने वित्तिकै बनाउनु पथ्र्यो नि ।’

के भन्छन् वडाध्यक्ष ?

निर्मल दियाली, पोखरा २८का वडाध्यक्ष हुन् । बाटो हिलाम्मे भएको, बिग्रिएको स्विकार्दै उनि भन्छन् ‘वर्षाको समय छ । रातो माटोमा पानि पर्ने वित्तिकै दलदल हुन्छ । गाडी गुड्न मुस्किल पर्छ । अहिलेलाई यो सडक चक्लाउने गरि ठेक्का भएको हो । निर्माणाधिन रहेकाले पनि समस्या आएको हो । तर स्थानीयलाई सास्ती भएकै कारण गिट्टी राख्ने काम वडाले सुरु गरेको छ ।’

स्थानीयले भने अनुसार मेयर सा’ब आउने कारण गिट्टी राखिएको कुरा स्विकार्दैनन् वडाध्यक्ष दियाली । भन्छन् ‘त्यो त सबै भ्रम हो । लगातार वर्षा भइरह्यो । काम कसरी गर्ने ? पानी रोकिएपछि वडाकै बजेटमा गिट्टी राखिएको हो ।’

उक्त बाटो ठेक्का पाएका ठेकेदारसँग सन्तुष्ट नरहेको उनको आशय थियो । यसबारे महानगर प्रमुख र उपप्रमुखलाई समेत जानकारी गराइसकेको उनले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.