www.tandavnews.com
Fact ~ In search of truth

सय वर्ष थेग्ने मापदण्ड बनाउन पाेखरा महानगरपालिकालाई सुझाव

पोखरा ।

पर्यटकीय नगरी पोखरालाई व्यवस्थित र सुन्दर बनाउनुका साथै सय वर्ष थेग्न सक्ने भवन तथा पूर्वाधार निर्माण मापदण्ड बनाउन महानगरपालिकालाई सांसदहरुले सुझाव दिएका छन् ।

पोखरा महानगरपालिकाद्वारा गठन गरेको विज्ञ समूहले तयार पारेको भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड २०७५ बारे सुझाव लिन आयोजित कार्यक्रममा सांसदहरुले पोखराको सौन्दर्य नबिग्रने गरी मापदण्ड बनाउनुपर्ने सुझाव दिएका हुन् ।

Batas

दीर्घकालीन सोच राखेर महानगरले काम गर्नुपर्नेमा सुझाव दिँदै छलफल कार्यक्रममा जनप्रतिनिधिले कार्यान्वयन गर्न सकिने र दूरगामी महत्व राख्ने मापदण्ड बनाउन सुझाव दिएका छन् ।

कार्यक्रममा राष्ट्रियसभा सदस्य वृन्दा रानामगरले पोखराको भौगोलिक अवस्थालाई हेरेर भौतिक संरचना निर्माण गर्नुपर्ने बताए । सार्वजनिक जग्गाको संरक्षण गर्दै हचुवाको भरमा नभई दीर्घकाललाई ध्यान दिएर भवन तथा पूर्वाधार निर्मणको मापदण्ड तयार पार्नुपर्नेमा उनको जोड थियो ।

गण्डकी प्रदेशसभा सदस्य कृष्णबहादुर थापाले भवन र पूर्वाधार निर्माणको मापदण्ड बनाउँदा एक इन्च पनि सम्झौता नगरी पोखराको भविष्यलाई हेरेर बनाउनुपर्ने बताए ।

प्रदेशसभा सदस्यद्वय प्रभा कोइराला र मित्रकुमारी सुवेदीले सडकको मापदण्ड बनाउँदा कन्जुस्याइँ नगर्न र प्रत्येक घर निर्माण गर्दा भूमिगत रुपमा पार्किङको व्यवस्था गर्नुपर्ने सुझाव दिइन् । प्राकृतिक स्रोत साधनको जथाभावी दोहन रोक्ने खालको मापदण्ड तयार गरेर पोखराको सौन्दर्य जोगाउनुपर्नेमा प्रदेशसभा सदस्य राजीव पहारीको जोड थियो ।

कार्यक्रममा प्रदेशसभा सदस्य पुष्पा केसी भण्डारी, रामजी बरालले वैज्ञानिक मापदण्ड तयार गरी निर्ममरुपमा कार्यान्वय गर्नुपर्ने सुझाव दिए । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञ समूहले तयार पारेको मापदण्डका बारेमा सरोकारवाला निकायसँग रायसुझाव लिएर नै त्यसलाई कार्यान्वयन तहमा लैजाने प्रतिबद्धता व्यक्त गरे ।

महानगरपालिकाले प्रा डा भरतराज पहारीको संयोजकत्वमा गठन गरेको मापदण्ड निर्धारण सुझाव समितिले भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड २०७५ तयार पारेको हो ।

पोखराको भौगोलिक अवस्थालाई ध्यानमा राखेर, विगतका मापदण्डसम्बन्धी प्रतिवेदनलाई समेत अध्ययन गरी वैज्ञानिक ढङ्गबाट नै मापदण्ड तयार पारिएको समितिका सदस्य–सचिव तथा महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले जानकारी दिए ।
–––

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.