www.tandavnews.com
Fact ~ In search of truth

लथालिङ्ग पोखरा सभागृह

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज । 

पोखरा सभागृह । बाहिर आवरण अहिले चिटक्क परेको छ । बाहिरी आवरण चिरिच्याट्ट भएपछि भित्र कस्तो होला ? मनमा अनेकौ कौतहलता आउनु स्वभाविक नै हो । तर, जस्तो बाहिर त्यस्तो गेट भित्र छैन । गेटबाट प्रष्ट देखिने पानीको फोहोरामा आजकल पानी आउँदैन । आकर्षणको लागि राखिएको पानीको फोहोराको चमक हराएको छ ।

त्यो भन्दा पनि लाजलाग्दो कुरा के छ भने, सभागृह हलको टुप्पामा एउटा घडी छ । हर घडीले समयसँग हिड्न सिकाउँछ तर त्यहाँ राखिएको घडीले हरेक दिन एउटै समय देखाउँछ । त्यो घडीमा सधै ९ः४० मात्र बज्छ । घडीले समयलाई डो¥याउन सकेको छैन ।

Batas

बिग्रेको छ घडी । घडीको नजिकै महानगरले एउटा ठूलो बोर्ड राखेको छ । लेखिएको छ, ‘हाम्रो राम्रो हरियाली सुन्दर र समृद्ध पोखरा ।’ घडीमा रहेको स्थिर सुईले बोर्डको लेखिएको क्याम्पसनलाई गिज्जाइरहेको छ ।

पोखरामा सभागृहमा रहेको घडीमात्र होइन । गेटबाट भित्र छिरेर जता आँखा घुमाएपनि उस्तै भताभुंग देखिन्छ । हलमा राखिएका सिसाहरु फुटेका छन् । कति सिसा फुटेर खस्ने तयारीमा छन् भने कति झ्यालमा काटुनले छोपेको देखिन्छ । वरपर स–साना बुट्यानहरु छन् । अलिअलि हरियाली देखिएपनि सभागृहको भताभुंग अवस्थाले हरियालीलाई पनि उजाड बनाएको छ । कुरुप बनाएको छ ।

शौचालय उस्तै छ । पिसाब फेर्न शौचालय छिरेको मान्छे बिचमै बाहिर आउनुपर्ने अवस्था छ । शौचालयको दुर्गन्ध बाहिर आएको छ । सभागृहको लागि आवश्यक कर्मचारी महानगरले राखिएको भनेपनि उचित व्यवस्थापन हुन सकेको छैन ।

कुनै समय १३ जना कर्मचारी रहेको सभागृहमा अहिले कर्मचारी कटौति गरी ३ जना मात्र छन् । ३ जना कर्मचारीको काम ‘हेरेजस्तो मात्र गर’ भनेजस्तै भएको छ । मुख्यद्वार रंगीन छ, भित्र भने बेहाल छ ।

कार्यक्रम आयोजकलाई सकस

महिनामा प्रायः हरेक दिन कार्यक्रम हुने सभागृहमा आयोजकहरुले पनि थुप्रै अप्ठ्ेरो महसुस गर्नुपरेको छ । कार्यक्रममा सहभागी हुन गएकाहरुका लागि बस्ने कुर्चीको उचित व्यवस्थापन छैन । कुर्ची छन् तर बस्न मिल्दैन ।

बसिहाले पनि पल्टिनेहो कि वा कुर्चीमा रहेको काँटीले लुगा च्यातिने डर हुन्छ । केही कार्यक्रममा त भाँचिएको ठाउँमा प्लास्टिको कुर्ची राखेको पनि पाइयो । झन्डै १५ सय अट्ने क्षमता रहेको सभागृहको हलमा आयोजकदेखि सहभागी दर्शकलाई सास्ती खेप्नु परेको छ ।

भित्ता र छेउ कुनामा माकुराको जालो । स्टेज पनि उस्तै बिचबिचमा भत्कन ठिक्क परे जस्तो अवस्थामा छ । सभागृहमा रात्रीकालीन कार्यक्रम हुँदैनन् किनकि यहाँ बत्ति बिग्रेका छन् । गत फागुनमा नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा तथा विधान अधिबेसनमा बत्ति नहुँदा हम्मेहम्मे परेको थियो ।

हरेक समय कार्यक्रम भइरहने सभागृह भित्रको बत्ति नबल्दा दर्ता गराउन आउनेलाई पनि समस्या भएको थियो । ‘स्मार्ट सिटी’ बनाउँछौं भनेर भाषण गरिरहँदा महानगरले संरक्षणमा आलटाल गरेको प्रष्ट देखिन्छ । महानगरले सभागृहलाई केवल आम्दानीको स्रोत मात्र बनाएको छ ।

हरेक ठाउँबाट आउनको लागि तत्कालै गाडी पाइने र सजिलो ठाउँ भएकोले नै प्रायः आयोजकहरु पोखरा सभागृह रोज्ने गर्छन् । तर, महानगरलाई मनग्य पैसा बुझाएर कार्यक्रम गर्दा पनि हलको बिजोग देख्दा आयोजक सन्तुष्ट हुन सकेका छैनन् ।

धेरैजसो सौन्दर्य प्रतियोगिता आयोजना हुने सभागृह आफै कुरुप छ । इभेन्ट म्यानेजर सुरज थापा भन्छन्, ‘सभागृहमा कार्यक्रम गर्दा धेरै समस्या हुन्छ । त्यहाँको सवभन्दा ठूलो समस्या भनेकै शौचालय र बस्ने कुर्सी नै हो ।’ वर्षमा २÷३ वटा कार्यक्रम सभागृहमा गर्दै आएपनि हाल विविध समस्याले गर्न छोडेको उनले बताए ।

नाम परिवर्तन
पोखरा उपत्यका नगर विकास समितिले २०४५ सालमा १६ रोपनी जग्गामा यो हल निर्माण ग¥यो । त्यसताका भवन निर्माणको लागि चीन सरकारले सघाएको थियो । तत्कालीन अञ्चलाधीशबाट उद्घाटन गरिएको भवन पहिला ‘दीपेन्द्र सभागृह’ थियो ।

२०६२-६३ को जनआन्दोलनसँगै राजा हटे । त्यसपछि राजपरिवारसँग जोडिएका हरेक नाम र संरचना पनि हटाउन थालियो । सोही क्रममा यसको नाम पनि परिवर्तन गरी ‘पोखरा सभागृह’ राखियो । नगर विकास समितिको जग्गा भएपनि यसको सञ्चालन महानगरले गर्दै आएको छ ।

पोखरा सभागृह निजी क्षेत्रलाई

पोखरा सभागृहलाई महानगरपालिकाले निजी क्षेत्रसँगको साझेदारीमा चलाउने कुरा भएको थियो । निजी क्षेत्रको बिपिएस लिजिङ एन्ड म्यानेजमेन्टले सभागृहको सन्चालन गर्न लागेको थियो ।

विपिएसले सभागृहका लागि २ वर्षभित्र ५ करोड रुपैयाँ लगानी गर्ने सहमति तत्कालीन नगरपालिकासँग गरेको थियो । सभागृह निजी क्षेत्रले सञ्चानल गर्न ५ वटा फर्मले नगरपालिकामा आवेदन दिएका थिए । प्राविधिक रुपमा बिपिएसले गरेको प्रस्ताव राम्रो भए पछि नगरपालिकालले विपिएलाई दिएको थियो ।

पोखरा उपमहानगरपालिकाका तत्कालीन कार्यकारी अधिकृत झलकराम अधिकारीले आगामी २० वर्षका लागि वार्षिक १० लाख रुपैयाँमा सभागृह सञ्चालनका लागि अनुमति दिएको जानकारी दिएका थिए ।

त्यसबेला पोखरा उपमहानगरका तत्कालीन कार्यकारी अधिकृत झलकराम अधिकारीले पोखराका तर्फबाट, पोखरा नगर उपत्यका समितिका तर्फबाट कृष्णराज पाण्डे र बिपिएसका तर्फबाट आदर्शमान श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । त्रिपक्षीय सम्झौता अनुसार विपिएसले २५ वर्षका लागि सभागृह सञ्चालन गर्ने, सम्झौता भएको ६ महिनाभित्र मर्मतसम्भार गर्ने, रङरोगनका साथै कलाकृत्ति भर्ने र २ वर्षभित्र तत्कालीन उपमहानगरले डिजाइन गरेको नक्साका आधारमा सभागृह मर्मत गरिसक्नुपर्ने थियो ।

तर, सम्झौता भएको केही दिनमै नागरिक समाजले अख्तियारमा सम्झौता नियमविपरीत भएको भन्दै उजुरी दियो । उजुरी परेको करिब १ वर्षमा अख्तियारले उपमहानगरकै पक्षमा फैसला ग¥यो । निजी कम्पनीलाई दिइएको सभागृह मर्मतसम्भारको जिम्मा अदालतले महानगरलाई जिम्मा दिएपछि पोखरा ८ का वडाध्यक्ष रुद्र बरालको अध्यक्षतामा अध्ययन समितिसमेत गठन भएको थियो ।

तर, समितिले आजसम्म सभागृहको मुहार भने फेर्न सकेको छैन । सभागृहमा अहिले ठूलो हलमा कार्यक्रम हुँदा अरु सम्मेलन र बैठक गर्न मिल्दैन । वडा अध्यक्ष बरालले चाँडै नै सभागृह मर्मतको काम सुरु हुने बताए । डिपिआर बनेसँगै काम सुरु हुने बरालले आश्वासन दिए । ‘अहिले मैले पनि फलो गरेको छैन । छिट्टै बन्नेछ,’ उनले भने ।

मर्मतमा किन ढिला

आर्थिक वर्ष २०७२-७३ मा ६ लाख ७० हजार रुपैयाँ, ०७३-०७४ मा ७ लाख रुपैयाँ, ०७४-०७५ मा ५ लाख ३५ हजार रुपैयाँ सभागृहबाट आम्दानी भएको छ । चालु आर्थिक वर्षमा अहिलेसम्म ८ लाख रुपैयाँ आम्दानी भइसकेको राजश्व शाखा प्रमुख छविलाल शर्माले जानकारी दिए ।

उनका अनुसार सभागृहमा एक दिन बिना टिकटको सामान्य कार्यक्रममा पनि २५ हजार र टिकट काट्नुपर्ने कार्यक्रममा ५० हजारसम्म महानगरले लिने गरेको छ । हलबाहिरको ठाउँमा पनि कार्यक्रमको प्रकृति अनुसार २० देखि २५ हजार रुपैयाँ लिने गरेको शर्माले जनाए । यति धेरै रकम उठ्दा पनि सभागृह किन मर्मत हुन सकेन ? उनी सहजै उत्तर दिन्छन्, ‘मर्मत कार्य अघि बढेको छ ।’

पोखरा सभागृहकै मर्मतसम्भार गर्न महानगरले चालु आर्थिक वर्षमा ३ करोड छुट्टाएको छ । तर, बजेट कार्यान्वयन भएको देखिँदैन । महानगरका वरिष्ठ इन्जिनियर शारदामोहन काफ्लेले लागत अनुमान तयार भएर ट्रेन्डरमा जान लागेको बताए ।

‘समस्या साउन्ड सिस्टममा आएको छ । निर्माणको चरणमै छ । कुर्ची सबै फेर्नु पर्ने भएकोले समय लाग्न सक्छ तर, राम्रै खर्च गरेर सभागृहलाई मर्मत गरिनेछ,’ उनले भने ।

इन्जिनियर रामचन्द्र पोख्रेलले प्याकेजमा ट्रेन्डर आह्वानको तयारीमा रहेको बताए । ‘कतिपय काम काठमाडौंबाट हुने हुँदा समय लागेको हो । अब छिट्टै नै टेन्डर आह्वान हुनेछ,’ उनले भने, ‘त्यसपछि ३० दिनको सूचना निकालेर काम थालनी हुन्छ । ६ महिनाभित्र सम्पन्न गर्ने हाम्रो टार्गेट छ ।’ उनका अनुसार अब बन्ने सभागृह एसी जडान सहित कुर्ची, झ्याल, ढोका सबै नयाँखालको हुनेछ । ‘चुहेको टिन र काठपनि फेर्नु पर्ने भएकोले बढी समय लाग्ने उनले बताए ।

अर्को विल्डिङ बन्दै

पोखरा सभागृको पश्चिमपट्टि सानो विल्डिङ बन्न लागेको छ । साढे २ सय अट्ने हल निर्माणको लागि तयारी रहेको पोखरा महानगरका प्रमुख प्रशासकीय अधिकृत शेषनारायण पौडेलले जानकारी दिए ।

‘झन्डै ५० लाख लागतमा बन्न लागेको हो । त्यसको लागि टेण्डर निकाल्ने तयारीमा छ,’ उनले भने, ‘सानोतिनो कार्यक्रमलाई मध्यनजर गर्दै अर्को हल निर्माण गर्न लागेका हौं ।’ उनका अनुसार उक्त बन्न लागेको हल विकल्पको रुपमा रहनेछ । सभागृहको लागि निर्माणको काम त भइरहेको उनले बताए ।

‘हल निर्माणको लागि धेरै काम गरेका छौं तर लथालिंग धेरै भएकोले काम गरेजस्तो देखिएन,’ उनले भने, ‘प्राविधिकको कमीले गर्दा पनि समयमै पूरा गर्न नसकेको हो ।’ पोखरा महानगरले भने पुसदेखि महानगरले सभागृह हलको मर्मत कार्य सुरु भइसकेको दाबी गरेको छ ।

पहिलो चरणमा बाहिरी आवरणमा रङ र तारबार लगाएको उनी बताउँछन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.