www.tandavnews.com
Fact ~ In search of truth

पोखरा विश्वविद्यालयको स्ववियू निर्वाचन : वाम विद्यार्थीमा बार्गेनिङ, नेविसंघमा ‘गुट पावर’को व्याटल

शुसन घिमिरे
पोखरा ,ताण्डव न्यूज ।

आगामी चैत्र २१ गते हुन गइरहेको पोखरा विश्वविद्यालयको स्ववियू निर्वाचनको संगठन दर्ताबाटै बिवादमा रुमलिएका विद्यार्थी संगठनहरुले उम्मेदवारी दर्ताको लागी ठूलै कसरत गरिरहेका छन् ।

पोखरा बिश्वबिद्यालयको इतिहासमै पहिलो पटक हुन गइरहेको निर्वाचनको मतदाता नामावली समेत सार्वजनिक भैसकेको छ ।

Batas

अनेरास्ववियू , अखिल क्रान्तिकारी , नेपाल विद्यार्थि संघ , अखिल क्रान्तिकारी विप्लव, संघीय समाजवादी विद्यार्थी, अखिल छैटौं लगायतका विद्यार्थी संगठनहरुले निर्वाचनका लागि आ–आफ्नो संगठन दर्ता गराएका हुन् ।

नेविसंघमा आन्तरिक किचलो

संगठन दर्ताबाट विवादित बनेको नेपाल विद्यार्थी संघ भित्र सभापतिको लागी हानथाप देखिएको छ ।  संगठन दर्ता क्रममा ३ वटा समूहले नेपाल विद्यार्थी संघबाट दर्ता गरेका हुन् ।  यद्यपि विश्वविद्यालयले तीन समूह मध्ये संगठनको आधिकारीक दर्ता भने स्वतन्त्र बस्नेत समूहबाट मात्र भएको जनाएको छ ।  बस्नेत पोखरा विश्वविद्यालयका नेपाल विद्यार्थी संघका सभापति हुन् ।

नेविसंघ बाटै स्ववियू निर्वाचनका लागि सभापतिको दाबेदार मानिएका डिफान भुजेलले नेबिसंघ केन्द्रीय अध्यक्ष नैनसिहं महरको हस्ताक्षर भएको पत्र ल्याएर संगठन दर्ता गराएका थिए ।

विश्वविद्यालयका नेविसंघ नेता रामचन्द्र बराल समूहले पनि आफ्नो समूह दर्ता गराएको हो । नेविसंघ भित्रको यो विबाद अझै बढ्न सक्ने देखिएको छ । तीन समूह मध्ये सभापतिको टिकट नपाउनेले स्वतन्त्र उम्मेद्वारी दिने निश्चित देखिएको नेविसंघ निटकका एक विद्यार्थी नेताले बताए । आफूले टिकट नपाए स्वतन्त्र उठ्ने सभापतिको दाबेदारी गर्दै आएका विद्यार्थी नेताहरुले स्वयम् सो कुरा बताउँदै आएका छन् ।

नेताहरुमा देखिएको विबादका कारण कार्यकर्ताहरुमा चुनावको अपेक्षित नतिजा प्रति अनेक शंकाहरु देखिन थालेको छ ।

केन्द्रबाट अध्यक्षको पत्र आइसकेपछि त्यो नै आधिरिक मानिन्छ र त्यसलाई नै स्विकारेर अगाडी बढिने नेबिसंघ केन्द्रिय सदस्य भानु ढकालले बताए ।  उनी भन्छन्, ‘टिकट दिने सन्र्दभमा लोकप्रियता ,क्रियाशिलता, क्षमताका आधारमा जो बलियो देखिन्छ त्यसलाई नै आधिकारीक उम्मेद्वार बनाइनेछ ।’  उनले संगठनको आधिकारिक उम्म्ेद्वार बाहेक अरु कसैले संगठन भित्रैबाट बागी वा स्वतन्त्र उम्मेदवारी दिए कडा कार्वाही गरिने बताए ।

केन्द्रीय नेता पोखरामा
नेविसंघले आज आकांक्षी उम्मेद्वारहरुसंगको छलफल कार्यक्रम गर्दै छ । नेविसंघका केन्द्रीय अध्यक्ष नैनसिंह महर, उपाध्यक्ष पुष्प कुमार शाही लगायतका केन्द्रीय नेताहरु पोखरा आइपुगेका छन् ।

देउवा निकट मानिने केन्द्रीय अध्यक्ष महरको पत्र ल्याएका डिफान भुजेललाई नै पार्टीको आन्तरिक समूहबाट सहयोग मिल्ने देखिन्छ ।
पछिल्लो समय कांग्रेसको आन्तिरक राजनीतिमा हावि मानिएको देउवा समूहको साथ र सर्मथन पाएका भुजेलले नै सभापतिको टिकट पाउने सम्भावना बढेर गएको देखिन्छ ।

आसन्न विश्वविद्यालयको स्ववियू निर्वाचनमा नेबिसंघका तर्फबाट डिफान भुजेल, स्वतन्त्र बस्नेत र गोपि तिवारी चर्चामा रहेका सभापतिका आकाँक्षी हुन् ।

वाम विद्यार्थी बार्गेनिङ
एकता प्रकृयामा रहेका दुई वाम पार्टी नेकपा एमाले र नेकपा माओवादी केन्द्रका विद्यार्थी संगठनहरुले बेग्ला बेग्लै संगठन दर्ता गराएका छन् ।
अनेरास्ववियूका नेता देखि कार्यकताहरु समेत वाम एकताको मर्म अनुरुप अगाडी बढ्न चाहिरहेको बेलामा विश्वविद्यालयको स्ववियू निर्वाचनमा भने वाम विद्यार्थी बीचको तालमेल नमिल्नाले अपेक्षाकृत नतिजामा असर पर्ने देखिन्छ ।

यता अखिल क्रान्तिकारीका माथिल्लो तहका नेताहरुपनि आफुहरु एकताको मर्म अनुरुप अगाडी बढ्न खोजे पनि तल्लो तहका कार्यकर्ता पंक्तिलाई बुझाउन नसकिएको तर्क गर्छन् ।

यि दुई संगठन बीच भागबण्डा नमिल्दा एक्ला एक्लै चुनाव लड्ने सम्मको अवस्था निश्चित जस्तै भएको देखिन्छ ।  अनेरास्ववियूले सभापतिमा सुनिल तिमिल्सिनालाई उम्मेद्वारको रुपमा उभ्याउने पक्का पक्की छ ।

अखिल क्रान्तिकारीबाट कुनै पनि नाम चर्चामा आएको छैन् । दुई संगठन मिलेको खण्डमा पनि तिमिल्सिना नै सभापतिको रुपमा रहने छन् भने अन्य पदमा भागबण्डा हुनेछ । लगातार आन्तरिक छलफलमा जुटेका वाम विद्यार्थी संगठनहरु बीच अहिले सम्म मिलेर अगाडी बढ्ने सम्भावना देखिएको छैन् ।

अनेरास्ववियू केन्द्रीय सदस्य आर्शिवाद सुवेदीले अन्य स्थानमा वाम विद्यार्थी एकता के कसरी भयो भन्दा पनि पोखरा विश्वविद्यालयमा कुन संगठनको धरातल के हो भन्ने आधारमा गरिनुपर्ने पक्षमा आफूहरु रहेको बताए ।

स्रोतका अनुसार स्ववियू निर्वाचनमा अखिल का्रन्तिकारीले ६०÷४० को भागबण्डा खोजेको छ ।  तर विश्वविद्यालयमा क्रान्तिकारीको संगठन अवस्था कमजोर रहेको कारणले उक्त भागबण्डामा सहमति गर्न नसकिने अनेरास्ववियूका नेताहरुको आसय छ ।

स्ववियूमा अखिल का्रन्तिकारीले सचिवको दाबेदारी गरेको छ । जुन अनेरास्ववियूले मान्न तयार छैन । क्रान्तिकारीलाई कोषाध्यक्ष सहित केही प्रत्यक्ष सदस्य दिन आफू तयार रहेको अनेरास्ववियूका नेताहरु बताउँछन् ।

अनेरास्ववियूले सचिवमा पोखरा बिश्वबिद्यालयमा स्ववियू स्थापनाका लागि पछिल्लो समय लागि परेका चर्चित विद्यार्थी नेता सुरज परियारलाई उठाउने तयारी गरेको छ ।

अनेरास्ववियू पोखरा विश्वविद्यालयका एक पूर्व विद्यार्थी नेताले भने ‘सुरज व्यक्ति होइन मुद्दा हो, सुरजको बिषयमा सम्झौता गर्न सकिदैन ।’ यता क्रान्तिकारीले भने सभापति पाए अरु सबै छोड्न सक्ने सर्त समेत अनेरास्ववियू समक्ष राखेको छ ।

मंगलबार अनेरास्ववियूका केन्द्रीय महासचिव ऐन महर पोखरा आउने भएका छन् ।

नामका स्वतन्त्र उम्मेदवार
विद्यार्थी नेता सुवास पौडेलले स्वतन्त्र रुपमा सभापतिको दाबेदार भन्दै मत मागिरहेका छन् ।  आफु तटस्थ रहेको भन्दै स्वतन्त्र उम्मेदवारी प्रस्तुत गर्दै मत समेत माग्न थालेका छन् । तर उनि आफैमा स्वतन्त्र भने होइनन्, पौडेल नयाँ शक्ति विद्यार्थी यूनियनको स्थापना देखि नै सोहि संगठनमा लागेर काम गर्दै आइरहेका विद्यार्थी नेता हुन् ।

नयाँ शक्ति विद्यार्थीका केन्द्रीय महासचिव नेत्र चापागाईले आफ्नो संगठनको आधिकारीक उम्मेद्वार भन्दै पौडेललाई सामाजिक संजाल मार्फत बधाई समेत दिएका छन् ।

नयाँ शक्तिका एक केन्द्रीय नेताका अनुसार पौडेल आधिकारिक रुपमा उम्मेद्वार बनाउने वा नबनाउने बारे छलफल भैरहेको छ । पौडेलले आफु स्वतन्त्र उठेतापनि पार्टीसंगको सहयोग भने मागेको बताए ।

उनी सांगठनिक रुपमा नयाँ शक्तिकै विद्यार्थी हुन् तर आफुलाई स्वतन्त्र उम्मेद्वारी दिने भनेका छन् फेरि संगठनको सहयोग पनि मागेका छन् उनले भने भाईको दुई चरित्र देखिएको छ । यसबारेमा हामी छिट्टै छलफल मार्फत निर्णयमा पुग्छौं ।

पौडेलले पोखरा विश्वविद्यालयका क्रियटिभ विद्यार्थीहरु संगठित रहेको समुह क्रियटिभ ग्रुपको कार्यक्रम नयाँ शक्ति विद्यार्थी यूनियनको आर्थिक सहयोगमा कार्यक्रमहरु समेत संचालन गर्दै आइरहेका छन् ।

को कहाँ बलियो

पोखरा विश्वविद्यालय केन्द्रीय क्याम्पसमा स्कुल अफ इन्जिनियरिङ, स्कुल अफ हेल्थ एण्ड साइन्स, स्कुल अफ बिजनेश र स्कुल अफ डेभलपमेन्ट एण्ड सोसियल इन्जिनियरिङ गरि ४ वटा स्कुल रहेका छन् ।

यि चार मध्येका बिभिन्न संकायमा कक्षागत रुपमा आफ्नो अवस्था कस्तो छ भनेर संगठनहरु जोडघटाउ गरिरहेका छन् ।  विश्वविद्यालयले सार्वजनिक गरेको मतदाताको नामावली अनुरुप कुल २ हजार ८० मतदाता रहेका छन् ।

चारवटा स्कुल मध्ये इन्जिनियरिङमा अनेरास्ववियु बलियो मानिन्छ । इन्जिनियरिङमा धेरै क्रियाशिल विद्यार्थी हुदाँ अनेरास्ववियूलाई टिकट वितरणमा पनि उत्तिकै समस्या हुने देखिन्छ ।

त्यसो त चार वटै स्कुलमा आफ्नो संगठनको बलियो उपस्थिती रहेको अनेरास्ववियू पोखरा विश्वविद्यालय केन्द्रीय कमिटि अध्यक्ष नेशन शर्माको दाबी छ ।

स्कुल अफ बिजनेशमा नेपाल विद्यार्थि संघ औसतमा केही प्रभावशाली मानिन्छ । उसले यस अन्र्तगतका सबै संकायलाई आफ्नो भोट बैंकको रुपमा मान्दै आएको छ ।

अनेरास्ववियूका नेताहरु भने बिजनेशमा आफूहरु कमजोर नभएको दाबी गर्दै आएका छन् ।

त्यस्तै हेल्थ एण्ड साइन्समा भने क्रान्तिकारी तुलात्मकरुपमा अन्य स्कुल भन्दा केहि बलियो मानिन्छ । यद्यपी पछिल्ला बर्षहरुमा क्रान्तिकारी कमजोर बनेको छ ।

त्यसो त विश्वविद्यालयमा मधेशी विद्यार्थीहरुको उपस्थिती पनि राम्रै छ । मधेशको प्रतिनिधित्व हुने गरि संघीय समाजवादी विद्यार्थी यूनियनले पनि संगठन दर्ता संगै आफ्नो टिमको उम्मेद्वारी दिएको खण्डमा मधेशी मूलका विद्यार्थीहरुको मत त्यता बढि जानेछ । यद्यपि, अन्य संगठनहरुले पनि मधेशी विद्यार्थीहरुलाई स्थान दिएको खण्डमा भने त्यो मत बिभाजित हुने निश्चित छ ।

स्ववियू निवार्चनको कार्यतालिका अनुसार चैत्र १४ गते उम्मेद्वारी दर्ताको समय तोकिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.