www.tandavnews.com
Fact ~ In search of truth

बच्चा पाउने कि निकाल्ने ?

पोखरा, ताण्डव न्यूज
ईश्वर देवकोटा/अर्जुन गिरी

नदीपुर घर भएकी मीरा अधिकारी युकेमा करिब दशक बसेर आमा बन्न नेपाल आइन् ।

मीराले आफू आमा हुनु भन्दा २ महिना अघि नै एउटा सोच बनाएकी थिइन् । पहिलो सन्तान जन्माउन लागेकी मीराले आफू आमा बन्ने चाहना भएपनि बच्चा जन्माउँदाको पीडा व्यहोर्न तयार थिइनन् ।

Batas

बच्चा पाउन डर लागेको कुरा परिवारसँग भनिन् । श्रीमान्सँग गरेको गुनासो सम्बोधन भएपछि मीराले बच्चा त जन्माउने भइन् तर अप्राकृतिक रुपमा अर्थात् (अप्रेसन) गरेर । आफ्नी दिदी र साथीहरुले भनेको आधारमा मीराले बच्चा पाउँदाको पीडा नव्यहोर्ने निर्णय लिइन् ।

मीराकी जेठानीले अप्रेसन नगर्न सल्लाह दिइएकी थिइन् । बच्चा र आमा दुबैको अवस्था राम्रो भएको हुनाले उनले दिएको सल्लाह निकै राम्रो थियो । ‘नाइँ दिदी डर लाग्छ, अप्रेसन गरेपछि एकछिन दुख्ला तर बच्चा पाउन सक्दिन’ भनेर मीरा रोएको देखेपछि उनको मन पनि पग्लियो । अन्ततः मीराले अप्रेसन गरेर छोरी जन्माइन् ।

यस विषयमा कुराकानी गर्दा मीराकी ७८ वर्षीया हजुरआमा मनमायाको धारणा बेग्लै थियो । ‘दुखाइ सहन नसक्ने पनि कस्तो आमा बन्न मन लागेको,’ हजुरआमाले पनातिनी हातमा लिदैँ भनिन्, ‘अचेलका केटीहरु दुःख सहन पनि सक्दैनन् ।’ आफूले ६ वटा सन्तान जन्माएको सुनाइन् । ‘हाम्रो पालामा हिड्दाँ हिड्दैँ बच्चा पाइन्थ्यो,’ छ दशक अघिको कुरा सम्झदैँ उनले भनिन्, ‘अहिलेका त घरमा मजाले बसेर आराम गर्दा पनि बच्चा जन्माउन डराउँछन् त्यसै माथि बुढासँगै हुन्छन् ।’

छोरीमा दुःख भोग्न सक्ने शक्ति भएको हुनाले आमा बन्ने सौभाग्य प्रकृतिले नारीलाई दिएको उनको तर्क छ । ‘आमा त्यसै भइन्छ त, सहन सक्ने शक्ति हुनुपर्छ,’ उनले भनिन्, ‘अहिलेकाले त बच्चा पाउने होइन चिरेर झिकाउँछन्, मलाई फिटिक्कै चित्त बुझ्दैन ।’

मीरा जस्तै रोजिनाले पनि आफू र पेटमा भएको बच्चा स्वस्थ हुदाँहुँदै अप्रेसन नै गरेर बच्चा जन्माइन् ।

डाक्टरसँग देखाउँदा प्राकृतिक रुपमै राम्रोसँग जन्मने रिपोर्ट आएपनि रोजिना भने मानसिक रुपले तयार थिइनन् । रोजिनाका श्रीमान् भुवन भने त्यो कुरामा सहमत थिएनन् । अप्रेसन गर्दा पछि दुःख पाएको धेरै घटना प्रत्यक्ष भोगेको हुनाले भुवन नर्मल रुपमा नै बच्चा जन्माइदिए हुन्थ्यो भन्ने पक्षमा थिए ।

रोजिना नै तयार नभएपछि अप्रेसन गरेर छोरा पाएको भुवनले सुनाए । ‘म मेडिकल फिल्डकै भएको हुनाले अप्रेसन गर्दाको बेफाइदा मलाई राम्रोसँग थाहा थियो,’ उनले भने, ‘जब प्राकृतिक रुपमै बच्चा राम्रोसँग जन्मन सक्छ भने किन अप्रेसन गर्ने भन्ने थियो उनी नै मानिनन् अनि के गर्ने ?’ पहिलो पटक अप्रेसन ग¥यो भने दोस्रो पटक पनि अप्रेसन गर्नु पर्ने सम्भावना बढी हुने उनले सुनाए । ‘पहिलो पकट नै अप्रेसन गरेपछि अर्को पटक पनि अप्रेसननै गर्नु पर्ने सम्भावना बढी हुन्छ,’ उनले भने, ‘मेरो चाहना पनि दुई सन्तान कै हो, अर्को पटक पनि अप्रेसन नै गर्नु पर्ने हो कि अहिले देखि नै डर लागेको छ ।’

सम्बन्धित परिवारले भनेको आधारमा नभई आवश्यक परेको खण्डमा अप्रेसन गर्न लगाइने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) का मेडिकल रेकर्ड अधिकृत भीमप्रसाद पौडेलले बताए ।

२०७४/७५ साउनदेखि चैतसम्मको प्रस्सूतिको विवरण दिँदै पौडेलले २५ प्रतिशतको अप्रेसन गरेर बच्चा निकालिएको बताए । विवरण अनुसार साउनमा ७ सय ९४ बच्चा जन्मिए जस मध्ये ५ सय ४९ नर्मल र २ सय १८ जना अप्रेसन गरेर निकालियो ।

त्यसैगरी भदौमा ७ सय ५१ जसमा ५ सय १४ नर्मल र २ सय १० अप्रेसन, असोजमा ७ सय ७९ जसमा ५ सय ७३ नर्मल र १ सय ७१ अप्रेसन, कात्तिकमा ८ सय ३१ जसमा ६ सय १२ नर्मल र १ सय ८३ अप्रेसन, मंसिरमा ८ सय ९ जसमा ५ सय ९४ नर्मल र १ सय ७७ अप्रेसन, पुसमा ७ सय ४४ जस मध्ये ५ सय ४० नर्मल र १ सय ६९ अप्रेसन, मागमा ७ सय १२ नर्मल जस मध्ये ४ सय ९९ नर्मल र १ सय ८४ अप्रेन, फागुनमा ६ सय ३१ जस मध्ये ३ सय ९८ नर्मल र २ सय ८ अप्रेसन र चैत्रमा ६ सय ७ जस मध्ये ४ सय १२ नर्मल र १ सय ७६ अप्रेसन गरि बच्चा निकालिएको छ । यसरी हेर्दा ९ महिनामा कुल ६ हजार ६ सय ५८ बच्चा जन्मिए जस मध्ये ४ हजार ६ सय ९१ नर्मल र १ हजार ६ सय ९६ अप्रेसनबाट बच्चा निकालिएको छ ।

अन्धविश्वासले चिरिन्छ आमाको पेट

अरु श्रीमती जस्तै सुशीलालाई पनि आमा बन्ने चाहना थियो । श्रीमती सुशीलाको मात्र होइन श्रीमान् रविलाई पनि बुवा बन्ने ठूलो इच्छा थियो ।

आफ्नो तर्फबाट दुवै जनाले पहल गर्दा पनि बच्चा गर्भमा रहन सकेन । स्याङ्जा घर छाडेर मुस्ताङचोक डेरामा बस्दै आएका थिए उनीहरु । बिहे गरेको ३ वर्ष बितिसक्दा पनि सन्तान नहुँदाको पीडामा उनीहरु छटपटाई रहेका थिए ।

त्यतिकैमा एक दिन सुशीलाकी एक साथीले हेराउन आग्रह गरिन् । सुशीला आफ्नो श्रीमान्लाई लिएर हेराउन पुगिन । हेराउनेले यस वर्ष घरमा खुशी आउने बताए । त्यति भनेपछि उनीहरुमा आशा जागेर आयो । त्यो खुशी अरु नभई सन्तान प्राप्ति नै थियो । तर ५ महिना बितिसक्दा पनि कुनै उपलब्धी भएन ।

हेराएको ६ महिना पुगेपछि सुशीलाको गर्भमा बच्चा रह्यो । श्रीमान् श्रीमती मात्र होइन घर र माइती पक्ष सबै खुसी भए । करिब ४ वर्ष पछि उनीहरुको सन्तान मोह सपना पूरा हुने भएपछि हेराउने कै सल्लाहमा उनीहरु चल्न थाले ।

केही महिना बितेपछि सुशीलाले भिडियो एक्सरे गरेर बच्चा हेरिन् । पेटमा छोरा रहेछ । त्यसपछि त झन् खुसीको सीमा रहेन । सन्तान नपाएकै कारण घरको कचकच सुन्न नसकेर श्रीमान्सँग पोखरा आएकी सुशीला निकै खुशी भइन । हेराउनेले भने जस्तै भएको हुनाले उनीहरु अर्को सल्लाह मान्न पनि तयार भए । फागुन १५ गते बच्चा पाउने मिति थियो तर हेराउनेले माघ २ गते जन्माउँदा अति उत्तम हुने बताएका थिए ।

कस्तो धर्म सङ्कट ‘मानौँ त अप्रेसन गर्नु प¥यो न मानौँ त हेराउनेले भने अनुसार राम्रो भएको हो ।’ भनेर श्रीमान् श्रीमतीमा घर सल्लाह भयो ।

अन्ततः हेराउनेकै कुरा सुन्ने पक्षमा पुगे उनीहरु । बच्चा जन्माउने दिन पनि नजिकिँदै थियो । रविले सुशीलालाई लिएर पश्चिमाञ्चल क्षेत्रीय अस्पताल गण्डकी पुगे । डाक्टरले आमा र बच्चाको स्वास्थ्य ठिक छ नर्मल डेलिभरि हुने सुनाए । रविले ‘दुई हप्ता अघिनै अप्रेसन गरेर निकाल्दा हुँदैन ? ’ भनेर प्रश्न गर्दा डाक्टरले गाली गरे । अन्धविश्वासमा फसेका रविले अन्ततः प्राइभेट अस्पतालमा लगेर अप्रेसन गरि बच्चा झिकाए ।

एक प्रस्सूति तथा स्त्री रोग विशेषज्ञ डाक्टरका अनुसार अप्रेसन गरेर बच्चा पाउने एक सय जना मध्ये ४÷५ जना अन्धविश्वासकै कारण अप्रेसन गराउने गरेको पाइन्छ ।

‘हामीलाई उनीहरुले हेराएकै कारणले हो भनेर भन्दैनन्,’ उनले भने, ‘पहिलो पटक हो डर लाग्यो, मानसिक यातना भयो भन्छन् अनि अप्रेसन नगरी सुख हुँदैन ।’

 

अप्रेसन गर्दा जोखिम नै हुन्छ

डा. डेला सिंह
प्रस्सूति तथा स्त्री रोग विभाग प्रमुख
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरा

सिजरिन गर्नुपर्ने कारण कस्तो अवस्थामा आउँछ ?

सिजरिन सेक्सन भनेको कुनै पनि आमाले बच्चा सामान्य तवरबाट बच्चा जन्माउन नसकेपछि पेट चिरेर बच्चा निकाल्ने हो ।

अप्रेसन गर्नु नै सिजरिन हो पहिले पेट चिरेर पाठेघरमा पनि घाउ बनाएर चिरेर बच्चा झिक्ने सर्जिकल प्रोसेस हो ।

अब सिजरिन गर्नुको कारण भनेको नर्मल डेलिभरी हुन नसकी जसले गर्दा आमा बच्चा दुबैको अवस्था जोखिममा देखियो भने हामीले सिजरिन गर्छौं । यसरी आमा र बच्चालाई जोखिमबाट जोगाउन पनि अप्रेसन गरेर बच्चा निकालिन्छ ।

बच्चाको जन्मकुण्डली मिलाउन डेलिभरी गर्ने समय नै नपुगेको बच्चालाई सिजरिन गरेर निकालिन्छ भन्ने सुनिन्छ, यहाँ तपाईसँग त्यस्ता मानिस सिजरिनको प्रस्ताव लिएर आउँछन् कि आउँदैनन् ?

यो एकदमै गलत हो जसले गरेपनि । बाहिर सुन्नमा त आउँछ । हामीकहाँ पनि कोही–कोही फाट्टफुट्ट आउने गर्छन् । तर हामीले त्यस्तो प्रस्तावलाई वास्ता गर्ने गरेका छैनौं । जे भएपनि अप्रेसन नै हो ।

अप्रेसन भएपछि नर्मल भन्दा केही जोखिमपूर्ण त हुन्छ । त्यसमा बिरामीको घाउ पाक्नेदेखि लिएर अरु कुराहरु पनि चोट लाग्ने, पिसावको थैली, नलीमा चोट लाग्ने, आन्द्राहरुमा पनि चोट लाग्ने हुन्छ । पेट खोल्न पर्ने हुँदा जोखिम पनि उत्तिकै हुन्छ ।

आमाको खानपान र व्यायामले प्रत्यक्ष प्रभाव पार्ने उसको स्वास्थ्य क्षमताले गर्दा पनि सिजरिन गर्नुपर्ने हुन्छ कि हुँदैन ?

हुन्छ अन्तिममा आमाले सक्दै नसकेपछि सिजरिन गर्नुपर्ने हुन्छ । अझ विशेष प्रभाव त मनोवैज्ञानिक काउन्सिलिङमा पनि भर पर्दछ । सामान्यतः स्वस्थ्य आमाले सजिलै नर्मल डेलिभरी गराउन सक्छ ।

अनि अर्को कुरा भनेको बच्चा ठूलो हुने बच्चा आउने घर सानो हुँदा पनि सिजरिन गर्नुपर्ने बाध्यता आई पर्दछ । त्यसैले सबै मानिसहरुले निरन्तर शारीरिक व्यायाम र पोषण युक्त खानेकुराहरुमा विशेष ध्यान पु¥याउन आवश्यक छ ।

पहिलो बच्चा जन्माउँदा सिजरिन गरेका आमाहरुले दोस्रो बच्चा जन्माउँदा सिजरिन अनिवार्य नै हुन्छ र ?

अब, यस सन्र्दभमा भन्नुपर्दा पहिलो बच्चा जन्माउँदा सिजरिन गरेको आमाहरुले दोस्रो बच्चा जन्माउँदा मेन्टल्ली पनि सिजरिन गर्नुपर्ने हो की भन्ने नै हुन्छ ।

जोखिम पनि हुने हुँदा बेथा लाग्दा कतिको पाठेघर इन्ज्योरी हुने हुन्छ । दोस्रो बच्चा जन्माउँदा गर्नै पर्छ भन्ने पनि हुँदैन । तर चान्स हाई हुन्छ । त्यसैले पनि सिजरिन गर्नेको सङ्ख्या स्वतः बढ्ने हो ।

सिजरिनको सङ्ख्या घटाउनलाई पहिलो पटक बच्चा जन्माउने आमाहरुलाई सकेसम्म अवस्था हेरेर सिजरिन गरिदैन ।

बच्चा जन्मिसकेपछि पत्नीबाट पहिलेको तुलनामा यौन सन्तुष्टि पाउँदिन कि भन्ने भ्रमले गर्दा पतिले पत्नीलाई सिजरिन गर्न दबाब दिने गर्छन् भन्ने सुनिन्छ नि ?

यस्ता खाले प्रभाव विदेशमा एकदमै छ भन्ने सुनिन्छ । तर मेरो जानकारीमा अहिलेसम्म पाएको छैन् ।

कोही पीडा नै सहन नसक्ने, लिभर पेनमा किन जाने भनेर कोही कसैले भन्ला तर प्रत्यक्ष रुपमा नै त्यहीँ उद्देश्यले सिजरिन नै गरौं भन्ने मैले पाएको छैन ।

नेपालमा पनि होला कतै तर हाम्रो संस्थामा मलाई यसै कारण सिजरिन गरिदिनु प¥यो भन्ने प्रस्ताव कसैले गरेका छैनन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.