www.tandavnews.com
Fact ~ In search of truth

लेखनाथको सार्वजनिक जग्गा भू–माफियाले कुम्ल्याउन खोजेपछि…

पोखरा
अर्जुन गिरी/ताण्डव न्यूज

पोखरा लेखनाथ–३० मा रहेको करिव १८ रोपनी सार्वजनिक जग्गा भू–माफियाले कुम्ल्याउन खोजेका छन् । कुनै आधार बिना नेताको आड लिएर सार्वजनिक जग्गा कुम्लाउन खोजेको स्थानीयले गुनासो गरेका छन् ।

फागुन २ गते पोखरा लेखनाथ महानगरपालिका–३० शिसुवा, खयरखोरमा रहेको उक्त सार्वजनिक जग्गा आफ्नो रहेको भन्दै कल्याणी भारीको निवेदन अर्जुन भारीले बुझाएको वडा अध्यक्ष श्रीराम पोखरेलले बताए ।

Batas

‘जग्गा उनीहरुको हो भनेर केही प्रमाण छैन,’ उनले भने, ‘कुनै आधार प्रमाण बिना निवेदनकै भरमा सर्जमिन मुचुल्का गरेर प्रकृया अगाडी बढाउन मिल्दैन ।’

बिना आधार सार्वजनिक जग्गा आफ्नो दाबि गरेको अध्यक्षले सुनाए । ‘हामी जन्मेदेखी नै सार्वजनिक जग्गाकै रुपमा थियो,’ उनले भने, ‘यतिका वर्ष दाबि नगर्ने अहिले आएर बिना आधार दाबि गरेको हो ।’ त्यहाँका स्थानीयले पनि सार्वजनिक जग्गा भएको हुनाले चेतनशील महिला समूहको भवन निर्माण गरेको उनले बताए ।

‘म भन्दा पहिला अन्य वडाअध्यक्ष हुँदापनि यो जग्गाबारे कसैले दाबि गर्न आएका थिएनन्, अहिले एक्कासी आउने ?,’ उनले भने, ‘केही वर्षअघि सार्वजनिक जग्गा भएकै हुनाले संरक्षणका लागि तत्कालिन लेखनाथ नगरपालिकाबाट बजेट पनि छुट्याइएको थियो ।’

सार्वजनिक जग्गा कुनै हालतमा व्यक्तिको नाममा हुन नदिने सार्वजनिक जग्गा संरक्षण अभियन्ता तथा पोखरा–३० का वडा सदस्य चोलाप्रसाद बरालले बताए । जग्गा दाबि गर्न आधार प्रमाण हुनुपर्ने बरालले बताउँछन । ‘७ नम्बर फाराममा हकवालाको नाम छैन,’ उनले भने, ‘फिल्ड बुकमा पनि छैन, र मोठमा पनि भिडेको छैन ।’

जग्गाको आधार प्रमाण नभई दाबि गर्नु अनावश्यक भएको उनले बताए । ‘जग्गा दाबि गर्दै सजिलै सार्वजनिक जग्गा नै पाउने भए सबैले यस्तै गर्ने थिए,’ उनले भने, ‘खयरखोर वन कार्यालय अन्तर्गत डेमोरकेशन गरेको र त्यो जग्गा अहिलेसम्म कसैले दाबि गरेका थिएनन् । अहिले एक्कासी मेरो भन्दै आएर हँुदैन ।’

सार्वजनिक जग्गा भन्दा सडक पारी पट्टी भारीको जग्गा रहेको एक स्थानीयले बताए । ‘आफ्नो जग्गा बेचेर काठमाण्डाै गयो,’ उनले भने, ‘अहिले चुनावमा विभिन्न नेताको पुच्छर भएर हिँडेपछि सार्वजनिक जग्गा हात पार्न विभिन्न हतकण्डा अपनाउँदै हिडेँको छ ।’

अहिले सो ठाउँमा रोपनीको एक देखी डेढ करोडसम्म पर्ने उनले बताए । ‘२०–२५ करोड हात पार्न भारीले केही व्यक्तिलाई रकमको प्रलोभन देखाएकाे छ ।’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.