www.tandavnews.com
Fact ~ In search of truth

पुष्पा घटना : थरीथरीका किटानी

पोखरा
ताण्डव न्यूज ।

शुक्रबार एउटा घटनाले सिङ्गो पोखरालाई शोकमा परिणत गर्यो । कञ्चनपुर भीमदत्तनगर निवासी १३ वर्षिया निर्मला पन्तको बलात्कार पछि हत्या भएको घटना सेलाउन नपाउँदै पोखरामा पनि त्यस्तै प्रकृतिको घटना भएको भनि केही मिडियाले सनसनी मच्चाए ।

विशेषगरी पोखराका केही अनलाइनहरुले बलात्कार पछि हत्या आशंका शीर्षकमा समाचार प्रकाशन गरे । समाचार पढ्दा बलात्कार नै गरेर हत्या गरिएको किटान गरिएको छ ।

Batas

हुन त दुवै घटनामा एउटा चेलीले ज्यान गुमाएकी छन् । तर कञ्चनपुर र पोखरामा घटेको घटनाको प्रकृति धेरै फरक छ । निर्मलाको हकमा अस्पतालले नै बलात्कार भएको पुष्टी गरेको छ, जब कि पोखरा–१३ लामाचौरकी पुष्पा केसीको हकमा शनिबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बलात्कार नभएको कुरा व्यक्त गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख र केसीको आफन्तकै अगाडि डाक्टरले बलात्कार नभएको भनेर सार्वजनिक रुपमै बताएका हुन् ।

यहि घटनाकै विषयमा केही व्यक्तिले फेसवुकमा बलात्कारीलाई फाँसी देउसम्म पनि लेख्न भ्याएका छन्, जस्तो की उनीहरुले बलात्कार गरेको देखेका थिए ।

अचम्म लाग्ने कुरा त के हो भने यहाँ एउटा चेलीले ज्यान गुमाएकी छिन् । हत्या हो या होइन अझै प्रमाणित भएको छैन् त्यो कुरा नबुझी केही नकारात्मक मगज भएकाहरु र केही हावादारी अनलाइनहरु बलात्कार शीर्षकमा कुतर्क दिन पछि परेका छैनन् ।

अनुसन्धान गर्दै जाँदा सबै कुरा पुष्टी होलान् तर पुष्टी हुन भन्दा अघि ज्योतिष बन्दा सनसनी मच्चिएर अर्को घटना ननिम्तेला भन्न सकिदैन् ।

यस्तो घटनामा प्रहरीले फितलो अनुसन्धान गरेको भनी गुनासो विगतमा नआएका होइनन् । तर कुरा के भने प्रहरीले अनुसन्धान थालेको दुई/तीन दिनमै सबै कुरा प्रष्ट हुने गरि कहाँ खुल्छ र ?

एकातर्फ प्रहरीलाई सहयोग नगर्ने, अस्पतालको रिपोर्ट नमान्ने, सामाजिक सञ्जालमा अनावश्यक टिप्पणी गर्ने अनि बलात्कार शब्दको प्रयोग गरेर अनावश्यक तनाव उत्पन्न गराउने प्रयास भएको छ । आफ्नो अनुकुल व्याख्या गर्ने अनि नेता बन्नेको कमी पनि छैन् यहाँ ।

यस अघि धेरै घटनामा जातियता र राजनीतिक छिराएर गलत बाटो हिडिएको नजिर पनि हामी सामु छ । यस्तो घटनामा विशेष गरि मिडियाले संयमता अपनाउनु जरुरी छ ।

अरु क्षेत्र भन्दा पनि मिडियाले यस्तो कुरा ख्याल गर्नु पर्ने अग्रज पत्रकार भरत कोइरालाले बताए । ‘बलात्कार भएको हो या होइन मिडियाले भन्ने होइन,’ उनले भने, ‘कि मेडिकल रिपोर्टमा हुन प¥यो कि प्रहरीले भन्नु पर्यो ।’

अनावश्यक रुपमा केही मिडियाले अतिरञ्जित गरेको उनले सुनाए । ‘यस्तो घटनामा मिडिया जिम्मेवार भएर लेख्नुपर्छ,’ उनले भने, ‘मनपरि लेखेर हुँदैन् ।’ केही मिडियाले लेखेको समाचार हेरे पछि कोइरालाले फेसबुकमा स्टाटस समेत लेखे । ‘पोखरामा स्कुले एक बालिकाको मृत्यु शंकास्पद छ । उनको मृत्युले परिवारमात्र हैन पूरै पोखरा दुखी छ । अनुसन्धानको क्रममा रहेको विषयलाई बालात्कारको आशंका भनेर सनसनी नफैलाउँदा राम्रो । आक्रोश भन्दा पनि प्रहरीको सुक्ष्म अनुसन्धानमा सघाउनु हामी सबैको दायित्व हो ।’

घटना

गएको ७ गते बिहीबार पढाई सकेर विद्यालयबाट घर फर्कदै गरेकी पुष्पा घर भन्दा झण्डैं सय मिटर वर झरिन् ।

श्री विन्ध्यवासिनी माध्यमकि विद्यालय बाटुलेचौरको बसले घर छाड्ने क्रममा तरकारी किन्न ममीले अह्राएको भन्दै उनी बसबाट झरेकी थिइन् । उनीसँगै सवार कक्षा १ मा पढ्ने बहिनीलाई झर्न भनेपनि बहिनीले आफू सिधैं घर जाने बताईन ।

बसबाट झरेसँगै उनी बिहीबार पूरा रात बेखबर बनिन् । एक्कासी भोलिपल्ट शुक्रबार पोखरा–१९, फापरतरो स्थित शैलजा स्मृति पार्कको पछाडिको भीर मुनि उनको शव फेला पर्यो ।

अनुसन्धानमा खटिएका प्रहरीका अनुसार पुष्पाको देब्रे भाग लतारिएको छ । स्कुले ड्रेसको जामा फुकालिएको देखिन्छ । चश्मा लगाईरहने पुष्पाको चश्मा र जुत्ता फुत्किएको छ ।

गोरो छाला भएपनि उनको शरिरमा कतै बाहिरी चोट भने नदेखिएको प्रहरीले जनाएको छ । उनको अण्डरगार्मेन्ट र सर्ट खुलेको भने छैन् । प्रहरीको अनुसार घर भन्दा १.५ किमी दूरीमा घटना भएको हो । फापरतरो भन्ने स्थानमा झाडी भएपनि केही नजिककै दूरीमा नै घरहरु पनि छन् ।

भीरबाट १२ मिटर तल र भिरालो जमिनको १० मिटर परसम्म पुष्पा लछारिएको हुन सक्ने प्रहरीले जनाएको छ । पुष्पाको देब्रे खुट्टाको गोलिगाँठो भन्दा माथिको जोर्नी फुस्किएको जस्तो देखिन्छ ।

उनको शव पोस्टमार्टमका लागि क्षेत्रीय अस्पतालमा राखिएको छ । केही सेवन गरेको पनि हुन सक्ने आशंकामा प्रहरीले थप अनुसन्धानका लागि शवको पोस्टमार्टमको अन्तिम परिक्षण नआउन्जेल केही भन्न नसकिने जनायो ।

अनुसन्धानमा कमि कम्जोरी नहोस भनेर कास्की प्रहरीले केसीको केही अंग (भिसेरा) रिपोर्टको लागि काठमाडौ पठाएको छ ।

घटनाको अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले बताए । ‘घटना कसरी भयो भन्नेमा हामी केन्द्रीत रहेर अनुसन्धान अघि बढाएका छौ,’ उनले भने, ‘जहाँसम्म बलात्कारको कुरा छ, त्यस विषयमा आफन्तलाई राखेर अस्पताल प्रसाशनले जवाफ दिएको छ । डाक्टरले आफन्तलाई बलात्कार नभएको बताएका थिए । मौखिक रुपमा अस्पताल प्रशासनले यस विषयमा भनिसकेका छन् हामीकहाँ लिखित आउन बाँकी छ ।’

पुष्पाको मृत्युको खास कारण अनुसन्धान गर्न माग सहित शनिबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उनको परिवारले जोहरी दिएको छ ।

पुष्पाका अंकल धु्रव केसीले घटनाको वास्तविकता बाहिर ल्याई दोषि उपर कानूनी कारवाही हुुनुपर्ने बताए ।

विद्यालयद्वारा दोषि उपर कडा कारवाहीको माग

कक्षा ६ मा अध्ययनरत पुष्पा केसीको घटनालाई लिएर विन्ध्यवासिनी माविले शनिबार विज्ञप्ति जारी गर्दै सत्यतथ्य छानबिन गर्न माग गरेको छ ।

पुष्पाको घटनाले सम्पूर्ण विद्यालय स्तब्ध भएको भन्दै विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्य र व्यवस्थापन समिति अध्यक्ष चन्द्रा थापाले सयुक्त विज्ञप्ती जारी गर्दै घटनाको यथाशिघ्र छानबिन गरी दोषि उपर कडा कारवाहीको माग गरेका हुन् ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.