www.tandavnews.com
Fact ~ In search of truth

सम्झनामा रबिन्द्र…

पाेखरा ।

ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सातैजनाको मृत्यु भएको छ ।

ताप्लेजुङको लिङखिम र फुरुम्बु गाउँपालिकाको बीच भागमा अवस्थित सिस्ने खोलामा हेलिकप्टर दुर्घटनामा परेको हो । संघीय प्रहरी इकाइ धरानका एसएसपी शरद खत्रीका अनुसार दुर्घटनामा परेका सबै सातजनाकै निधन भएको हो ।

Batas

मन्त्री रवीन्द्र अधिकारी पोखराका हुन् । उनको मृत्युसँगै पोखरेली शोकमा छन् ।

यहाँ उनको जिवनी प्रस्तुत गरिएको छ :

बाल्यकाल

२०२६ बैशाख २२ गते आइतबार कास्की जिल्लाको भरतपोखरी गाबिस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्र प्रसाद अधिकारीका जेष्ठ सुपुत्रको रुपमा जन्मिएका रबिन्द्र अधिकारी,आफ्नो गाऊँकै श्री ब्रह्म ज्योति प्रा.बी शान्ति पंधेरा गैरागाऊं बाट प्राथमिक शिक्षा र शान्ति उदय मा.बि.(हालको उच्च माबी) बरपाण्डेथुम बाट माध्यामिक शिक्षा हासील गरेका थिए ।

बुवा इन्द्र प्रसाद अधिकारी माध्यमिक बिद्यालयका शिक्षक थिए जसका कारण पनि उनलाई शिक्षाका लागी राम्रो बाताबरण घर देखि नै थियो । सानै उमेर देखि राजनीतिक गतिबिधिमा चासो राख्ने अधिकारी विद्यालयमा अनेरास्वबियु, रेडक्रस, र क्लबहरुमा संलग्न भए ।

उनले बिद्यालयमा मात्र होइन त्यस क्षेत्रमै अनेरास्वबियुको नेतृत्व पनि गरेका थिए ।

बिद्यार्थी राजनीति र उच्च शिक्षा

प्रवेशिका उतीर्ण गर्ने बित्तिकै वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएको भए पनि केही समय पछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन शुरू गरे । बिद्यालय देखि नै राजनितिमा चासो राख्ने हुनाले क्याम्पस पुगे पछि बिद्यार्थी राजनैतिक गतिबिधिमा सक्रिय मात्रै रहेनन् , २०४४ सालमा अनेरास्वबियु पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष, २०४५ सालमा स्वबियु पृथ्वीनारायण क्याम्पस सदस्य ,२०४५ सालमा नै अनेरास्वबियु कास्की जिल्ला कमिटी अध्यक्ष,२०४७ सालमा गण्डकी अन्चल अध्यक्ष तथा अनेरास्वबियु केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन बिश्वबिद्यालय केन्द्रीय क्याम्पस किर्तीपुरमा स्वबियु सभापति निर्वा्चित भए । २०५६ सालमा अनेरास्वबियुका केन्द्रीय अध्यक्ष बनेका अधिकारी २०५३ सालमा नै स्वबियु काउन्सिल नेपालका संयोजक निर्वा्चित भएका थियो ।

विद्यार्थी आन्दोलन र जेल

पंचायतकालमा बिद्यार्थी आन्दोलन स्वतन्त्रता,प्रजातन्त्र,प्राज्ञिक स्वतन्त्रताको पक्षमा क्रियाशील थियो । पञ्चायती निरंकुशता लाई समाप्त पार्ने आन्दोलनको अभिष्ट थियो । शैक्षिक मुद्दा र माग पनि ब्यबस्था संग नै जोडिएका हुन्थे । आजको आबश्यकता संयुक्त संघर्ष प्रजातन्त्रका लागी पञ्चाएतको अन्त्य भन्ने नाराका साथ ०४६को जनआन्दोलनमा क्रियाशील रबिन्द्र पञ्चायतकालमा पटक(पटक गरी छ महीना जेल र हिरासतमा बिताए ।

०४६ सालको आन्दोलनको केन्द्र पोखरा थियो । त्यतिबेला उनि क्याम्पस, जिल्ला र सयुक्त आन्दोलन परिचालन कमिटीका हैसियतले सफल नेतृत्व गरेका थिए । ०४६को परिबर्तन पछि बिद्यार्थी आन्दोलन रचनात्मक र बढ्ता शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने बिचार राख्ने अधिकारीले पृथ्वीनारायण क्याम्पसमा त्यसलाई सफल प्रयोग र कार्यान्वयन गरे ।कलेज भवन निर्माण, क्याम्पसगेट, बाटो निर्माण, शैक्षिक बाताबरण, पुस्तकालय, रचनात्मक क्रियाकलाप शैक्षिक गुणस्तर सुधार,क्याम्पसमा बिद्यार्थीको पोशाक आदि कुराहरुमा ठुलो सुधार र परिबर्तन भयो ।

त्रिबि का स्वबियु सभापति हुदा पुस्तकालय, शैक्षिक बाताबरण, शैक्षिक गुणस्तर खेल मैदान निर्माण, प्रबेश परीक्षा, बरिष्ट प्राध्यापक हरुको सम्मान जस्ता रचनात्मक कार्यक्रम संचालन गरेर लोकप्रियता कमाएका अधिकारीले बिश्वबिद्यालयमा निरन्तर प्राज्ञिक बहस संचालन गर्थे ।अर्थशास्त्र बिभागका प्राध्यापक टि.पि चौधरी लाई बरिष्ट प्राध्यापकको उपाधि उनकै पहलमा सम्भब भएको थियो ।

शिक्षामा भएको निजीकरण र ब्यापारिकरण, प्रबिधिक शिक्षाको बिस्तार र गुणस्तरियता, सबैका लाई गुणस्तरिय शिक्षा, जस्ता आन्दोलन र राष्ट्रीयताको पहरेदारी, कालापानी मार्च, सीमा सुरक्षा अभियान, नेपाली भू –भाग डूबाउने लक्ष्मणपुर बांधको बिरोध तथा शाहज्यादा पारस शाहको ज्यादती बिरुद्द आन्दोलन, हत्यारा बस्ने दरबारमा हैंन जेलखानमा हो भन्दै पांच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने, यातायात लगाएत सार्बजनिक क्षेत्रमा ३३ प्रतिशत बिद्यार्थी सहूलियतको आन्दोलनको प्रमुख अगुवाई गरेकै कारण बिद्यार्थी आन्दोलनमा उनको नाम नमेटीने गरी लेखिएको छ ।

नेकपा एमाले-पार्टी राजनीतिमा 

२०४५ सालमा पार्टीको संगठित सदस्यता प्राप्त गर्नु भएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित भएका थिए ।

२०४०मा इलाका पार्टी कमिटीमा,२०४६र४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यस पछि लगातार जिल्ला कमिटीमा सक्रिय रहे । २०६०मा पार्टीको कास्की जिल्ला कमिटीको सचिब र ०६३ मा पनी पुनस् सचिबमा निर्वा्चित भए ।

०६२,६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमन बिरुद्दको आन्दोलनमा पटक पटक गरी पांच महिना जेल बसे ।

पार्टीको राष्ट्रीय परिषद् सदस्य, अन्चल कमिटी सदस्य भएर काम गरी सकेका अधिकारी पार्टीको राष्ट्रीय प्रतिनिधि परिषद्को सदस्य, केन्द्रीय पार्टी स्कुल बिभाग र संसदीय बिभागको सदस्य थिए ।

संसद र संबिधान सभा

२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नं ३ बाट निर्वा्चित भए पछि संसदमा खेलेको भूमिका सबै लाई अबगत भएकै कुरा हो । सार्बजनिक लेखा समितिमा रहेर जलबिद्युत,फ्रिक्योंसी,सार्बजनिक संस्थान,बैंक, उद्योग, सेना, बिकास खर्च, मेसिन रीडएबल पासर्पोट, आदि बिषयमा बिभिन्न उपसमितिमा रहेर त्यसको नेतृत्व गरी काम गरेका थिए ।

संबिधानसभामा राष्ट्रीय हितको संरक्षण समिति र युबाहरुको दबाब समिति निर्माण गरी संबिधान सभा निर्माणमा निरन्तर खबरदारी गरेका थिए । संबिधानसभा निर्माणमा सुरक्षा र अन्तराष्ट्रीय सीमाका बिषयमा उपसमितिको नेतृत्व गर्नु भएको थियो । २०७० को चुनाब पछी संसदको बिकास समितिमा सभापति रहेका थिए ।

संसद्को बिकास समितिमा रहदा नेपालमा बिकासको बहसलाई नयाँ उच्चाई दिन सफल अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य बिकास निर्माणका योजनालाई सफल बनाउन क्रियाशिल रहेका थिए । भने २०७४८ सालको संघीय संसदमा कास्की क्षेत्र नं. २ बाट निर्वा्चित भए ।

लगातार तेश्रो पटक निर्वा्चित अधिकारी हाल नेपाल सरकारको संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्री थिए ।

(रबिन्द्र अधिकारीको अफिसियल वेवसाइटको सहयोगमा)

 

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.