www.tandavnews.com
Fact ~ In search of truth

खाजा नभएर धेरै पटक भोकै पढेँ

पाेखरा
ताण्डव न्यूज ।

मैले विद्यालय पढ्ने बेलाको अवस्था अहिलेको जस्तो सजिलो थिएन ।

त्यतिबेलाको शिक्षा र अहिलेको अवस्थामा आकाश र पातालको फरक छ । मैले विद्यालय शिक्षा नारायण व्यवसायिक विद्यालयबाट सुरु गरेको थिएँ । निकै दुःखका साथ हामीले पढ्नुपर्ने बाध्यता थियो ।

Batas

हाम्रो त्यो बेलामा हरेक कुराको अभाव थियो । न त धेरै विद्यालय थिए, न त पढ्नको लागि आवश्यक पैसा नै पुग्थ्यो । मलाई निकै कठिन थियो । व्यवसायिक जीवन थिएन । पढ्नका लागि आवश्यक खर्च पु¥याउन नै कठिन थियो ।

त्यो बेलामा कहिलेकाहीँ खाली खुट्टामा पनि विद्यालय जानुपर्ने मेरो बाध्यता थियो । घरको आर्थिक अवस्था अहिलेको जस्तो बलियो थिएन ।

हरेक कुराको अभाव हुने गर्दथ्यो । म ६ वर्षको हुँदा गाउँमै शिशु कक्षाको अध्ययन गरेपछि, १ कक्षामा मात्र नारायण व्यवसायिक विद्यालयमा आएको हुँ । त्यहीँबाट नै एसएलसी सम्मको अध्ययन गरेँ । पछि जसोतसो पढ्नकै लागि काठमाडौं गएँ र मानवशास्त्रमा स्नातकसम्मको अध्ययन गरेँ । त्यहाँबाट फर्केर व्यावसायिक जीवन र राजनीति एकै पटक सुरु गरेँ ।

मैले पढ्ने बेलामा विद्यालयमा शौचालय पनि थिएनन् । त्यो बेलामा पाठ्यपुस्तक त पाइन्थ्यो तर अहिलेको जस्तो स्तरीय पाठ्यपुस्तक थिएनन् । हाम्रो बेलामा गुरुहरुलाई मान्ने राम्रो परम्परा थियो । तर आजभोलि भने विद्यार्थीहरु त्यो बेलाको जस्तो गुरुलाई सम्मान गर्ने, नैतिकतामा रहने परम्परा छैन । तर मैले संस्कृत शिक्षा पनि पढेको थिएँ ।

त्यही कारण बोली पनि राम्रो बनेको हो, मेरो बोली स्पष्ट छ । गुरुहरुसँग डर लाग्थ्यो । अहिलेका विद्यार्थीलाई घरबाटै खाजा लैजाने सुविधा छ, तर मेरो पालमा खाजा नभएर धेरै पटक भोकै पढेको थिएँ । जाडोको बेलामा पनि न्यानो पार्ने कपडा थिएन ।

सोही कारण पनि आज मैले नगरप्रमुखको रुपमा पाउने तलबलाई विद्यालयमै अक्षयकोष स्थापना गर्ने, विद्यार्थीलाई खाजाको व्यवस्थापन गर्ने, पोसाक वितरण गर्ने जस्ता काम गर्दै आएको छु । त्यो बेलामा पढ्न निकै गाह्रो थियो ।

आजको जस्तो बिजुली, टिभी थिएनन् । सानो टुकी बत्ति बालेर जसोतसो पढ्नुपर्ने बाध्यता थियो । सबै परिवारमा पढ्नपर्छ है भन्ने मानसिकता त्यो बेलामा त्यति धेरै थिएन । पढ्नेहरुले पनि अभावकै माझमा बसेर कडा परिश्रम गरेर पढ्ने चलन थियो । आजभोलिको जस्तो, इन्टरनेट हुने कुरा भएन, फिल्म हेर्ने आधुनिकतामा रमाउने भन्ने त्यो बेलामा थिएन ।

पढाइ र जीवनको मज्जा भनेको त प्राथमिक तहको विद्यालय हुँदा नै बढी हुने रहेछ । मेरो पालामा वीरेन्द्र शिल्ड प्रतियोगिता हुन्थ्यो । धुलोमा लड्दै, खेल्दै, हुर्किनुको मज्जा क्याम्पस पढ्ने बेलामा त किन पाइन्थ्यो र ? कसैप्रति केही कुराको गुनासो हुने थिएन । हरेक दिन रमाइलो हुन्थ्यो, अभावकै जीवन भएपनि चिन्तामा परिने थिएन ।

म विद्यालयमा रहँदा त्यस्ता फरक प्रसङ्ग भएका र अहिले झलझली सम्झिने त कुनै काम गरिएन । तर पनि म खेलकुदमा बढी सक्रिय थिएँ । मलाई हाइजम्प र लङजम्प बढी मन पथ्र्यो । एकपटक पौडिने जाँदा खोलामा डुबेको पल भने अलि बढी सम्झन्छु ।

म लगभग ६/७ कक्षामा पढ्नै थिएँ, साथीहरुसँग पौडने भनेर मोदी खोलामा गएका थियौँ । मलाई पौडिन आउँदैनथ्यो, खोलामा हाम फालेपछि हात खुट्टा चलाउन नजान्दा डुबेको थिएँ । मेरो नामराशी एउटै भएको रामचन्द्र भन्ने साथी हुनुहुन्थ्यो फलेवासको । उहाँले नै मलाई बाहिर निकालेपछि बाँच्न सकियो । सायद उहाँले उद्धार नगरेको भए मरिन्थ्यो होला ।

साथीहरुसँग हिँड्न डुल्न खुबै रमाइलो लाग्थ्यो । त्यही भएर वनभोज खान जाँदा निकै रमाइलो गर्ने गथ्र्यौँ । तर वनभोज जानको लागि लैजाने पैसा र सामान थिएन, अनि घरबाट चामल अरु केही चोरेर लगेर पनि वनभोज खाएर रमाइलो गरिन्थ्यो ।

शिक्षकहको कुटाइ खाएको, विद्यालयमा बदमासी गरेको त्यस्ता रेकर्डहरु त मेरा रहेनन् । गुरुहरुसँग पनि नजिकै हुन्थेँ म, पढाइमा मिहिनेती भएकाले पनि गुरुहरुले सम्झाइरहनुहुन्थ्यो । तर धेरै गुरुहरुको देहावसन भैसकेको छ, उहाँहरुलाई अहिले धेरै सम्झिन्छु ।

आजभोलि नैतिक शिक्षाको अभाव भएका कारण विद्यार्थीहरुले शिक्षकलाई कम मान्ने गरेको पाएको छु । पहिले जस्तो गुरुलाई श्रद्धा गर्ने परम्परा छैन ।

पहिले नैतिक शिक्षामा विशेष जोड थियो, तर आजभोलि नैतिकता र देशभक्तिको कुरा खासै हुँदैन । हरेक व्यक्तिको सोच नै ठूलो भएसी विदेश जाने भन्ने छ । तर, त्यो बेलामा देशमै बस्ने, सामाजिक काम गर्ने भन्ने हुन्थ्यो ।

हाम्रा पालामा विद्यार्थीलाई दण्ड दिने प्रचलन पनि थियो । तर आजभोलि त दण्ड दिनु नै दण्डनीय छ । हुन पनि दण्डले त पढाइ हुँदैन ।

प्रस्तुति : सञ्जय रेग्मी/पर्वत

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.