www.tandavnews.com
Fact ~ In search of truth

‘स्नेक ब्वाई’ रोहित (भिडियो)

उमा विक
पोखरा, ताण्डव न्युज ।

पोखरा छोरेपाटनका रोहित गिरी, भर्खर २१ वर्षका भए । हेर्दा पातलो जिउडाल, साथीहरुले उनलाई ‘लुरे’ निकनेम राख्दिएका छन् । पछिल्लो समय रोहितले ‘स्नेक ब्वाई ’को उपमा पनि पाएका छन् ।

उनलाई यसै यो उपमा दिएको होइन । रोहित विगत ३ वर्षदेखि पोखरा र आसपासका जिल्लामा पुगी सर्पको रेस्क्यु गर्दै आइरहेका छन् ।

Batas

मान्छे सर्प भनेपछि डराउँछन् । घरमा आएको सर्पलाई धपाउने सकेसम्म मार्ने गर्छन् तर रोहित भने सर्पलाई समात्छन्, खेलाउँछन्, घाईते सर्पलाई घरमा ल्याई ट्रिटमेन्ट गर्छन् र सुरक्षित ठाउँमा लगेर छोडिदिन्छन् ।

रोहितको सर्पसँगको लगाव, प्रेमभने ३ वर्षदेखिको मात्र होइन । उनलाई वच्चैदेखि सर्पको रङहरुले आर्कषित गर्दथ्यो ।  रोहित भन्छन्, ‘कलरफूल हुने भएर पनि होला बच्चादेखि नै सर्प मन पथ्र्यो ।’ रोहित स्कुल पढ्दा लाइब्रेअरीमा सर्पसम्बन्धी बुक थियो । त्यो बुक पढेपछि सर्पमा उनको इन्ट्रेस्ट झन् बढ्यो । बुकमा विश्वकै सर्पका बारेमा लेखिएको थियो ।

‘लाइब्रेअरीमा साथीहरु अन्य स्टोरी बुकहरु पढ्थे, तर म म्याक्सिमम टाइम त्यही सर्पसम्बन्धी बुक पढ्थे । त्यसपछि मलाई सर्पसँग झन् नजिक हुन सजिलो भयो,’ रोहित भन्छन् । रोहितले पहिलोपटक ग्रीन ट्रि पिट भाइपर (हर्रेउ)को उद्धार गरेका थिए । हर्रेउ समात्दा उनी भर्खर १२ वर्षको थिए ।

‘पहिलो पटक भएर होला हल्का डर लागेको थियो तर त्यो भन्दा बढी म मा एक्साइटमेन्ट थियो,’ रोहित पहिलो अनुभव सुनाउँछन् । कसैले सर्पलाई मार्दा रोहितको मन दुख्छ । अहिले पोखरामा कसैले कही कतै सर्प देखे वा घरमै सर्प आयो भने रोहितलाई सम्झछन् । रोहित सर्पको नाम सुनेबित्तिकै भोक, थकाई, निद्रा केही नभनी सर्प भेटिएको ठाउँमा पुग्छन् ।

केही दिन अघि मात्रै उनलाई रातिको १२ बजे फोन आयो । उनी रातमै सर्पको उद्धार गर्नलाई निस्के । रोहित सुनाउँछन्, ‘अस्ती भर्खर राति १२ बजे सर्प घरमा आयो भनेर फोन आयो । राति नै गएँ, म टाइममा पुगेन भने फेरि मार्दिन्छन्, त्यसैले पनि म रात दिन, घाम पानी नभनी सर्पको रेस्क्युको लागि पुग्छु ।’

कत्ति सर्पहरु मार्दै गर्दा रोहितले रेस्क्यु गरेका छन् । घाईते सर्पलाई घरमा राखेर ट्रिटमेन्ट गर्छन् । निको नहुन्जेल रोहितले सर्पलाई घरमै राख्छन् । सर्पलाई प्लास्ष्टिकका बोत्तलमा राख्छन् । बोत्तलमा अक्सिजनका लागि प्वाल बनाएर राख्छन् ।

तीन वर्षको अवधिमा रोहितले हजार बढी सर्पलाई बचाएका छन् । तर उनीसँग एक्ज्याक तथ्यांक नभएकाले भन्दाखेरी ५ सय बढी बताउँछन् । यो समरमा मात्रै उनले विषालु र विष नभएको ७० बढी सर्पको रेस्क्यु गरे । विश्वकै लामो र विषालु सर्प किङ कोप्राको पनि उनले रेस्क्यु गरेका छन् । यो समरमा मात्रै उनले ७÷८ वटा किङ कोप्राको रेस्क्यु गरेको बताउँछन् ।

सर्पलाई रेस्क्यु गर्ने क्रममा रोहितलाई एक सय बढी सर्पले टोक्यो । तर उनले सर्प रेस्क्यु गर्न छोडेका छैनन् । ‘एक महिना अगाडि गोमनको फोटो खिच्ने क्रमम गोमनले आँखामा विष फालेको थियो । म आइसियुमा भर्ना नै हुनुपरेको थियो । कहिलेकाहीँ यस्तो इन्सिडेन्ट हुन्छ,’ उनी सामान्य मान्दै सुनाउँछन् । रोहित सर्प रेस्क्युसँगै फोटोग्राफी पनि गर्छन् । उनी फोटो पनि सर्पकै बढी खिच्न रुचाउँछन् ।

अध्ययन पनि…

रोहितले सर्पको रेस्क्यु मात्र होइन, सर्पबारे अध्ययन र अनुसन्धान पनि गर्छन् । र ठाउँ ठाउँमा सर्पसम्बन्धी जनचेतनामुलक सन्देश दिन्छन् । सर्प सम्बन्धी धेरै कुरा युट्युबमा सर्च गर्छन् । सर्पको रेस्क्यु कसरी गर्ने, कसरी बच्ने यी सबै कुरा उनलाई कसैले सिकाएको होइन । जबदेखि सर्पमा इन्ट्रेस्ट बढ्यो उनले युट्युबमै सबै कुरा खोज्न थाले र त्यहीबाट आइडिया लिए ।

रोहितको अनुसार नेपाल ७९ प्रकारको सर्प पाइन्छ । त्यो मध्ये २१÷२२ प्रकारका सर्प विषालु हुन्छन् । तिनीहरुले टोक्यो र समयमा उपचार भएन भने मान्छेको ज्यान जाने सम्भावना बढी हुन्छ ।

रोहितले म्याक्सिम करेत सर्पको रेस्क्यु गरेको बताउँछन् । ‘नेपालमा ६ प्रकारको करेत सर्प पाइन्छ त्यसमध्ये पोखरामा २ प्रकारको पाइन्छ । करेत सर्प दिनमा भन्दा रातिमा एक्टिभ हुन्छ,’ उनी बताउँछन् ।

रोहित विएस्सी बायोलोजि पढ्दैछन् । उनी सर्पको रिसर्च र अध्ययनका लागि विभिन्न जिल्लामा पुग्ने गरेका छन् । रिसर्च र रेस्क्युका लागि स्याङ्जा, धम्पुस, घान्द्रुक र मुस्ताङ उनी हालसालै पुगेका थिए ।

सर्प देखेर आत्तिनुपर्दैन

सर्प देखेर डराउनु नपर्ने आत्तिनु नपर्ने रोहित बताउँछन् । रोहित भन्छन्, ‘सर्पले टोक्न आउँदैन । सर्प हामीलाई देखेर डराउँछ त्यसैले भाग्न खोज्छ तर हामीले उसलाई मार्न खोज्यौ भने उसले पनि आफ्नो रक्षाको लागि हामीलाई टोक्न आउने हो ।’

घर वरपर भार, झाडी वा झ्यास भए हटाउने, जमीनमा रहेका प्वालहरु पुग्नुपर्ने, सर्प बस्ने ठाउँहरु जस्तै परालको थुप्रो, दाउराको चाङ वा ढुंगा इट्टाको थुप्रो कुनाकाप्चा वा प्वालमा चलाउनुपरेमा पहिला लामो लठ्ठीले चलाएर मात्र हातले चलाउनु पर्ने रोहित सुझाउँछन् ।

रोहित भन्छन्, ‘सर्पले टोकिहालेमा आत्तिनु पर्दैन अस्पताल गएर उपचार गरेर खासै केही हुँदैन । समयमै उपचार नहुँदा सर्पले टोकेर मान्छेको ज्यान जाने हो ।’

एनका अनुसार पोखरामा मणिपाल र पश्चिमाञ्चलमा क्षेत्रीय हस्पिटल (गण्डकी)मात्र एन्टिभेनम पाइन्छ । रोहितले हालसम्म जति पनि सर्प रेस्क्यु गरेका छन् सबै आफ्नै स्वइच्छाले गरेका छन् । यसबाट उनलाई केही आम्दानी हँुदैन । सर्प रेस्क्युका लागि कति खर्च गरे यसको उनले लेखाजोखा गर्दैन ।

उनी भन्छन्, ‘सर्पको माया लाग्छ, यसको पनि बाच्ने अधिकार छ । त्यसैले मैले खर्चको हिसाब गर्दिन ।’ रोहितको यो लगावप्रति उनको ममीको कुनै गुनासो छैन् । रोहितकी ममी सरस्वती गिरी भन्छिन्, ‘सानैदेखि किराकिरी देख्दा पनि मार्न दिदैनथ्यो, उसको इन्ट्रेस्ट सर्पमै छ त्यसैले मैले कहिले रोकटोक गर्दिन ।’

सर्पलाई रेस्क्यु गर्ने भन्दा पनि सर्पलाई मार्नुहुदैँन भनेर सचेतना जगाउनु मुख्य कुरा भएको रोहित बताउँछन् । रोहित स्नेक कन्जप्सन सोसाइटी नेपालमा आवद्ध छन् । यस संस्थाले सर्प नमार्ने, सर्पको पनि अधिकार छ भन्ने बारे जनचेतना फैलाउने र कुन प्रकारका सर्प कहाँ कति पाइन्छ भन्ने बारे अध्ययन गर्छ ।

‘सर्पलाई मार्दै जाने हो भने लोप हुँदै जान्छ । सर्प संरक्षकको लागि नेपालमा सर्पसम्बन्धी पनि कानुन बन्नुपर्छ,’ रोहित भन्छन् ।

यदि यहाँहरुको घरमा या घरवरिपरि कहिकतै सर्प देखेमा, आएमा रोहितको 9866344156 नम्बर मा सम्पर्क गर्न सक्नुहुन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.