www.tandavnews.com
Fact ~ In search of truth

सडकमै बास, भविष्य अन्धकार

विनिता सुनार
पोखरा, ताण्डव न्यूज । 

गुजु्रक कपाल । निन्याउरो अनुहार । फोहोरी लुगा, फाटेको चप्पल । गमको प्लास्टिक चुस्दै बजारलाई चौफेरो गर्ने उसको दैनिकी । दिन यसरी नै बित्छ । राति खुला आकाशलाई घर र भुइँलाई ओछ््यान सम्झेर निदाउने प्रयत्न गर्छ । उनीहरुको घर नै सडक हो, साँघुरो गल्ली हो । यस्तै अवस्थामा सडक–सडकमा भौतारीरहेको भेटिन्छन् बालकहरु । जसलाई हामी सडक बालक भन्छौं । समाजले उनीहरुलाई ‘खाते’ नामले चिन्छ ।

आफूजस्तै साथीहरु हुन्छन् उनीहरुका । कहाँ सुत्ने, के खाने कुनै टुंगो हुँदैन । गाँस, बास कपास सबैको नैसर्गिक अधिकार हो, तर उनीहरु अधिकारबाट वञ्चित छन् । गमको सहारामा हरेक रात कटाउन बाध्य छन् । विद्यालय जाने उमेरमा समूह–समूह बनाएर सडकमै प्लास्टिक, कागज सगाँल्दै बिताउँछन् उनीहरु । न त भविष्यको बारेमा उनीहरुलाई थाहा छ, न त वर्तमानको नै । बालबालिकाका लागि बनेका संघ संस्थाहरु पनि छन् । तर, त्यसका बारेमा उति चासो दिएको पाइँदैन ।

Batas

पोखरामा सडक बालबालिका

कात्तिक २७ देखि मंसिर १३ सम्मको तथ्याङ्कअनुसार पोखरा महानगरपालिकाले गरेको सडक बालबालिकाहरुको अनुसन्धानमा ७९ सडक बालबालिकाहरु दर्तामा आएका छन् । जसमध्ये ७२ जना बालक र ७ बालिका यसमा संलग्न देखिएका थिए । यसबाहेक ८ जना युवाहरु पनि रहेका छन् ।

सिद्धार्थचोक, चिप्लेढुंगा, महेन्द्रपुल, रानीपौवा, विन्ध्यवासिनी, नालामुख, बागलुङ, बसपार्क, पृथ्वीचोक, लेकसाइड, बेगनास ताल, अमरसिंह, बुद्धचोक, जिरो किलोमिटरका क्षेत्रहरुमा गरिएको तथ्याङ्कअनुसार महानगरपालिकाले यो खाका तयार पारेको हो ।

महानगरपालिकाले तयार पारेको तथ्याङ्क अनुसार तयार पारिएको खाकामा सडकमा बालबालिकाहरु आउनुको एकमात्र कारण परिवार रहेको छ । तनहुँ जिल्लामा जन्मिएका १२ वर्षीय अभिषेक नेपाली करिब ३ महिनादेखि सडकमा आएको तथ्याङ्कमा भेटिएको छ । नेपालीका अनुसार बुबाको मृत्यु भएको र आमाले दोस्रो विवाह गरेको कारण सडकमा आएको हुन् ।

१० वर्षको राज परियार आमा बिरामी भई गण्डकी हस्पिटल बसेको बेला सो ठाउँबाट सडक बालबालिकाहरुको सङ्गतमा आए पश्चात सडकमा बस्दै आएका छन् । उनको दैनिक काम भनेको बिहान उठ्ने, कवाड सङ्कलन गर्न जाने, महेन्द्रपुल क्षेत्रमा माग्ने बेलुका भएपछि निभा गल्लीभित्र बस्ने रहेको छ ।

१७ वर्षीय कोपिला तामाङ जो सानोमा अंकलले गाउँबाट पोखरा ल्याइ झगडा गरी निकालिदिए पछि अर्का १ जना अंकलकोमा बस्दै आएकी उनलाई थाहा नदिई डेरा सरेपछि उनी सडकमा आउन बाध्य भएको बताएकी छन् । हाल उनी लेकसाइड क्षेत्रमा मागेर आफ्नो जीविकोपार्जन गर्दै आएकी छन् । त्यस्तै कयौं बालबालिकाहरु छन् जुन पारिवारिक साथै विभिन्न बाध्यताको कारण सडकमा आउन बाध्य भएका हुन्छन् ।

बाललबालिका सडकमा किन आउँछन् ?

सडकमा आउने बालबालिकाहरु प्रायः अन्तरजिल्लाका रहेका छन् । त्यसमा पनि बालबालिका सडकमा आउने कारण केही अभिभावकविहीन, बुबा आमाको दास्रो विवाह, साथी सङ्गत, विपन्नताका कारण र पारिवारिक सम्बन्धमा नराम्रो भएको बाध्यताले गर्दा बालबालिकाहरु सडकमा आउने गर्छन् ।

पारिवारिक हिंसा तथा झैझगडाले पनि बालबालिकाहरुमा नराम्रो असर पर्ने हुनाले बालबालिकाहरु घर छोडेर हिँड्ने गरेको भेटिन्छ । दिनप्रतिदिन बुबाआमामा बढ्दै गएको सम्बन्ध बिच्छेद पनि बालबालिकाहरु सडकमा आउने प्रमुख कारण बनेको पोखरा महानगर महाशाखा प्रमुख निर्मला शर्मा बताउँछिन् । जब परिवारभित्र माया, ममता, स्नेह हराउँदै जान्छ तब यस्ता किसिमका घट्ना दिन प्रतिदिन हाम्रो समाजमा बढ्दै जान्छ ।

सिविन बालहितकारी परियोजना नेपालको सन् २०१६ को प्रतिवेदन अनुसार ४१ प्रतिशत बालबालिका पारिवारिक हिंसाका कारण, २७.१ प्रतिशत बालबालिका साथी संगतका कारण, १९.३ प्रतिशत परिवारको आर्थिक विपन्नताका कारण १५.९ प्रतिशत पारिवारिक विखण्डनका कारण र ३.७ प्रतिशत घरबाट भाग्नु नै अवसर हो भन्ने बालबालिका र ०.९ प्रतिशत द्वन्द्वबाट टाढा रहनका लागि सडकमा आएको बताइएको छ ।

कुलत

सडकमा हिँड्ने बालबालिका बढी असुरक्षित हुने कारण कुलत पनि हो । चुरोट खाने, गम सुँघ्नेजस्ता कुलमा फस्ने गरेको पाइन्छ । लागु पदार्थ दुव्र्यसनमा लागेकाहरुबाट सन् १९७० को दशकमा युरोपबाट सुरु भएको गम सुँघ्ने प्रचलन भारतमा हँुदै नेपालमा भित्रिएको पाइन्छ ।

सडक बालबालिकालाई भोक लाग्यो र पैसा भयो भने पनि खानाका सट्टामा गम किन्ने गरेको पाइएको छ । बालअधिकारका संरक्षणका लागि काम गर्ने दातृ निकायले समेत आजभोलि यो क्षेत्रमा लगानी गर्न छाडेका छन् । यसले गर्दा उनीहरुको अवस्था झन् जटिल बन्दै गएको छ । यौन दुव्र्यवहारमा पनि सडक बालबालिका पर्न थालेका छन् । सडक बालबालिकाको जीवन कहालीलाग्दो छ ।

सडक बालबालिकाहरुमा देखिने समस्या

कुनै पनि प्राणीलाई बाँच्नका लागि चाहिने तत्व भनेकै गाँस, बास र कपास हो । तर सडकमा बस्ने बालबालिकाहरु यी सबै कुराबाट टाढा हुन्छन् । त्यसैले भोक, प्यास मेटाउन उनीहरु गम साथै लागुऔषध जस्ता अन्य भोक नलाग्ने कुराको कुलतमा फस्छन् ।

त्यसकारण उनीहरुको स्वास्थ्य राम्रो हँुदैन । सडक बालबालिकाहरुमा पेट दुख्ने, चक्कर लाग्ने, टाउँको दुख्ने, समस्या बढी नै मात्रामा देखिएको हुन्छ । उनीहरुले खाने खानामा समस्या हुनाले समस्याबाट गुज्रिरहेका हुन्छन् । उनीहरु न त जाडोमा न्यानो भएर बस्न पाउँछन्, न त पानी पर्ने समयमा ओतमा नै बस्न पाउँछन् ।

त्यसैले सडक बालबालिकाहरु विभिन्न स्वास्थ्य समस्यामा पर्नुेका साथै जटिल जीवन गुजार्दै बसेका छन् ।

सुरक्षित संस्थाको आवश्यकता पर्दछ

 

सडक बालबालिकाको विषय १ गहकिलो विषय हो । अहिले २०७५ मा कात्तिक २७ देखि मंसिर १३ सम्म ७९ जना सडक बालबालिकाहरुको खाका तयार भएको छ ।

महानगरपालिका स्वयंले हालै व्यवस्थित तरिकाले उनीहरुका लागि संस्था खोलेर काम गर्न सम्भव भने छैन । त्यसैले पनि गैह्र संस्थाको साझेदारीमा व्यवस्थापन गर्ने भन्ने एउटा रणनीति तयार पारेका छौं । त्यसमा भइराखेको ड्रपिङ सेन्टरहरुलाई हामीले केही आर्थिक सहयोग गर्ने योजना बनाएका छौं । साथै अन्य विविध कार्यक्रम मार्फत उनीहरुको क्षमतावृद्धि गराउने योजना पनि तयार पारिएको छ ।

अहिले थोरै क्षमतामा काम भए पनि यसलाई म्यानेज गरी संस्थामा सहयोग गर्ने कामहरु बैठकबाट पनि छलफल भएको छ । त्यसैअनुसार सामाजिक विकास मन्त्रालयसँग बजेटका लागि महानगरबाट केही प्रपोजल पनि राखिएको थियो । तर, सामाजिक विकास मन्त्रालयबाट निर्णय नभएकाले केही समयका लागि काम अघि बढ्न सकेको छैन ।

सडक बालबालिकाको क्षेत्रमा काम गर्ने केही संघ सस्थाहरु छन् । जसमा सीडब्यू एसएन बालबालिकाका लागि व्यवस्थित भवन भएको संस्था हो । बच्चाहरुका लागि व्यवस्थित र सुरक्षित संस्थाको आवश्यकता पर्दछ । उनीहरु भागेर पनि हिँड्ने गर्छन् । त्यसमा अरु केही संस्थाहरुको पनि खोजीमा छौं ।

संस्थाको स्थिति कस्तो छ, भन्ने बारेमा छलफल भइरहेको छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.