www.tandavnews.com
Fact ~ In search of truth

सन्दकपुर : घामको पहिलो झुल्को

– सुरज हजारे दाहाल

इलाम जिल्लाको सबैभन्दा अग्लो उचाँइमा रहेको ठाँउ हो सन्दकपुर । नेपाली भन्दा धेरै यँहा भारतीय पर्यटकहरु आउने गर्छन् ।

विशेष गरि भारतका बंगालीहरुको यँहा ओइरो लाग्ने गर्छ । भारततिर भने नेपालको सन्दकपुरलाई सन्दक्फु पनि भन्ने गरिन्छ । समुन्द्री सतहदेखि ३३३६ मिटरको उचाँइमा रहेको सन्दकपुर इलामको मबु गाउँपालिकामा अवस्थित छ ।

Batas

सूर्योदय हेर्नको लागी महत्वपूर्ण मानिएको सन्दकपुरमा सूर्यास्तमा भने सूर्य बादलको पछ्यौरीमा लुकेको देख्न सकिन्छ । सबैभन्दा बढी हिमश्रृंखला एकै ठाउँबाट देखिने देशको एउट मात्र ठाँउ सन्दकपुर हो ।

देश बिदेशका गरि ६० भन्दा बढी हिमश्रृंखला यँहाबाट अवलोकन गर्न सकिन्छ । दोलखाको कालिन्चोकबाट देखिएकै हाराहारीमा यँहाबाट हिमाल मुस्कुराएको देखिन्छ ।

नेपाल बाहेक इन्डिया र भुटानका हिमचुचुरोहरु प्रष्ट देख्न सकिन्छ । नेपालको सगरमाथा, कंचनजंघा, कुम्भकर्ण, मकालु हिमाल तथा सिक्किमको पन्दीम, पाउहुन्री, सिनीओल्छु र जोंगसोंग अनि भुटानको कुलाकांग्री हिमाल पनि स्पष्ट देखिन्छ ।

विशेष गरि दशैं सकिए लगत्तैको मौसम हिमाल हेर्नका लागी उपयुक्त हुन्छ । त्यहि भएर दशैंको बिदा लगत्तै तर तिहार अगाडि देशका विभिन्न ठाँउ र भारतको पश्चिम बंगाल राज्यबाट थुप्रै पर्यटकहरु यँहा आउने गर्दछन् ।

तर दुःखको कुरा यो छ कि नेपाल तिरबाट सडक अति खतरनाक भएको हुँदा नेपाली पर्यटक नगन्य संख्यामा आँउने हुँदा बिदेशी पर्यटकका कारण यँहा बासबसेको नै रु १५०० तिर्नुपर्नेहुन्छ । यस क्षेत्र हिमाल र सूर्योदय हेर्नको लागी मात्र होइन रातो हाब्रे अर्थात रेड पाण्डाको लागी पनि महत्वपूर्ण छ । कोणधारी बनस्पती , चिसो मौसम पनि यँहाको विशेषता हो ।

 

जाडोमा यहाँ हिउँ पर्दा दार्जिलिङबाट जिपकाजिप बंगालीहरु हिँउ खेल्न ओइरिन्छन् । हिमाली भेग भएकोले लेक लाग्ने सम्भावना उत्तिकै हुन्छ गर्मीमा भने विभिन्न जंगली फूल जस्तै बिखे तथा लालीगुराँसका कडा बास्नाले उल्टी गराउने र टाउको घुमाउने गर्दछ ।

वैशाख लाग्नासाथ रातो र गुलाफी गुराँसले सन्दकपुर पुग्ने बाटो सिंगारेको देख्न सकिन्छ । गर्मी मौसममा पनि यहाँ बेलुकी अति जाँडो हुने हुँदा बाक्लो लुगा भने साथमा हुनुपर्दछ । नेपाली भूमि भएर पनि यँहा भारतीय रुपैयाँमा हिसाब गर्ने तरिका अचम्म छ ।

हरेक कुराको हिसाब भारतीय रुपैयाँमा गरिन्छ तर नेपाली रुपैयाँ पनि स्विकार गरिन्छ । यद्यपी जुनसुकै सेवाहरु जस्तौ खाना, पिउने कुरा, गाडी चढेको भाडा भारतीय रुपैयाँ भनेर नेपाली नोट लिन्छन् ।

भारतीय पर्यटकमात्र अधिक आउँने हुँदा मुद्रा नेपाली चले पनि हिसाब भारुमा गरिन्छ । सबै कामदारहरु नेपाली नै हुन्छन् । चिया पिएको कति भन्दा रु २० भन्छन् र बसेको रु १५०० भन्छन् र जब नेपाली नोट दिइन्छ तब भारतीय सटही अनुसार लिने गर्छन् ।

नेपाल सरकारको कुनै उपस्थिती छैन । एकजना पनि नेपाल प्रहरीका जवान यँहा भेटिदैनन् । मबु गाउँपालिका भरि चेकपोष्ट पनि छैन तर नेपाली सिमाको पारी शानका साथ बिदेशी झण्डा हरपल फरफराइ रहेको हुन्छ ।

नेपाल तिर सुविधायुक्त दुई ठूला होटल रहेका छन्, होटल शेर्पा चलेट र सनराइज होटल । यि दुई होटलले चर्को शुल्क लिने गरेका छन् ।

यसरी पुग्ने

सन्दकपुर पुग्न पोखराबाट काँकडभित्ताका लागि चल्ने बस चढेर झापाको चारआली भन्ने ठाँउमा ओर्लिनुपर्छ । दिउँसो १ बजेको बस चारआली भोलीपल्ट बिहान ५ बजे पुग्छ । त्यँहाबाट २ घण्टामा जिपमा कन्याम र फिक्कल हुँदै इलाम बजार पुगिन्छ ।

इलाम बजारबाट सानो गाडीमा १० मिनेटमा बिप्ल्याटे पुगिन्छ । बिप्ल्याटेबाट जिपमा दुई घण्टामा जमुना गाउँपालिका पुगेर बास बसेर भोलिपल्ट ६ घण्टा हिंडेर नेपाल भारत सिमानाको गैरीबास पुगिन्छ ।

त्यसपछि दार्जिलिङबाट जिप रिजर्ब गरेर आएका भारतीय पर्यटकसँग लिफ्ट माग्न सकिन्छ । जिप चढेर दुई घण्टामा सन्दकपुर पुगिन्छ । पोखराबाट सन्दकपुर र इलाम घुम्दा सबै खर्च गरि एकजनाका लागि रु २५ हजार छुन्छ ।

 

लेकखबाट थप

रारामा तालमा डुङ्गामा सरर‍…

चिया बगानदेखि प्यालासम्म …

ल्याण्ड रोभर :ओल्ड इज् गोल्ड

 

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.