www.tandavnews.com
Fact ~ In search of truth

साउन, मेहेन्दी र फेसन

 

 

 

 


विनिता सुनार

पोखरा, ताण्डव न्यूज ।

हत्केलाभरी बुट्टेदार मेहेन्दी । दुवै हातमा हरियो रंगको चुरा । चुराको बीचमा रातो कडाई चुरा । गलामा पहेँलो पोते । शरिर सुहाउँदो पहिरन । साउन महिना लागेसँगै प्रायः महिलाहरु यस्तै पोशाकमा भेटिन्छन् । वातावरणीय सुगमताले पनि हरियाली पोत्ने महिना भएर होला साउनलाई विशेष महत्वको रुपमा लिइन्छ । हरियो चुरा र मेहेन्दीले साउनको रौनकलाई चित्रित गर्छ ।

Batas

धार्मिक मान्यता अनुसार साउन महादेव शिवको महिना पनि हो । त्यसैले यो महिना भक्तजनहरु भगवान शिवको पूजा आराधाना गरी व्रत बस्ने गर्छन् । हिन्दू परम्परा अनुसार साउन महिनाभरि चोखो खाने, हप्ताको प्रत्येक सोमवार व्रत बस्ने चलन बर्षौदेखि चल्दै आएको हो । साउनमा विवाहित महिलाले शिव भगवानको व्रत बसी श्रीमान्को दिर्घायूको कामना गर्छन् भने अविवाहित महिलाले शिव जस्तै वर पाउ भन्ने विश्वासमा व्रत बसेका हुन्छन् भन्ने मान्यता विभिन्न शास्त्र र बुद्धिजीविको छ ।

महिलाको सौभाग्यलाई श्रीमान्को दिर्घायुसँग जोडिएको हुँदा त्यसैले पनि हरियो, रातो, पहेंलो रंगका पहिरन, चुरा पोते, नेलपोलिस, मेहन्दी आदि लागाई सोह्र श्रृगांरमा सजिएर साउन महिनाको व्रत बस्ने चलन छ । यति मात्र होइन पछिल्लो समय यता हरियो रंगले सबैलाई आकर्षण समेत गरेको छ । तर आजभोलि सबै लुगा, गरगहना, श्रृगांरका अनेक सामानमा फेसनले मानिसहरुमा मोह बढाएको छ ।

पहिला साउने सोमबारका दिन आफूसँग भएका गरगहना, साडी, टिका, हातमा तिउरी लगाएर लगाई चोखो खाएर व्रत बस्ने चलन थियो । तर केही बर्ष यता आएर हरेक पर्वलाई मानिसहरुले फेसनको रुपमा मनाउँदै आएको बुढापाकाहरु बताउँछन् । भारतीय टेलिभिजन तथा संस्कृतिको प्रभावले गर्दा साउने सोमबारमा पनि फेसनको ट्रेन्ड भित्रिएको छ । विवाहित हुन् वा अविवाहित महिलाहरु सबै हरियो, रातो पहेलो सिताराले भरिएको डिजाइनर पहिरनसँगै कस्मेटिक सामानहरुमा सजिएका देखिन्छन् ।

साउने सोमबारका दिन मन्दिर, गाईघाट, नदी किनारमा गई जल, वेलपत्र, दूध, फलफुल आदि शिवलिंगमा चढाउने चलन समेत छ । यो महिना भगवान शिवलाई खुसी पार्न सके अविवाहित माहिलाहरुले भनेको जस्तै पति पाउने जनविश्वास छ, त्यसै विवाहित महिलाको परिवारमा सुखः शान्ति र श्रीमान्सँगको जीवन सुखमय हुने विश्वास भएकाले पनि साउन सोमवारलाई विशेष दिनको रुपमा पनि लिइन्छ ।

साउन महिनाभरि महिलाहरु मन्दिर, बाटो, बजार, अफिस घर सबैतिर हरियो कपडा, चुरा, मेहन्दीमा सजिएको देख्न सकिन्छ । साउन महिनाले केही बर्ष यता बजारमा छुट्टै रौनक ल्याएको छ । फुटपाथ भरि मेहन्दी लगाउन बस्ने मानिसहरुको भीड देख्न सकिन्छ । त्यस साउन महिनामा चुरा, पोते, श्रृंगारका सामानले गर्दा बजार, कस्मेटिक पसलहरु, फुटपाथ, सबैमा महिलाका भीड देख्न सकिन्छ ।

हरियो चुराः मेहन्दीको क्रेज

बिशेषगरि चुरा र मेहन्दीले साउनको रौनकलाई बढाएको छ । पहिरनसँगै मिल्ने काँचका, मेटलका चुरा लगाउँदा हातको सौन्दर्यतामा अझ् आकर्षण थपिदिन्छ । विवाहित होस् वा अविवाहित महिलामा मेहन्दी र चुराले हातको शोभा बढाउने प्रतिभा कस्मेटिक सञ्चालक प्रतिभा श्रेष्ठ बताउँछिन् । ‘मेहन्दीलाई नारीले सौन्दर्यको रुपमा लिइन्छ,’ उनले भनिन्, ‘हरियो, रातो, पहेलो चुरा सबै महिलाको रोजाइमा पर्छ ।’

तर केहि बर्ष यता चुरा पनि क्वालिटिको खोज्ने गरेको उनले सुनाइन् । ‘थोरै पैसाको काचको चुरा भन्दा राम्रो मेटल चुराको डिमाण्ड गर्छन्,’ उनले भनिन्, ‘मेटल चुरा नफुट्ने हुनाले यसको डिमाण्ड बढ्दै गएको छ ।’ साउनको महिनामा अविवाहितलाई चुरा, नेलपोलिस र विवाहितलाई सौभाग्यको सामानहरु किनी आफन्त एंव साथीलाई गिफ्ट दिएको राम्रो हुन्छ भनी किन्न आउनको संख्या बढ्दो रहेको उनको भनाई थियो ।

पोखरामा रहेका चुरा पसलहरु मात्र नभई फुटपाथमा समेत मेहन्दी बेच्ने र लगाइदिन बसेका व्यापारीहरु व्यस्त देखिन्छन् । काँच, मेटलका प्लाष्टिकका चुराहरु सहित उनीहरु बस्छन् । पहिले–पहिले काँचका चुरा बढि प्रचलनमा भएपनि नफुट्ने हुनाले मेटल चुराको माग बढेको व्यवसायीहरु बताउँछन् ।

शिवको मनपर्ने महिना : साउन

पौराणिक कथा अनुसार साउन महिना भगवान शिवको महिनाको रुपमा लिइन्छ । पार्वतिले साउन महिनाभरि निराहर रही कठोर व्रत बसेर भगवान शिवलाई प्राप्त गरेको हुनाले यो महिनालाई भगवान शिवलाई मन पर्ने महिनाको रुपमा पनि लिन्छन् । साउन महिनामा भगवान शिवको पुजा गरि ॐ नमः शिवाय को जप गर्नाले उनी प्रसन्न हुने जनविश्वास छ । आराध्यदेव महादेव खुसी हुने, सदा कृपा बनाइराख्ने र परिवारको कल्याण हुने विश्वास छ ।

साउनको सोमवारलाई विशेष बारका रुपमा लिइन्छ । साउनको सोमवार लाखौ तीर्थयात्रु भारतको वैद्यनाथ धार्मिक स्थलमा भ्रमणका लागि जाने गरेको छन् । यस्तै विभिन्न मन्दिरका शिवका भक्तहरु बोलबम जाने प्रचलन पनि रहेको छ । यस्तै पोखराको केदारेश्वर मन्दिरबाट बगर गाई घाटमा गई बोलबमका भक्तजनहरु जल लिएर केदारेश्वर मदिन्रमा गई पुजा गर्छन् ।

केदारेश्वर शिव भगवानको मन्दिर भएर पनि त्यस दिनमा यहाँ भक्तजनहरुको भीड हुन्छ । यस महिना शिवको आराधाना, पुजा, व्रत गर्नाले मुत्युमाथि पनि विजय प्राप्त गर्न सकिने र महिलाहरु सौभाग्यवती हुने विश्वासले शिवालयमा दर्शनका लागि पुग्ने गरेका छन् । पछिल्लो समयमा भने साउन महिनाको मुख्य व्रत बसे अविवाहितले राम्रो वर पाउने र विवाहितहरुमा श्रीमान् श्रीमतीको सम्बन्ध सुमधुर हुने विश्वास रहेको छ ।

कलरफुल पहिरन

यस्तै पछिल्लो केहि समययता साउन महिनामा फेसनेवल हरियो, पहेलो, ओरेन्ज कलरहरमा पहिरन लगाउनेहरुको लहर बढ्दै आएको छ । साडी, कुर्ता, वान पिसहरुमा महिला दिदीबहिनीहरुलाई विभिन्न कलरफुल पहिरनमा हरियो चुरा, मेहेन्दी लगाएर सजिएको देख्न सकिन्छ ।

घुम्टो बुटिककी सञ्चालिका इन्दिरा लामिछानेका अनुसार पछिल्ला केहि बर्ष यता साउन महिनामा पनि फेसनेवल लुगाका लागि अर्डर आउने गरेको छ । ‘सबैको रोजाइमा कलरफुल सिताराले भरिएका लुगा पर्छन्,’ उनले भनिन्, ‘साउन महिनाको लागि असारको सुरुदेखि नै पहिरन बनाउन आउनेको भीड हुन्छ ।’

सुहागको प्रतीक पोते

पोते सुहागको प्रतीकको रुपमा परिचित छ । त्यसैले पनि विवाहित महिलाहरुका लागि पोतेको छुट्टै महत्व छ । साउनमा मात्र नभई विवाहित महिलालाई पोतेको सधै त्यतिकै महत्व छ । विभिन्न डिजाइन, कलरफुल खालको पोतेहरुले अहिलेको बजार लिइरहेको छ । कसैले पोतेमा तिलहरी त कसैले नौ गेडीको डिजाइनमा पहिरन अनुसार पोतेको कलर सुहाउँदो डिजाइ बनाइ लगाएका देखिन्छन् ।

यसले पनि महिलाहरुको सुन्दरतामा थप आकर्षक बढाइदिन्छ । पछिल्लो समय स्पेशल साउन महिनामा हरियो, रातो, तथा पहेलो रगं मिसिएका पोते किन्न आउनेको सख्या बढ्दो थियो भने अहिले सादा पोते नै बढी बिक्री हुने गरेको प्रतिभा कस्मेटिककी सञ्चालक प्रतिभा श्रेष्ठ बताउँछिन् ।

तिउरी पिंधेर लगाइन्थ्यो

हरिदेवी कोइराला
(प्राज्ञ/गायिका)

म सानै थिएँ । साथीभाईले साउन आउँदा हातभरी विभिन्न बुट्टा भरेर तिउरी लगाउँदा मलाई पनि हात रंगाउने रहर जाग्थ्यो । तर मलाई लगाउँन आउने थिएन । कतिपटक आफैले हातमा तिउरी लगाउन खोज्दा नजानेर ओछ्यान भरी तिउरी झर्दा आमाले गाली गर्नुहुन्थ्यो । त्यतिबेला म त्यस्तै १२-१३ वर्षकी थिएँ होला ।

त्यति बेला मेहेन्दी भन्नि नै थाहा थिएन । तिउरी पिंधेर हातमा लगाउने चलन थियो । बारीमा फुलेको तिउरीको फूललाई सिलौटामा पिँधेर हातमा लगाउने गरिन्थ्यो । तिउरी पिध्दा अमिलो मिसाइन्थ्यो । यसरी अमिलो राख्दा गाढा बस्ने, बढी रातो हुन्थ्यो । हातमा रातो बढी भयो भने भाग्यमानी भइन्छ भन्ने चलन थियो । कसैको गाढा बस्यो भने साथीहरुले श्रीमान्ले माया गर्छ भनेर जिस्काउँथें । हातमा तिउरी लगायो भने महिलालाई मुक्ती मिल्ने, आयू बढ्ने बुढापाकाहरु भन्ने गर्थे ।

बाल्यकालमा साउन लागेसँगै कसको घरमा बसेर लगाउने, कस्तो लगाउने विविध छलफल हुन्थ्यो । कसको राम्रो हुने भनेर प्रतिष्पर्धा नै हुन्थ्यो । ठूलो संख्यामा साथीको भेला बसेर तिउरी लगाइन्थ्यो । तिउरी हातमा लगाएपछि कपडाले बाधेर ओछ्यानमा खस्छ कि भनेर हलचल नगरि सुतिन्थ्यो ।

आमाले राम्रो हुन्छ, गति परिन्छ भनेर पनि तिउरी लगाउने प्रेरित गर्नुहुन्थ्यो । दिदी फुपुहरुले तिउरी लगाउन सिकाउनुहुन्थ्यो । हातमा अनेकौं बुट्टा बनाउँदा रमाइलो र रौनक नै अर्कै हुन्थ्यो ।

अहिलेको जस्तो व्युटी पार्लरमा गएर मन परेको स्टाइलमा मेहेन्दी लगाउने चलन त्यो बेला थिएन । साउनमा लगाउने तिउरीको सट्टा अहिले मेहेन्दी लगाइन्छ । तिउरी फुल आफैमा रंगीविरंगी फूल हो । त्यसले साउनको रौनकलाई थप प्रगाढ बनाउँछ । गाउँघरमा मेहेन्दी भन्दा पनि तिउरीले हात रंगाउने चलन सायद अझैं पनि छ । तिउरी लगाउँने संस्कृति हो । यसलाई परम्परागत रुपमा अपनाउन सक्नुपर्छ ।

साउन, उपवास : मासु

ज्यो. कमल पौडेल शास्त्री

महाभारतका अनुसार ‘वर्षे वर्षेक्वश्रमेधेन यो यजेत शतं समाः यस्तु मांस न खादेत तयोः पुण्यफलं समम् ।’ अर्थात लाखांै खर्च गरेर गरिने अश्वमेध यज्ञको फल हत्या हिंसा र मासु खान छोड्यो भने प्राप्त हुन्छ । त्यसैले मासु खान त्याग्नु कति उचित छ भन्ने कुरा यहाँबाट पनि पुष्टि हुन्छ । यदि हिंसाबाट धर्म हुन्छ भने पाप भनेको के हो त ?

धार्मिक, सांकृतिक र पौराणिक मान्यता अनुसारको पद्दतिलाई अवलम्बन गर्दा श्रावण महिनामा व्रत, तीर्थ, दान यज्ञको लागि अति उत्तम मानिन्छ । यस महिनामा शिव उपासनका लागि उपवासको माध्यम उपनाउन सकिन्छ । उपवासमा सत्यता सदाचारिता बहम्चर्यता आदि कुराहरु अपनाउन सकिन्छ । यसकारण आहारमा शुद्धता अपनाउदै गर्दा मासुखाने बानीलाई त्याग्नु पर्दछ ।

साउन महिना बर्षा ऋतुको पहिलो महिना हो । यस महिनामा सूर्य कर्कट राशीमा रहन्छन् । यसै महिनादेखि चन्द्रमा पनि दक्षिणायन गई कर्कट रेखा माथि पुग्ने गर्दछन् । सूर्यले दक्षिणको बाटो समाएपछि पृथ्वीको उत्तरी गोलार्धमा दिनमान घट्दै जाने र रातमान् बढ्ने प्रक्रिया सुरु हुन्छ । यसै समय देखि पितृ पक्षको सुरुवातीको संकेत पनि मानिन्छ ।

श्रावण महिनामा प्रकृति स्वरुपा पार्वतीले हरियो रुप धारण गर्ने प्रचलन रहेको छ । “अष्टादशपुराणेषु दशभिर्गीयते शिव’’ अढाइ पुराण मध्ये दश पुराणमा शिव सम्बन्धी व्याख्या पाइन्छ । “इशान सर्व विद्यानाम्’’ भगवान शिव विद्या र ज्ञानका देवता हुन् । शिव शब्दको अर्थ ‘कल्याण’ हुन्छ । त्यसकारण कल्याणको चाहना गर्ने व्यक्तिको शिव उपासना गर्नु उत्तम हुन्छ ।

यस महिनामा उपवासको माध्मबाट शिव उपासना गरिन्छ । उपवास भन्नाले भोकै रहनु वा केहि नखानु भन्ने सामान्य अर्थ वोधित हुन्छ । तर वास्तवमा उपवास भित्र आहार, व्यवहार र संस्कारमा हुने शुद्धता आदि पर्दछन् । ज्ञान शुद्धता संस्कारिता र नियमको नजिक रहनु नै उपवास हो ।

साउनमा धेरेले माछामासु खादैनन् । कतिले सोमबार अन्न समेत खादैनन् । यसको आफ्नै धार्मिक तर्क छ, तर यससंग धार्मिक तर्कमात्र जोडिएको छैन् वैज्ञानिक तर्क पनि छ । यो सिजनमा संक्रमणको भय अधिक रहन्छ । र मासुजन्य परिकारमा संक्रमणको बढी सड्ने हुन्छ । त्यही कारण यसबेला मासु खान त्यती हितकर मानिदैन् ।

 

लेखकबाट थप

सिपले बाँच्न सिकाउँछ – इन्दिरा

साहित्य र संगीतमा भण्डारीको मोह

संगीतमा भविष्य खोज्दै बबी

संघर्ष तर अर्थपूर्ण जीवन

ट्रेकिङ गाइड निर्माको सगरमाथा चढ्ने धोको

जुत्ता सिलाएर मन जित्ने मिनबहादुर

साइकलमा नेपाल घुम्ने सुमनको सपना

मोडलिङमा नानुको छलाङ

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.