www.tandavnews.com
Fact ~ In search of truth

सामाजिक सञ्जाल र मानसिक स्वास्थ्य

– दुर्गा रानामगर

एउटा भनाई थियो ‘पहिले मानिसहरु बाहिरि संसारबाट विश्राम लिन टेक्नोलोजीको संसार जस्तो टिभी, फिल्म, इमेल इन्टरनेटमा आउथे, अहिले ठिक त्यसको उल्टो टेक्नोलोजीको संसारबाट मानिस विश्राम लिन एकैछिन बाहिरी संसार अर्थात् रियालिटिमा आउँछन् ।’

नेपालमा सामाजिक सञ्जाल जस्तै फेसबुक, इन्स्टाग्राम, युट्यूब, ट्वीटर आदिमा अहिले अधिकांशको पहुँच छ । यहाँ इन्टरनेटको पहुँच नभएका घरहरु कमै होलान् । हामी होटल रेस्टुरेन्टमा जाँदा होस् अथवा कुनै कार्यालयमा अथवा कसैको घरमा जादाँ सबैभन्दा पहिला वाईफाईको पासवर्ड नै माग्दछौ । यसलाई हामी सामाजिक सञ्जालको लत लागेको भन्न सक्छौ । शहरमा मात्र नभएर अहिले गाउँघरमा पनि इन्टरनेटको सुविधा पुगेको छ । विहान उठेदेखि बेलुकी सम्म हामी सामाजिक सञ्जालको परिधिभित्र रहन्छौ । हरेकको हातमा फोन छ, हाम्रो जीवनको अपरिहार्य वस्तु भएको छ मोबाइल फोन । एकैछिन फुर्सद मिल्यो कि चिहाइहाल्छौ फेसबुक तिर, ट्वीटर तिर ।

Batas

सन् २०१८ मा सेयरकाष्ट ईनिष्यिटिभ नेपालले ३८ वटा जिल्लामा ४,१४५ जनासँग नमुना सर्वेक्षण गरेको थियो । जसमा प्रदेश नं ४ मा सबैभन्दा बढी ९९ प्रतिशतसँग मोबाइल फोनको पहुँच छ भने त्यसमा ३८ प्रतिशत हरेक दिन इन्टरनेटको प्रयोग गर्दछन् भन्ने तथ्यांक प्रस्तुत गरेको थियो ।

यस्तै प्रदेश नं १ मा ९५ प्रतिशत, प्रदेश नं २ मा ९५ प्रतिशत, प्रदेश नं ३ मा ९६ प्रतिशत, प्रदेश नं ५ मा ९६ प्रतिशत, प्रदेश नं ६ मा ९४ प्रतिशत र प्रदेश नं ७ मा ९१ प्रतिशतसँग मोबाईलको पहुँच भएको भेटिएको थियो । करिब ४ हजार जनासँग मात्र गरिएतापनि यो तथ्यांकले मोबाइल इन्टरनेटमा अधिकांश नेपालीहरुको पहुँच छ भन्ने तथ्यांक प्रस्तुत गर्छ ।

यसले एक ठाउँको समाचार अर्को ठाउँमा पुग्न सजिलो बनिदिएको छ । फेसबुकमा कसैले ठट्टामा बन्दको पोष्ट राख्यो भने त्यो यति छिट्टो फैलन्छ कि साच्चिकै बन्द हुन पुगेको अनुभव हामी सबैसँग छ । सामाजिक सञ्जालमा सबैका केही विषय लेख्दा वा राख्दा त्यसपछाडि सबैका आआफना उद्धेश्य हुन्छन् । कसैले सूचना प्रचारप्रसार गर्न, कसैको असल कार्यका लागि, कसैले आफूलाई ध्यान दियोस् भन्नका लागि, कोही साथीभाई बढाउन, कोही फुर्सदको समय काट्न आदि ।

पिट्चवर्ग विश्वविद्यालयले युवाहरुलाई सामाजिक सञ्जालले पारेको असरका विषयमा सानो सर्वेक्षण गरेको थियो । जसमा बढी समय सामाजिक सञ्जालमा बिताउनेहरुको खान्की देखि आफ्नो शारीरिक बनावट, आफूलाई अरुसँग तुलना गर्ने बानी, निन्द्रामा समस्या र डिप्रेशनको सिकारसम्म हुने गरेको भेटिएको थियो । सामाजिक सञ्जालमा देखिएको फोटो र भिडियोहरुले सामाजिक डर र चिन्ताको भय पनि उत्पन्न गराएको निष्कर्ष सर्वेक्षणले निकालेको थियो । एक तथ्यांक अनुसार मान्छेले दैनिक औसत रुपमा २ घण्टा सामाजिक सञ्जालमा आफ्नो समय खर्चिएको हुन्छन् । त्यसअनुसार पनि मान्छेले आफनो औसत आयुको ५ वर्षको समय सामाजिक सञ्जालमा खर्च गर्दछन्् । यसबाट प्रष्ट छ कि हाम्रा दैनिकिहरु यसले प्रभाव पार्दे गईरहेको छ ।

केही समयता देशभर ठाउँठाउँमा घटिरहेका डरलाग्दा घटनाहरु सामाजिक सञ्जालभरि छरपस्ट छन् । विशेषत् मान्छे मारेका घटनाहरु, त्यसमा रिपोर्टिङ्ग गरिरहेका पत्रकारका भिडियोहरु, विभत्स तस्विरहरु यत्रतत्र छन् । पत्रकारिताको दृष्टिकोणबाट राजनीति पछि बिक्ने समाचार भनेको क्राइम विधाका हुन् । सायद त्यसैकारणले नै होला त्यसघटनाको विषयमा आधा एक घण्टाको लामो अन्र्तवाता पटक–पटक सामाजिक सञ्जालमा राख्ने गरिन्छ ।

समाचारहरु सम्प्रेषण गर्नुको आफ्नै महत्व छ तर त्यहि भीडमा हामीले कतै त्यस्ता घटनालाई नै प्रश्रय त दिइरहेका त छैनौ ? कोही रोइरहेको, कोही गाली गरिरहेको आदि इत्यादि तस्विर तथा भिडियो सामाजिक सञ्जालमा पटक पटक आउँदा त्यसले कस्तो असर गर्ला ? पीडित आफन्तको रोईरहेको दृश्य पटक–पटक देखाइरहनुभन्दा त्यसको न्यायका लागि भइरहेको पहलहरुका विषयलाई फ्लोअप गरेर पनि समाचार सम्प्रेषण गर्न सकिन्छ । सायद मानवीय संवेदनाहरु छिट्टो र बढी बिक्दछन् भनेर नै त्यसलाई मात्र महत्व दिएर देखाइएको हो कि । र सामाजिक सञ्जाल प्रयोगकर्ता त्यसलाई हेर्दछौ, सेयर गर्दछौ र त्यसले झन् त्यस्ता गतिविधिहरुलाई प्रश्रय दिइरहेको पनि हुन्छ ।

हामी वयस्कहरुले त्यो घटना समाजिक सञ्जालबाट हेरिरहँदा हामीले त्यसघटनाको त्यसरी नै कल्पना गर्दछौ । त्यस्ता नकरात्मक दृश्यहरुलाई हामीले कल्पना गर्दा हामीलाई त्यसले प्रत्यक्षरुपमा नकरात्मक असर पार्दछ । नकरात्मक दृश्यहरुको निरन्तर कल्पनाले गर्दा मानसिक तनाव पनि बढ्न थाल्दछ । विशेषगरि जो पहिले नै मानसिक तनावमा छ भने त्यस्ता भिडियो र तस्विरले त्यसलाई झन् थप्दछ ।

सामाजिक सञ्जालको प्रयोग बढ्दो छ । जसका आफ्नो फाईदा बेफाईदा दुवै छ । यसलाई आवश्यकता अनुसार र राम्रो कार्यका लागि प्रयोग गरिने हो भने यसले फाइदा नै गर्दछ । तर सामाजिक सञ्जालमा बढी समय बिताउन थाल्यौ भने त्यसले नकरात्मक असर पार्दछ । र हामीले सामाजिक सञ्जालमा राख्ने र हेर्ने सामग्रीहरुमा पनि ध्यान दिएनौ भने त्यसले मानसिक असर पनि गर्दछ । नराम्रो र हेर्न नसकिने किसिमका सामग्री छन् भने त्यसलाई राखेको पेज अथवा प्रयोगकर्तालाई अनफलो अथवा अनफ्रेन्ड गर्न सकिन्छ । जसबाट ती सामग्रीहरुलाई तपाईँले देखिरहनु पर्देन ।

अहिले हामी जति नै स्वतन्त्र भएको महसुस गरिएता पनि हाम्रा स्मार्ट फोनको निरन्तर प्रयोगले हामी त्यसमा नै बाधिन पुगेका छौ । सामाजिक सञ्जाललाई कसरी र कति मात्रामा प्रयोग गर्ने भन्ने विषयले महत्व राख्छ । यसको प्रयोगबारेको सचेतनाले हाम्रो जीवन एउटा आफैमा सोसल मिडियामा परिणत हुनबाट बच्न सक्छ ।

[email protected]

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.