www.tandavnews.com
Fact ~ In search of truth

कर्कश ध्वनीको आतंक

ईश्वर देवकोटा/ताण्डव

‘लौन राति सुत्नै सकिएन टोलमा चर्को आवाज निकालेर कुद्ने बाइकलाई समाउनु पर्यो ।’ नागरिक सुनुवाई कार्यक्रममा एक महिलाले पोखेको गुनासो हो यो ।

गत वैशाख १९ गते पोखरा–२७, तालचोकमा वृहत नागरिक सुनुवाई कार्यक्रममा गरिएको थियो । त्यहाँ पोखरा–२९, सैनिक बस्ती आमा समूह गु्रप नम्बर १ की श्रीमाया गुरुङले चर्को आवाजले सुत्नै नसकिएको गुनासो राखेकी थिइन् ।

Batas

उनको गुनासो जाहेज थियो, समसामाजिक थियो । त्यही भएरनै कास्कीका तत्कालिन एसपी अशोक सिंहले सुरुमै उनीतर्फ फर्कदै टाउको हल्लाउँदै मौन सहमति जनाए ।

कार्यक्रममा बोल्ने क्रममा एसपी सिंहले चर्को आवाज निकाल्ने बाइकलाई नियन्त्रणमा लिएर कारवाही तीव्र बनाउन जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुखलाई सोही कार्यक्रम मार्फत निर्देशन दिए ।

जिल्ला प्रहरी कार्यालय कास्की र सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्र लेखनाथको सह–आयोजनामा भएको कार्यक्रम खासमा कास्कीमा बढ्दो प्रयोगमा आईरहेको लागू औषध नियन्त्रण देखि सामाजिक हिंसासँग सम्बन्धित थियो ।

तत्कालिन एसपी सिंहको निर्देशन अनुसार स्वरुप परिवर्तन (मोडिफाइड) गरी चर्को आवाज निकालेर कुदाउने मोटरसाइकल (बाइक) अहिले ट्राफिक प्रहरीको निशानामा पर्न थालेका छन् ।

प्रहरीले चर्को आवाज निकाल्ने बाइक नियन्त्रणमा लिएर कारवाही तीव्र बनाएको जिल्ला ट्राफिक कास्कीका प्रमुख एनबहादुर मल्ल बताउँछन् ।

‘चर्को आवाज निकालेर भित्रि टोल–टोलमा ओभर स्पिडमा चलाउने मोटरसाइकललाई कारवाही गरिरहेका छौं,’ उनले भने, ‘मुख्य सडकमा पनि ट्राफिकको आँखा छलेर चलाउने गरेको पाइन्छ । तर पनि वृहत रुपमा ट्राफिक प्रहरी परिचालन गरी कारवाहीको दायरामा ल्याएका छौं ।’

स्वरुप परिवर्तन गरिएका चर्को आवाजधारी बाइकमा विशेषगरी रोयल इन्फिल्ड (बुलेट), महँगो मूल्यका ठूलो सिसिका बाइकहरु टोललाई नै अशान्त बनाउने गरी कुदाउने गर्छन् ।

स्वरुप परिवर्तन गरिएका बाइकले अत्यधिक ध्वनी प्रदूषण गर्छन् । कर्कश आवाज सुनिने गरी टोललाई नै आतंकित बनाएर राति शान्तपूर्वक सुत्नसमेत नपाउने परिस्थिती बढ्दो छ ।

चर्को आवाजले सडकमा हिँड्ने बटुवा र अन्य सवारी चालक पनि उत्तिकै आतंकित हुने गर्छन् ।

प्रहरी स्रोतका अनुसार अधिकांश टिनेज उमेर समूहका व्यक्तिहरुले चलाउने तरिकामा पनि बाइकको आवाजमा भर पर्ने हुन्छ ।

बजारमा विक्री गरिने हार्टफोर्ड भीआर, क्रस फायर, होन्डा डर्ट बाइक, केटीएम डुक, एक्स क्रसलगायत बाइक मोडिफाइड गरेर चर्को आवाजमा कुद्छन् ।

टिनेज उमेर समूहका व्यक्तिहरुले मोडिफाइड गरेर बाइक चलाउँदा साथिहरु माझमा आफूलाई अलग्गै देखाउने प्रवृत्ति हाबी हुँदा पनि यस्तो समस्या देखिएको छ ।

बाइकबाट फिल्टर निकाल्ने, साइलेन्सर पाइप झिक्ने, बाइकको उचाइ बढाउने र चर्को आवाज निकालेर कुदाउने मुख्यतः सहर क्षेत्र भन्दा भित्रका बजार गल्लिहरुमा व्याप्त भेटिने ट्राफिक प्रमुख मल्लले जनाए ।

‘सम्भावित भित्रका टोलहरुमा पनि हामीले प्रहरी परिचालन गरी चेकिङ बढाएका छौं,’ उनले भने, ‘ट्राफिक नजिक पर्दा सामान्य अवस्थामा चलाउने र आँखा छलेर बेस्सरी एक्सिलेटर बटारेर कुदाउने गरेको पाइएको छ ।’

चेकिङ भन्दा बेगरको समयमा पनि मोडिफाइड भएको शंकास्पद देखिएमा ट्राफिकले बाइकको स्वरुप चेकजाँच गर्दै आएको उनको भनाई थियो ।

मोडिफाइड गरी कुदाउने बाइक प्रहरीले नियन्त्रणमा लिईसकेपछि सामान्य अवस्थामा नफर्काउँदासम्म बाइक फिर्ता गरिदैन् ।

चालकले वर्कसपबाट मेकानिक बोलाएर आफ्नो सवारीलाई साविककै स्वरुपमा परिवर्तन गरेपछि मात्रै बाइक लैजान पाउने ट्राफिक प्रमुख मल्लले बताए ।

साथै, बाइक धनीले ५ सय देखि १ हजार ५ सय रुपैयाँसम्म जरिवाना अनिवार्य तिर्नुपर्ने मल्ल बताउँछन् ।

सवारी तथा यातायात व्यवस्था ऐन, २०४९ मा सवारी साधन मोडिफाइड गर्दा यातायात कार्यालयबाट स्वीकृति लिनुपर्ने प्रावधान छ ।

सवारी धनीले ऐनको दफा ३९ बमोजिम सवारीको रङ, सिट संख्या, स्वरुप, इन्जिन वा चेसिस परिवर्तन गराउन चाहेमा त्यसरी परिवर्तन गर्न स्वीकृतिका लागि सवारी दर्ता भएको कार्यालयमा अनुसूचि–१४ बमोजिमको ढाँचामा निवेदन दिनुपर्ने ऐनमा उल्लेख छ ।

मोडिफाइड बाइक प्रहरीले नियन्त्रण लिएपछि सार्वजनिक गर्दै जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एवं एसपी ओमबहादुर राना

त्यसमा पनि सवारी निर्माता कम्पनीले सवारीको बनोट सम्बन्धमा निर्धारण गरेको विस्तृत विवरण (स्पिेसिफिकेसन) मा परिवर्तन गर्ने गरी स्वीकृति दिन पाइँदैन ।

तर, सवारी धनीले सरोकारवाला निकायबाट स्वीकृति नै नलिई बाइक मोडिफाइड गरेर चर्को आवाजमा चलाउने गर्छन् । अनुमति नलिई सवारीको स्वरुप परिवर्तन गर्नु सवारी मापदण्ड विपरित ठर्हछ ।

त्यस्ता मापदण्ड विपरितका सवारीलाई कारवाही गर्न ट्राफिक प्रहरीलाई अधिकार दिएको छ । यातायात व्यवस्था विभागले मोडिफाइड बाइक कुदाउने चालकलाई ५ सय देखि १५ हजारसम्म जरिवाना गर्न सक्ने अधिकारको अख्तियारी प्रत्यायोजन गरेको हो ।

पोखरामा ०७४ साउन १ देखि महानगर भित्र ध्वनी प्रदुषण रोक्न ‘नो हर्न’ अभियान चलाईको छ । अभियानबाट केही हदसम्म सफलता मिलेपनि चर्को आवाज निकाल्ने बाइकले ध्वनी प्रदुषण गरिरहेका छन् ।

कम्पनीबाट नै चर्को आवाज निकाल्ने बाइक बनेर आएपनि ट्राफिकको निशानामा भने पर्ने गरेका छन् । ‘एक क्रस फायर बाइक लाई हामीले मुख्यचोकबाट नियन्त्रणमा लिएर ट्राफिक कार्यालयमा ल्यायौं,’ ट्राफिक प्रमुख मल्लले भने, ‘सवारी चेकजाँच गर्दा सामान्य अवस्थामै पायौं र उनलाई बिना कारवाही छाडिदियौं ।’

ट्राफिक प्रहरीले बजार क्षेत्रलाई ध्वनी प्रदुषणमुक्त बनाउनका लागि कुनै कसर बाँकी नराख्ने ट्राफिक प्रमुख मल्लको भनाई छ ।

सवारी दुर्घटनामा मोटरसाइकलको संख्या अधिक

चालु आर्थिक वर्ष २०७४/०७५ साउन यता कास्कीमा भएका सवारी दुर्घटना तथ्यांक केलाउँदा सडक दुर्घटनामा संलग्न सवारी साधनमा मोटरसाइकलको संख्या अधिक देखिएको छ ।

साउनमा भएको सवारी दुर्घटनामा मोटरसाइकलको संख्या ६ रहेको छ । भदौ महिनामा केही बढेर ९ पुगेको देखिन्छ ।

असोजमा मोटरसाइकल दुर्घटनाको संख्या भदौको तुलनामा केही कम भई ५ पुगेको छ । कार्तिकमा पुनः असोजको भन्दा औषतमा बढेर ९ पुगेको छ ।

मंसिर महिनामा भने २ छ । पुस महिनामा औषत जस्तै ७ वटा दुर्घटनामा मोटरसाइकलको संलग्नता देखिएको छ । माघ महिनामा दुर्घटनामा संलग्नता संख्या ६ देखिन्छ ।

फागुनमा ५ पुगेको छ । चैत्र महिनामा दुर्घटनामा संलग्न मोटरसाइकलको संख्या ६ रहेको छ । वैशाख महिनामा केही संख्या औषतको तुलनामा झरेर ३ पुगेको छ ।

यसरी हेर्दा चालु आर्थिक वर्षको कास्की जिल्लामा भएका दुर्घटनामा सवारीहरुको संलग्नतामा मोटरसाइकलको मात्रै ५८ संख्यामा रहेको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट प्राप्त भए अनुसार वैशाख महिना सम्मको आँकडामा जम्माजम्मी ११३ विभिन्न सवारी साधनको दुर्घटनामा संलग्नता पाइएको छ ।

सामाजिक चेतनाकै रुपमा अभिबृद्धि गर्न जरुरी

एन बहादुर मल्ल, प्रमुख तथा प्रहरी निरिक्षक जिल्ला ट्राफिक प्रहरी कार्यालय, कास्की

विशेषगरी पोखरामा ध्वनी प्रदूषण गराउन उद्यत अर्को समस्याको रुपमा मोडिफाइड बाइकबाट निस्कने आवाजहरु पनि हुन् ।

मुख्य चोकहरुमा जहाँ ट्राफिक प्रहरीको उपस्थिती रहन्छ, त्यहाँ चालकले सामान्य अवस्थामा चलाउने । अलि पर गएपछि ट्राफिकको आँखा छलेर बेस्सरी एक्सिलेटर बटारी चर्को आवाज निकाल्ने गरेको पाइन्छ ।

यस किसिमका कारकहरुलाई निरुत्साहित बनाई कारवाहीको दायरामा ल्याउन जिल्ला प्रहरी कार्यालय र ट्राफिक कार्यालयबाट सहरका अधिकांस स्थानहरुमा जोइन्ट चेकिङ पनि गर्दै आएका छौं । मोडिफाइड बाइक नियन्त्रणमै लिन पनि अप्रेशन स्वरुप चेकिङ पनि गरिरहेका छौं ।

चेकिङमा समातिएका बाइकलाई कारवाहीको दायरामा पनि ल्याएका छौं । यस्तो समस्या मुख्य सडक भन्दा पनि भित्रका सडक र गल्लीहरुमा व्याप्त भएको पाएका छौं ।

मोडिफाइड बाइकलाई पूर्ण रुपमा निषेध गर्नका लागि कारवाहीको संयन्त्र पनि केही दरिलो बनाउन सकेमा नियन्त्रणमा आउन सक्छ की भन्ने हाम्रो आँकलन छ ।

हालसम्म हामीले नियन्त्रणमा लिएका स्वरुप विगारेर चलाउने बाइकलाई ५ सय देखि १ हजार ५ सय रुपैयाँ सम्म जरिवाना गर्दै आएका छौं । अब जरिवानाले मात्रै होइन सामाजिक चेतनाकै रुपमा अभिबृद्धि गर्नु जरुरी देख्छु म ।

फेरी अर्को कुरा यसमा के देखिन्छ भने टिनेज उमेर समूहकोले बाइकको स्वरुप बिगार्ने गरेको पाइन्छ । सर्वसाधारण वर्गले यसरी स्वरुप बिगारेर टोललाई नै आतंकित बनाउने काम गर्दैनन् । त्यस्तै झुण्ड हुन्छन् जसले टोलमा अशान्ती मच्चाइरहने गर्छन् ।

हालसालै मात्रै हामीले दुई युवाले मोडिफाइड बाइकले गरेका स्टन्ट खिचेर यूट्युवमा हालेको पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय पठायौं ।

पोखराको हकमा लेखनाथ र पामेको एरियामा अहिले केही बढी भेटिएका छन् ।

यस सन्दर्भमा केही कम्पनीबाट नै आएका बाइकहरुले पनि अन्य सामान्य बाइकको तुलनामा स्वतः बढी ध्वनी प्रदूषण गर्ने गरेका छन् ।

जसलाई रोक्नका लागि त सरकारले निश्चित कम्पनी र सवारी क्षमता सहितको सवारीलाई मात्र चल्न दिने नियम बनाउन सकेमा नियन्त्रण गर्न सकिन्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.