पोखरा,
शारीरिक सुगठनका खेलाडी कमल भण्डारी र सितेरियो कराँतेकी बिमला नेपाली वर्ष २०७४ मा सर्वोत्कृष्ट खेलाडी बनेका छन् । यस्तै, कास्की जिल्लामा वर्ष उत्कृष्ट प्रशिक्षकमा शारीरिक सुगठनका जीवन घिमिरे र उदियमान खेलाडी क्रिकेटका मेखबहादुर सेन थापा घोषित भए ।
नेपाल खेलकुद पत्रकार मञ्च, कास्कीको आयोजनामा शनिबार पोखरा सभागृहमा भएको तेस्रो टिभिएस अपाचे पोखरा स्पोर्टस् अवार्ड समारोहमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा, मुख्य प्रायोजक टिभिएसका नेपालकै आधिकारिक विक्रेता जगदम्बा मोटर्स प्रा.लि.का उपाध्यक्ष दीपक कुमार अग्रवाल, गण्डकी धौलागिरी अधिकृत विक्रेता बतास ब्रदर्श प्रालिका निर्देशक प्रमेश पराजुली, क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, मञ्चका केन्द्रिय महासचिव प्रकाश तिमिल्सिना लगायतले अवार्ड प्रदान गरे ।
उत्कृष्ट वर्ष खेलाडी पुरुषले टिभिएसको अपाचे मोटरसाइकल र महिला खेलाडीले विगो स्कुटर प्राप्त गरे । यस्तै, उत्कृष्ट प्रशिक्षकले नगद १५ हजार, उदयीमान खेलाडीलाई नगद १५ हजार साथमा वल्र्ड वाइड कनेक्सनबाट सामसुङ मोबाईल प्रदान गरियो ।
यसवर्ष लाईफटाईम अचिभमेन्ट अवार्ड प्रा.डा. वीरेन्द्रसिंह गुरुङलाई प्रदान गरिएको छ । कास्कीमा हक्की, टेनिस र क्रिकेट खेल भित्राउनका साथै पोखरा रंगशालामा पर्खाल निर्माणमा उल्लेखनीय योगदान दिएका गुरुङलाई अवार्डका साथ दोसल्ला र सम्मानपत्र अर्पण गरियो ।
बर्ष उत्कृष्ट खेल संघबाट कास्की जिल्ला ब्याडमिन्टन संघलाई सम्मान गरियो । संघ सुविधासम्पन्न भौतिक पूर्वाधारमा जुटेको छ । संघलाई नगद १० हजार प्रदान गरियो ।
उत्कृष्ट खेल पर्यटन पत्रकारिता पुरस्कारबाट नागरिक दैनिकका सन्तोष पोखरेललाई सम्मान गरिएको छ । नगद १५ हजार, सामसुङ मोबाईलका साथमा सम्मानपत्रबाट पत्रकार पोखेरललाई सम्मान गरियो । यस्तै, गायन मार्फत खेल क्षेत्रमा योगदान दिएकोमा गायक बिनोद बानियाँलाई समेत दोसल्ला र सम्मानपत्रबाट सम्मान गरियो ।
कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले पोखरालाई खेलकुदको राजधानी बनाउन यस्ता कार्यक्रम महत्वपूर्ण हुने बताए । उनले मञ्चका यस्ता कार्यक्रमलाई आफूले सक्दो सहयोग गर्ने बताए । पोखरा सहित इटहरीलाई खेलकुद नगरी बनाउने प्रक्रियामा रहेको उनले बताए ।
मञ्च, कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष दिननाथ बरालले स्वागत, सचिव रञ्जन अधिकारी, मन क्षेत्रीले सञ्चालन गरेका थिए ।
विविध सांगीतिक कार्यक्रमसहित सम्पन्न समारोहमा चर्चित गायक एसकुमार, बिनोद बानियाँ, अजुदा थापा, बबि सुनारले भरपुर मनोरञ्जन प्रदान गरे ।
यस्तै, जक्सन फिटनेस सेन्टरबाट जुम्बा डान्सका साथै हिमाली सांस्कृतिक परिवारले परम्परागत नृत्य प्रस्तुत गरेका थिए । साथै, केन्पोकाईं कराँतेका टोलीले प्रस्तुति दिएका थिए । १८ औं एशियन गेममा जान लागेका कराँतेका खेलाडीलाई शुभकामना समेत प्रकट गरिएको थियो ।
© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।
Comments are closed.