www.tandavnews.com
Fact ~ In search of truth

भिरजस्ता पिरहरु…

– सुमित्रा भट्टराई

जिन्दगीमा के के कुराको पिर लाग्छ हामीलाई ? सोचेजस्तो जीवनशैली जिउन नसकेको पिर, सोचेजस्तो जागिर गर्न गर्न नसकेको पिर, सपना पुरा गर्न नसकेको पिर, यस्तै अनेकन पिरका बीचमा हामी जिन्दगीको गाडी गुडाइरहेका हुन्छौँ । केही कल्पना पूरा हुन सक्दैनन् पिर बनेर मुटुमा अडिन्छन् । अनि पिरैपिरको पहाड थुप्रिदिन्छ । पिरको अर्थ चिन्ता !

एउटा गीत थियो एकताका खुबै हिट थियो ‘यहाँ पिरमा छ मान्छे, मान्छेकै भिड भित्र तर देख्ने कोही छैन कस्तो यो बिचित्र ?’ साँच्चै देख्न सक्छौँ ? त हामी अरुका पिरहरु ? भन्छन् नि, ओठमा अल्झिएको मुस्कान देखिन्छ, मनमा अड्किएको पिर देखिँदैन । पिर चिन्ता नहुँदो हो त जिन्दगी कति सुखी हुने थियो होला सबैको ।

Batas

चिन्ता मान्छेलाई मात्रै लाग्ने होइन तर अरु प्राणीको तुलनामा चेतनशिल हुनुको नाताले मान्छेले पिर अभिव्यक्त गरेका पिर लेखेर, बोलेर टाढा सम्म प्रवाह गर्न सक्छ । पिरैपिरले जिन्दगी जानेभो भन्छन् मान्छेहरु । लिएको ऋण तिर्न नसकेर परिवारसहित आत्महत्या गर्नेहरु, घरमा हेला गरेपछि पिरैपिर बोकेर माईति बसेका चेलीहरु, सन्तान नहुनुको पिरमा बसेको दम्पत्ति, सन्तान असल नहुनुको पिरमा पिल्सिएका आमा बुवा यस्तैै यस्तै ।

पिर कसलाई पो नहुने रहेछ र ? बस कति लिने भन्ने न हो । केही पिरहरु भट्टीमा ओकलिन्छन्, केही पिर गीत बनेर बग्छन् त केही पिर डिप्रेसनमा उत्रिन्छन्, अनि केही पिर मसानघाटमा चितासँगै । बस् पिरको बनावट कस्तो ? भन्ने मात्रै हो, पिर बिनाको जिन्दगी सायदै हुन्छ ।

साना ठुला पिर नबोकेको मान्छे हुँदैन, मात्र उसले पिरलाई कसरी ‘डिल’ गर्छ भन्ने न हो । मन दह्रो नभए मान्छेलाई पिरले उछिन्छ, मन दह्रो भए मान्छेले पिर उछिन्छ । फरक यत्ति न हो । अरुले नगनिदिएको, अरु सरह नपुगेको जस्ता पिर नहुने हो भने मान्छे कसरी प्रतिस्प्रर्धामा उत्रिने थियो होला, अनि प्रगति पनि त हुने थिएन ।

चिन्तालाई थोरै जतन गरेर सकारात्मक बनाउन लाग्नेहरु पनि त हुन्छन् केही । अरुका पिर हेरेर आफ्ना पिर सानो मानी अघि बढ्ने पनि त हुन्छन् केही । ठुला भनिएका पिर अर्थात् चिन्ता बोकेका केहीले सोच्छन् । जगतको सबैभन्दा पिरवान व्यक्ति मै होला । मेरो जस्तो चिन्ता कसलाई होला र ?

उहिले चेलीका चिन्ता अभिव्यक्त गर्ने पँधेराहरु सुके, वयस्कका चिन्ता पोख्ने बरपिपलका चौतारी खासै चल्तीमा छैनन् । आविस्कारकले पिर ओकल्ने नयाँ चौतारो बनाइदिएका छन् । अचेल पिर सामाजिक सञ्जालमा छ्यालब्याल भेटिन्छन्, केही स्टाटस् बनेर केही म्यासेज बनेर । अझ सुखद पक्ष त यि पिर संसारको टाढाटाढा सम्मै पु¥याउन सकिन्छ ।

भर्खरैको कुरा गरौँ न, हिजो अस्ति हामीलाई बल्र्डकप आफूले समर्थन गरेको टिमले जित्छ कि जिन्दैन भन्ने पिर थियो, अनि त्यसपछि थपिए अरु उल्का देशव्यापी पिर । एकथरीलाई डक्टर केसीको अनसनलाई सरकारले सम्बोधन गर्छ की गर्दैन भन्ने पिर अर्को थरीलाई सरकारले किन माग सम्बोधन गर्छ भन्ने पिर । प्रतिपक्षलाई एजेन्डा खोज्न पिर, सत्तापक्षलाई एजेन्डा जोगाउन पिर ।

नेतालाई कार्यकर्ता जोगाउन पिर, कार्यकर्तालाई नेता धेर लचक बनिदेलान् भन्ने पिर । अचेल पिर मार्सी बनेर जुम्लाको प्रसार गर्छ । सार्वजनिक रुपमा नओक्ल्नुपर्ने पिर ओकलेर मन्त्री पद खोसियो । रात विरात पार्टी जोगाउन लागिपरेका व्यक्ति र अनसनकारी पक्षधर नहुँदा हुन त बल्र्डकपले पछि पिरको एजेन्डा के हुँदो हो हाम्रो ?

क्रोशिया कि राष्ट्रपतिले रसिया पुगेर आफ्ना खेलाडीलाई सान्त्वना दिइन् । हाम्रा महामहिमसँग तुलना गरेर पिरको आयतन बढाइहाल्याँै । क्रोशिया होस् या नेपाल यि दुवै महामहिम जनताले नै जन्माएका हुन् । जनता अनुसारकै नेता पाउने न हो देशले, हामी भने बेकारमा पिर थपिरह्यौँ ।

पिर ओकल्दा आफ्नो मन शान्त हुनेमा विश्वास गर्छन् केही, केही पिर अरुलाई सुनाएर, अरुलाई किन खुसी पार्नु भन्ने नि सम्झिन्छन् । खासमा त यो पिर भन्ने चिज नलिएकै, नबोकेकै जाती । आफू भन्दा चिन्तित लाग्ने मानिस, आफ्नै प्रतिकुल विगत हेर्ने हो भनेपनि पिर केही हदसम्म कम हुँदै जान्छ । थोरै पिर बोकौँ, सक्नेमात्रै चिन्ता राखौँ ।

संसार एक्लैले परिवर्तन गर्ने अभियानले पिरमात्रै थप्छ ।

[email protected] 
Twitter : @farsumitra

लेखकबाट थप

चर्चा, चासो र मान्छे

उनकै छोरी तरुनी हामीलाई केको दोष ?

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.