www.tandavnews.com
Fact ~ In search of truth

सनसाइन सहकारीमा रकम घोटाला

पोखरा
ताण्डव न्यूज ।

पोखरा–८ नागढुंगामा रहेको सनसाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट रकम घोटाला भएको सार्वजनिक भएको छ । एक ग्राहकले पास बुकमा राखेको रकममा घोटाला भएपछि घटना सार्वजनिक भएको हो ।

नागढुंगाकी मनिषा श्रेष्ठले आफ्नो ३० हजार रुपैयाँ भन्दा धेरै रकम घोटाला भएको ताण्डव न्यूजसँग बताइन् । ‘म नयाँबजारमा काम गर्छु, त्यहाँ सनसाइनको कर्मचारी सुनिता शर्मा पैसा उठाउन आउथिन्,’ उनले भनिन, ‘शर्माले रकम लिएर मेरो पास बुकमा पनि उतारेकी छन् तर मेरो खातामा जम्मा गरिनन् । एक पटक मात्र होइन पटक–पटक त्यसो गल्ती गरेको पाइयो ।’

Batas

घोटाला भएको थाहा पाएपछि श्रेष्ठले मंगलबार (हिजो) सबै रकम निकालेर खाता बन्दा गरेको सुनाइन् । ‘जुन कर्मचारीले त्यस्तो गरेको हो उसलाई सहकारीले अझैसम्म कुनै कारवाही गरेको छैन,’ उनले भनिन, ‘जब मैले मेरो रकममा घोटाला भएको छ भनेर सहकारीमा कुरा गर्न गए सहकारीले उल्टो तपाईकै गल्ती हुन सक्छ भनेर मेरो रकम निकाल्न ढिलाई गरिदियो ।’

गलत गर्ने कर्मचारीलाई कारवाही नगरेको भन्दै श्रेष्ठले चित्त दुखाईन् । ‘एक पटक होइन पटक–पटक नियतवश रकम घोटाला गर्ने कर्मचारीलाई सहकारीले कारवाही गरेको छैन्,’ उनले भनिन्, ‘त्यही भएर मैले अब त्यहाँ रकम कहिल्यै राख्दिन । आज मेरो रकम घोटाला भयो भोली अरुको पनि हुन सक्छ ।’

सहकारीका म्यानेजर नरेन्द्र मित्रकोटीले कर्मचारीबाट गल्ती भएको स्वीकार गरे । ‘हामीले ग्राहकको रकमपनि फिर्ता गरिसकेका छौं । कर्मचारीको हकमा भने कारवाही प्रक्रिया अघि बढेको छ’ उनले भने ।

यसरी भयो घोटाला

मनिषा श्रेष्ठको नागढुंगामा पसल छ । उनी नयाँबजार एक शोरुममा पनि काम गर्छिन् । श्रेष्ठले फागुन २७ गते सनसाइन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा खाता खोलिन् ।

खाता खोल्दाकै दिन उनले सहकारीका कर्मचारी सुनिता शर्मालाई ८ हजार ५ सय रुपैयाँ दिइन् । पास बुकमा पनि सुनिताले सोही अनुसार रकम चडाईन् । तर सुनिताले श्रेष्ठको अकाउण्टमा १ हजार रुपैयाँ मात्र हालिदिइन् । सुनिता दिनदिनै रकम उठाउन जान्थिन् । सहकारीकै कर्मचारी भएपछि श्रेष्ठले विश्वास नगर्ने कुरै भएन् ।

दैनिक जसो आफ्नो पसलबाट कहिले सय त कहिले हजार रकम सुनिता मार्फत पासबुकमा जम्मा गराउथिन् श्रेष्ठले । केही महिना वितेपछि श्रेष्ठले कर्मचारी सुनितालाई सहकारीमा पासबुक लगेर व्याज हिसाव गर्न अनुरोध गर्थिन । तर सुनिताले जहिले वहाना बनाएर टारिदिन्थिन् ।

त्यसपछि श्रेष्ठले असोज २४ गते आफै सहकारी पुगेर हिसाव खोजिन् । सहकारीले उनको अहिलसम्म खातामा ५० हजार ५ सय २३ रुपैयाँ जम्मा भएको भनेपछि श्रेष्ठ झस्किइन् । उनले सहकारीमा खातामा धेरै रकम हुनुपर्ने भन्दै गुनासो गरिन् ।

त्यसपछि उनले स्टेटमेन्ट निकालेर पासबुकमा हेर्दा रकम धेरै घोटाला भएको पुष्टी भयो । पासबुक अनुसार उनको खातामा ८४ हजार रुपैयाँ रहेको पाइयो । त्यसपछि सहकारीका म्यानेजरले कर्मचारी सुनितासँग कुरा गर्दा घोटाला गरेका पाइयो ।

स्टेटमेन्ट र पासबुक हेर्दा चैत १८ गते श्रेष्ठले खातामा जम्मा गर्नु भन्दै ४ हजार रुपैयाँ पासबुकमा जम्मा गरेको छ तर कर्मचारी सुनिताले उनको खातामा जम्मा १ सय रुपैयाँ मात्र हालिदिएको पाइयो । त्यसपछि एक पछि अर्को रकम घोटाला गरेको खुलासा भयो ।

जसअनुसार चैत्र २१ गते १४ सय दिएर पासबुकमा चडाएको तर रकम खातामा नहालेको, वैशाख २५ गते ३० हजार रुपैयाँ दिएको तर २० हजारमा मात्र जम्मा गरेको, असार ८ गते ३ हजार रुपैयाँ दिएको १ हजार मात्र हालेको, असार ३२ गते २ हजार दिएको तर नहालेको र असोज ४ गते १६ हजार ५ सय दिएको तर खातामा नहालेको पाइएको छ ।

त्यसपछि श्रेष्ठले असोज २८ गते ८४ हजार निकालिन । त्यसैगरी घोटाला भएको रकम जोडेर मंगलबार (हिजो) ३ हजार ५ सय व्याज पनि सहकारीले दिएको छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.