www.tandavnews.com
Fact ~ In search of truth

खाडीमा जिउँदै मरेका सुरेश, क्यानोनिङमा रमाउँदै !

उमा विक
पाेखरा, ताण्डव न्यूज । 

विदेश जाने, टन्न पैसा कमाउने, नेपाल फर्किने राम्रो बस्ने घर बनाउने, सुख विलासको आरामदायी जीवन जिउने । अहिले नेपाली अधिकांश युवाहरुको सपना यसरी नै हुर्किरहेको छ । त्यो सपना पूरा गर्नका लागि रोजगारका लागि विदेशिन्छन् । आफ्नो परिवारको साथ छोडेर सात समुन्द्र पारिको यात्रामा आकाशे उँडानमा सुस्ताउँदै । विदेश गएर कमाउँला र घर फर्केर परिवारलाई सुखी बनाउँला यस्तै–यस्तै सपना पोको बोकेर विदेशिएका थिए कास्की अन्नपूर्ण गाउँपालिका –८ पधेँलीका सुरेश कोने ।

८ कक्षा पढ्दै गर्दा विदेश जाने हुटहुटी चल्यो सुरेशलाई । पैसा कमाउने आसमा उनी खाडी (दुबई) हानिए । ठुलै सपना बोकेर दुबई गएका थिए सुरेश तर सोचे जस्तो भएन । उनको सपना ठुलो थियो । तर, त्यो सपना त्यो भूमिले कहाँ सजिलै पूरा गर्न दिन्थ्यो र । न काम राम्रो पाइयो न त तलब नै । सुरेशले यसै न उसै अवैधानिक रुपमा लुकेर काम गर्ने निँधो गरे । १४ वर्ष उनी त्यो विदेशी भूमिमा लुकी छिपी बसेर काम गरे तर पनि कमाइ भएन । दिन रात पक्राउ हुने डरले झन छटपटि मात्रै थपियो ।

Batas

उनी र उनका केही नेपाली साथीभाइले दुबई छोडेर अवैधानिक रुपमै युरोप छिर्ने चक्करमा लागे । म्याक्सिकन मान्छेहरुले उनीहरुलाई युरोप लैजाने आश्वासन दिए । प्रोसेस सक्सेस भयो युरोपको लागि । तर, उनीहरु अवैधानिक रुपमा जाँदै थिए । उज्यालो छउन्जेल कोठामा लुकेर बस्नुपर्ने जब रात पर्छ यात्रा सुरु हुन्थ्यो । आफ्नो मनको सपना पूरा गर्न । पैसा कमाउन ।

विदेशी भूमिमा ‘किड्न्याप’

दिनभरि कोठामा थुनिने र रातभरी युरोप छिर्नका लागि यात्रा गर्नेमा सुरेश मात्र एक्ला थिएनन् । उनीसँगै १० नेपाली पनि थिए । दुबैमा सपनाको एक टुक्रा टुक्रिएर विरत्तिएका उनीहरुलाई युरोप छिर्ने यात्रामा अर्काे आपत आइलाग्यो । उनीहरु टर्कीको इस्तानबुलमा किड्न्यापमा परे । सन् २०१३ सालको कुरा हो यो ।

किड्न्यापरले उनीहरुसँग भएको अलि अलि पैसा पनि लुटे । यतिमात्र होइन किड्न्यापरले घरबाट फिरौती पठाउन धम्की दिन थाल्यो । सुरेशको घरबाट पैसा पठाइरहे तर किड्न्यापरले फिरौती मात्र मागिरह्यो उनीहरुलाई छोडेन ।

जसको घरबाट समयमा पैसा आउँदैनथ्यो उसलाई मरनासन्न हुनेगरि पिट्थ्यो । सुरेशसँगै गएको एक जना साथीलाई पैसा नपठाएको भनेर मारदियो ।  ‘स्याङ्जाका भुवन भण्डारी भन्ने भाइलाई हाम्रो आँखै अगाडि मारिदियो, आङ नै जिरिङ्ग हुन्छ, ठुलो दशाबाट बाँचेको हो म’ विगत सम्झिदैँ सुरेशले भने ।

फिरौती मात्र मागीरहने जति पैसा पठाए पनि उनीहरुलाई नछाडे पछि सुरेश र साथीहरुले किड्न्यापरहरुसँग लड्ने योजना बनाए । उनीहरु लडे र जिते पनि ।  सुरेश भन्छन्,‘उनीहरुको १२ बजे प्रे टाइम हुन्थ्यो, त्यही समयमा हामीले एट्याक्ट ग¥यौँ’।
गर्व गर्दै सुरेश थप्छन्,‘र हामीले जित्यौँ पनि ।’

उनीहरु घरको ढोका, झ्याल फोरेर बाहिर निस्किँदा खुट्टामा चप्पल थिएन, शरीरमा चोटैचोट लागेको थियो, धेरै दिनदेखि भोकै पनि थिए ।

उनीहरु त्यो अर्काको देशमा सहायताका लागि चिच्याए । केही विदेशीले उनीहरुलाई हस्पिटल पु¥याए, खान दिए ।

तर, उनीहरु अवैधानिक रुपमा त्यस ठाउँमा थिए उनीहरुलाई पुलिसले कस्टडीमा राख्यो । ६ महिना जेलमा राखेपछि सुरेश र उनका साथीहरुलाई नेपाल पठायो ।

सुरेश बाँचेर त आए तर क्रणधन गरेर विदेश गएका सुरेशको हात रित्तो रित्तो । लागेको क्रण त तिर्नुप¥यो । फेरि परिवारले उनलाई जापान जान फोर्स गर्न थाले ।

सुरेशलाई विदेशप्रति मन मरेको थियो । तर, परिवारको कुरा पनि सुन्नुपर्ने सुरेशले परिवारको मन राख्न जापान प्रोसेस त गरे तर उनको सोँच आफ्नै ठाउँमै केही गर्ने थियो ।

४ भाइको क्यानोनिङ !

सुरेशलाई एड्भेन्चर गेमप्रति शोख थियो । उनले नेपाल आएपछि आफ्नो ठाउँ कुन एड्भेन्चर गेमको लागि उपयुक्त छ भनेर सर्च गरिराखेका थिए ।  उनले क्यानोनिङका लागि उपयुक्त रहेको पाए र क्यानोनिङका लागि गाउँमा पहल गर्न थाले ।

गाउँका युवाले साथ दिएनन् उनलाई पछि उनीहरु आफ्नै ४ भाइ सुरेश कोने, विजय कोने, पूर्ण कोने, विष्णु कोने मिलेर क्यानोनिङ सुरु गरे कास्की विरेठाँटीमा ।

उनीहरुले खोल्नु अगाडि ल्वाङघलेलमा पोखरा क्यानोनिङ थियो उनीहरु ४ भाइले त्यहीबाट प्रशिक्षण लिए । ४ भाइले ९/९ लाख उठाएर क्यानोनिङको कम्पनी दर्ता गरे । ‘क्यानोनिङका लागि इक्विपमेन्ट चाहियो , क्यानोनिङ गर्न पुग्नेका लागी खाने बस्ने ठाउँ पनि चाहियो, यो सबै गर्दा २ करोड लगानी ग¥यौँ,’ सुरेश भन्छन् ।

सुरेश र उनका दाजुभाइले २ वर्ष अघि क्यानोनिङ सुरु गरेका हुन् ।  ‘अहिले सिजन छैन क्यानोनिङको लागि, भदौ अन्तिमदेखि क्यानोनिङको सिजन सुरु हुन्छ,’ सुरेश भन्छन् ।

हप्तामा सरदरमा पाँच जना क्यानोनिङका लागी विरेठाँटी पुग्छन् । नेपालीलाई क्यानोनिङ चार्ज २५ सय र विदेशीलाई ४ हजार रुपैयाँ लाग्छ ।

बाह्य भन्दा आन्तरिक पर्यटन क्यानोनिङको लागि विरेठाँटी पुग्ने गरेको सुरेश बताउँछन् । क्यानोनिङबाट महिनामा मिनिमम ६० हजार आम्दानी गर्छन् सुरेश ।

सुरेशले ७ जना युवालाई, आर्थिक स्थिति कम भएका र विश्वासको आधारमा अपाङ्ग व्यक्तिहरुलाई पनि रोजगार दिएका छन् ।
गाउँले पनि मख्खै !

क्यानोनिङका लागी गाउँका युवाले साथ दिएनन् सुरेशलाई । तर उनले आँट गरे क्यानोनिङ आफ्नो ठाउँमा सम्भव छ भनेर । प्रमाणित पनि गरे ।

सुरेशका ४ भाइले क्यानोनिङ सुरु गरेपछि विरेठाँटीमा छुट्टै रौनक थपिएको छ । ‘अहिले गाउँले सबै खुशी छन् हामीले गरेको कामदेखि’ सुरेश भन्छन् ।

पोखराबाट बागलुङ हाइवे हुदैँ नयाँपुलमा पुगेपछि विरेठाँटी हुदैँ घान्दु्रक जाने बाटोमा विरेठाँटीदेखि १० मिनेट हिडेपछि विरेठाँटी क्यानोनिङ पुगिन्छ ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.