www.tandavnews.com
Fact ~ In search of truth

एक चम्चा महले उक्साएको ‘मौरी मोह’

उमा विक
पाखरा, ताण्डव न्यूज ।

बैशाख, जेठको महिना थियो । दाईले मह काढेर आमा र उनलाई चाख्नका लागि भन्दै थोरै मह दिए । उनको भागमा जम्मा एक चम्चा पर्यो ।

उनले मह त्यो भन्दा पहिला नखाएका होइनन् तर दाईले दिएको मह असाध्यै मिठो थियो । एक चम्चा महले उनको मुख मात्रै जिस्क्यायो ।उनलाई अझै खाने मन थियो । ‘दाई अलि ल्याउनु न’ उनले मागे। दाईले जवाफ दिए, ‘लेन्त पैसा एक माना लिएर जा ।’ उनीसँग मह किनेर खानको लागि पैसा थिएन ।

Batas

दाईको यहि शब्द र त्यो एक चम्चा महले उनलाई मौरी पाल्न उक्सायो ।

पोखरा लेखनाथ नगरपालिका वडा नम्बर ३१ बेगनासका सुर्यप्रसाद लामिछाने  विगत १२ वर्षदेखि मौरी पालिरहेका छन् ।  कास्की लामास्वाँरामा जन्मेका सुर्यप्रसादलाई सबैले ‘मौरी’ भनेर चिन्छन्।

८ वर्षको सानै उमेरमा बाबाको निधन भएपछि उनले आफ्नो पढाईका लागि आफैले जोहो गर्नुपर्ने स्थिती आयो  । घाँसदाउरा मेलापात गरेर जसोतसो स्कुल पढे ।

बालापन अभावै अभावमा बित्यो । यत्ति सम्म अभाव थियो कि उनले स्कुलमा खाजा खाने पैसा हुदैनथ्यो। घरबाट लैजानलाई या स्कुलबाट फर्केर आएपछि खानलाई खाजा हुदैनथ्यो ।

अभावकै बिच उनले पढाईलाई निरन्तरता दिए । त्यो बेला एसएलसीमा उनलाई विषय लाग्यो । उनलाई आफु गहिरो पानीमा डुबेको महशुस भयो । अर्को वर्ष मेहनत गरेर पढे, पास भए । एसएलसीको असफलताले उनलाई मेहनत गरेर अध्ययन गर्न सिकायो । उनले मास्टर पास गरे ।

पढाई अभावैअभावमा सकियो । जागिरको आवश्यकता थियो उनलाई । एजुकेशनबाट मास्टर गरेका सुर्यप्रसादलाई पढाउनको लागि अफर आएपनि तलब चित्तबुझ्दो भएन ।

विदेशिनै लाग्दा ‘यू टर्न’

साथीहरुले विदेश जाम नेपाल बसेर केही उपलब्धि छैन भन्न थाले । पासर्पोट बनाउने लगायतका विदेश प्रोसेसका क्रममा उनी दाईकहाँ बसे । दाईले मौरी पालेका रहेछन् ।

दाईले चाख्नलाई आमा र उनलाई मह दिए । उनको भागमा मह एक चम्चा परेको थियो । ‘मह यत्ति मिठो थियो कि, एक चम्चाले त मेरो मुख मात्रै जिस्कायो। दाईलाई अलि ल्याउनु न भनेको दाईले लेन्त पैसा एक माना लिएर जा भन्नुभो । म सँग पैसा थिएन न जागिर थियो ।’सुर्यप्रसाद सम्झन्छन् ।

उनी भन्छन्, ‘मह खानको लागि पैसाले मह होइन, मौरी नै किन्छु । मौरी किने भने त सधै खान पाइन्छ भन्ने भो ।  दाईसँग ३ हजारमा एक गोला मौरी किनेर मौरी पाल्न थाले ।’

‘सायद त्यतिबेला मैले मह धेरै खान पाको भए मौरी पाल्ने नै थिइन् ।अभावले मलाई मौरीपालनमा लाग्न प्रेरित भए । ’ उनी थप्छन् ।

दाईले ४, ५ घार मौरी बाट २,३ पाथी मह बेच्थे । उनलाई विदेश जानु भन्दा विदेश जाने लगानी मौरीमा गरौ कि भन्ने पनि लाग्यो ।  मौरी त पाले ६ महिना सम्म, मौरीको संख्या वृद्धि भएन उनी फ्रस्टेट भए ।

मौरी पालन बिचैमा छोडेर जागिरको खोजीमा हिडे । कोकाकोला डिलरमा मार्केटिङको काम पाए । महिना सकेर तलब थाप्दाखाना खाजा खाको कटाउँदा उल्टै पैसा तिर्न बाँकी रहने । यसरी जागीर खानुको अर्थ थिएन त्यसपछि उनले जागिर पनि छोडे ।

त्यहीबेला उनले राम्रो संस्थाले सहयोग गरिरहेको बेगनासमा घार र मौरी उत्पान गर्ने कम्पनी किन्ने अवसर पाए । उनीसँग पैसा थिएन लगानी गर्नलाई तर सस्तोमा कम्पनी पाए । कम्पनीलाई व्यवस्थित बनाए । कम्पनी किन्ने बित्तिकै १६ वटा घारको अर्डर आयो।  उनले कम्पनी किनेको महिना दिनमै कम्पनीको लगानी उठाए । एक घारकै १ हजार पथ्र्यो  ।उनले १० हजारमा कम्पनी किनेका थिए ।

उनलाई यसले उर्जा थप्यो । पैसा थपेर  अलि बढि घार बनाउन मन लाग्यो ।उनलाई घार मात्र होइन १ सय घार मौरी पाल्छु भन्ने जोस आयो ।

फुलका थुंगाहरुमा पैसा

सुर्यप्रसाद व्यवसायीक रुपमा मौरीपालनमा लागेको २०६४ साल देखि हो । झण्डै १२ वर्षदेखि मौरीमा उनले पैसा मात्र होइन मेहनत, समय पनि लगानी गरिरहेका छन् ।

अहिले सुर्यप्रसादले वर्षमा ४÷५ सय गोला मौरी बेच्छन् । ७ ÷८ सय घार बेच्छन् ।यसबाट राम्रै आम्दानी भइरहेको छ ।

एक घारबाट ४ केजी मह उत्पादन हुन्छ । उनकोमा मौरीको गोलाको डिमान्ड बढी हुन्छ । यस वर्ष घार, गोला र मौरी बेचेर २६ लाख नाफा भएको सुर्यप्रसाद बताउँछन् । गत वर्ष ११ लाख नाफा भएको थियो । उनले ५ जनालाई रोजगारी दिइरहेका छन् ।

उनीकहाँ मौरी अध्ययनका लागि विदेशी युवाहरु आउँछन् । हाम्रै देशका युवा भने जागिरका लागि विदेश जानु र यहाँ गर्न सकिने कुरालाई वेवास्ता गर्नु दुखद भएको गुनासो सुर्यप्रसाद गर्छन् ।

उनी भन्छन्,‘१ सय घार मौरी पाल्न सक्ने हो भने महिनामा १ लाख कमाउन गाह्रो छैन । विदेश जाने पैसा स्वदेश मै लगानी गर्ने हो र  विदेशमा गर्ने मेहनत स्वदेशमै गर्ने हो भने फुलका ठुंगाहरुमा पैसा छ । यही कमाउन सकिन्छ । ’

मौरी पाल्न चाहानेलाई लगानी उठ्दैन कि भनेर चिन्ता नलिन आग्रह गर्दै सुर्यप्रसाद भन्छन्, ‘ढुक्क भएर मौरी पाल्नुस ,मेरो क्षेत्रमा जसले मौरी पाल्न चाहानुहुन्छ उहाँको लगानी डुब्दैन म त्यसको जिम्मेवारी लिन्छु । ’

उनी मौरी अध्ययनका लागि भियतनाम, नेदरल्याण्ड र अमेरिका पुगेका छन्। विदेश भन्दा नेपाल वास्तवमै मौरी पालनको लागि उत्तम तर उत्पादनको हिसाबले नेपाल धेरै पछाडि रहेको उनको भनाई छ ।

मौरी नभए मानव रहदैन

‘कृषिमा वातावरण जोगाउनुपर्छ , वातावरण जोगाउनको लागि मौरीको ठुलो भुमिका छ’। सुर्यप्रसाद भन्छन् ‘विदेशीहरु मह उत्पादनलाई नाफा मान्दैनन् । वातावरण जोगाउनु, फर्टिलाइजेशन हुनुलाई प्रफिट मान्छन्।’

‘मौरी भएन भने मानिस रहदैन । मौरी जन्य किराबाट फर्टिलाईज भएन भने खाद्यान्न उत्पादन घट्छ । यसले खाद्यान्न अभाव हुन्छ जसले मानव जातिको अन्त्य हुन सक्छ ।’उनी थप्छन्

सुर्यप्रसादलाई गण्डकी प्रदेशमै गुणस्तरीय रानी उत्पादन गरेर मह उत्पादनमा वृद्धि गर्ने मन छ । विदेशमा जस्तै प्रविधियुक्त तरिकाले मौरी उत्पादन गर्ने उनको सोच छ ।

सुर्यप्रसाद अहिले घार निर्माण र मौरीपालन ट्रेनिङ दिन्छन् । ट्रेनिङ कुनै एकको लिएर त्यसमै निरन्तर लागे सफलता मिल्ने उनको भनाई छ । उनी सुनाउँछन्, ‘विदेशमा मौरीलाई सेन्सरले काम लगाएर मह उत्पादन गर्छन तर हामी अझै ढुंगेयुगमा छौ ।’

नेपालमा मौरी सम्बन्धि डाटा राखिदैन यसको डाटा राख्नुपर्ने सुर्यप्रसाद बताउँछन । महको लेभलिङ, प्याकिङ र मार्केटिङको शुरुवात गर्ने सुर्यप्रसादको योजना छ ।

सुर्यप्रसादले नाङगो शरीरमा मौरी राखेर प्रदर्शन समेत गरेका थिए ।उनको दाहिने हातमा मौरीको ट्याटु छ ।

उनी भन्छन्,‘मेरो लागी मौरी जीवन हो, मौरी छैन भने म छैन । मौरी मेरो परिवार हो । मौरीको मेहनत देखेर म प्रेरित हुन्छु । ’

सुर्यप्रसाद नेपाल मौरी पालक महासंघ गण्डकी प्रदेशका अध्यक्ष हुन् ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.