www.tandavnews.com
Fact ~ In search of truth

तालबाराही स्कुल : ३८ वर्षमा ४ रोपनी ६ आना जग्गा गायब !

ईश्वर देवकोटा
पोखरा, ताण्डव न्यूज ।

तालबाराही माध्यमिक विद्यालयको जग्गा व्यक्तिहरुले हडपेको पाइएको छ । दशकौ देखि जग्गा गायब हुँदै आएपनि सम्बन्धीत निकाय मौन छन् । त्यति मात्र होइन जनप्रतिनिधि आएपनि विद्यालयको जग्गा खोज्न र संरक्षणमा कुनै चासो दिएको पाइदैन् ।

तत्कालिन नगर पञ्चायतले तालबाराही माध्यमिक विद्यालय, बैदामलाई २०३७ सालमा उपलब्ध गराएको ११ रोपनी ५ आना जग्गा मध्ये ४ रोपनी ६ आना जग्गा फिल्डबाट नै गायब भएको छ ।

Batas

जिल्ला मालपोत कार्यालयको साविकको कित्ता नं. ३२१० (हाल कि.नं. ४५) मा जग्गाधनी प्रमाण पुर्जा विद्यालयको नाउँमा प्राप्त गर्दाको समयमा ११ रोपनी ५ आना जग्गा कायम देखिएको भए पनि हाल ६ रोपनी १५ आना मात्रै देखिन आएकोले विद्यालयले महानगर गुहारेको छ । हुन त यो कुरा जनप्रतिधिलाई थाहा नभएको भने होइन् । तर केही स्थानीय शक्तिको अगाडी जनप्रतिनिधि पनि मौन बसेका छन् ।

‘विद्यालयको झण्डैं साढे चार रोपनी जग्गा हाल लालपुर्जा अनुसार फिल्डमा देखिदैन्,’ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रशुराम शर्मा पहारीले भने, ‘स्थानीय जनप्रतिनिधिलाई विद्यालयको जग्गा हालसाविक गर्न अनुरोध गरेका छौं ।’

पोखरा लेखनाथ महानगर–६ स्थित डिहिकोपाटनमा रहेको उक्त जग्गा सडक निर्माण, स्थानीय बासिन्दाको घर संरचना बनाउँदा मिचेको विद्यालयको दाबी छ ।

‘सडक निर्माण गर्दा विद्यालयलाई जानकारी दिइएन, जग्गाको चारै तिरबाट एकतर्फी रुपमा सडक निर्माण गरियो,’ विद्यालयकी प्रध्यानाध्यापक भद्रकाली लामिछानेले भनिन्, ‘विद्यालय निर्जिव वस्तु जस्तै व्यवहार गरियो, विद्यालयको जग्गा वरपर संचरना निर्माण गराउँदा साँध सधियाँराको पनि साक्षी चाहिन्छ भन्ने कुराको नजरअन्दाज गर्दा जग्गा मिचियो ।’

स्थानीय जनप्रतिनिधि नभएको समय र विद्यालय व्यवस्थापन समिति पनि सक्रिय नभएको अवसर छोपेर जग्गा वरपर रहेका स्थानीयले विद्यालयको जग्गा हडपेको आरोप विद्यालय प्रध्यानाध्यापकको छ ।

 

मालपोत र नापी नक्साको निस्सा अनुसारको जग्गा फिल्डमा नदेखिएपछि विद्यालयले आफ्नो कागजात अनुसारकै जग्गा फर्काउनका लागि पोखरा लेखनाथ महानगर कार्यालय र वडा–६ का अध्यक्ष जगत पहारीलाई मौखिक एवं लिखित गुनासो दिँदा समेत काम अघि बढ्न नसकेको प्रति चिन्ता व्यक्त गरेको छ ।

महानगरबाट नापी र वडा कार्यालयलाई विद्यालयको जग्गा एकिन गर्न सिफारिस गएको विद्यालय प्रशासनले जनायो । तर वडाध्यक्ष जगत पहारीले विद्यालयको जग्गा जति फिल्डमा देखिएको छ त्यती नै रहेको दाबी सहित हालसाविक गर्न नापजाँच गर्नुपर्ने भन्दै स्थानीयलाई उचाल्दा काम अघि बढाउन नसकेको प्रशासनको भनाइ छ ।

वडाध्यक्ष पहारीका अनुसार विद्यालयको जग्गा यत्तिका वर्षसम्म खोजबिन नहुनुले पनि समस्या देखिएको बताए । ‘धेरै समय बित्यो अब जग्गा हालसाविक गरेर कागजअनुसारकै फिर्ता गरी पाउँ भन्नलाई वडाध्यक्षको प्रयासले मात्र सम्भव देख्दिन्,’ पत्रकारसँगको भेटमा उनले भने, ‘राज्य नै लाग्यो भने सम्भव नहोला भन्न त सकिन्न तर पनि विषय वडाध्यक्षसँगको मात्र होइन ।’

वडाध्यक्ष जगत पहारी

जग्गा कागजात अनुसारकै हालसाविक गराउन वडाध्यक्षको पहल नभएका कारण समस्या थाती रहेको भन्ने आरोप विद्यालयको छ नी भन्ने प्रश्नमा वडाध्यक्ष पहारीले भने, ‘प्रध्यानाध्यापक पनि लामो समय हुनुहुन्छ विद्यालय सञ्चालनको जिम्मेवारीमो यत्तिका समयसम्म विद्यालयको सम्पत्ती कहाँ के कस्तो छ ? भन्ने हेक्का राख्नुपर्दैन, अहिले वडाध्यक्षको थाप्लोमा मात्र दोष थुपारेर उम्किन पाइन्छ ?’

विद्यालयको जग्गा संरक्षण गर्नु दायित्व भएको भन्दै वडाध्यक्षले एक अर्कालाई आरोप प्रत्यारोप भन्दा पनि सुझबुझका साथ अघि बढ्न आग्रह गरे ।

उक्त जग्गामा विद्यालयले आम्दानीको स्रोत बृद्धि गर्न दक्षिणतर्फको व्यापारिक भवन पछाडिको भागबाट ३० फिट चौडाइ र १३० फिट लम्बाइको अस्थायी ट्रष्ट निर्माण गर्न विपुल कन्स्ट्रक्सन प्रालिलाई ठेक्का दिएको छ । त्यससँगै उक्त जग्गामा मुख्य सकडसँगै रहेको १२ वटा सटर सहितको भवन माथि पनि विद्यालयले उक्त कम्पनीलाई ट्रष्ट निर्माणका लागि सम्झौता गरिसकेको छ ।

विद्यालयको सो जग्गामा तारबार सहित व्यवस्थित पार्क र खेलकुद मैदान निर्माण सहितको ठेक्का पाएको कम्पनीले त्यहाँका स्थानियबासीको अवरोधका कारण काम सुरु गर्न पाएको छैन् ।

यसअघि वडाका जनप्रतिनिधिको रोहवरमा स्थानीय बासिन्दासँगको छलफलमा सम्झौता अनुसारको काम नरोक्ने सहमति बनेको थियो । सहमति अनुसार निर्माणको ठेक्का पाएको विपुल कन्स्ट्रक्सनले ०७५ साउन १७ गतेबाट निर्माणको काम थाल्दा वडाध्यक्ष जगत पहारीले नै स्थानीयको सहयोगमा काम नगर्न भनी अवरोध पु¥याएको विद्यालयले जनाएको छ ।

वडाध्यक्षका काम व्यवहारले विद्यालयलाई जवरजस्ती ६ रोपनी १५ आनामा सिमित राख्न वडाध्यक्ष पहारीनै सक्रिय रहेको विद्यालयले आज (शुक्रबार) जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

यो पनि हेर्नुहोस्

वडाध्यक्ष पहारीले पदीय मर्यादा दुरुपयोग गर्दै काम रोकेको आरोप

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.