www.tandavnews.com
Fact ~ In search of truth

सत्यमा नचुकेको, शक्तिसँग नझुकेको

– केशवशरण लामिछाने

जसै न्यु मिडियाको उदय भयो, छापा पत्रिकालाई ठूलो चुनौती देखा प¥यो । हातहातमा मोबाइल लिएर मान्छेहरु अनलाइन अर्थात न्यु मिडियाका समाचार पढ्न अभ्यस्त हुन थाले । पत्रपत्रिकाको सर्कुलेसन स्वात्तै घट्यो ।

अनलाइन मिडियाहरु बर्खाको च्याउ जसरी उम्रिएका छन् । पाठक उत्तिकै दिग्भ्रमित छन्, कुन समाचार सत्य हो, कुन झुठो हो पत्ता लगाउन कठिन छ । दर्ता भएर चलेका र नभइकन चलेका जुनपायो त्यही अनलाइनले पाठकलाई सूचनाभन्दा ज्यादा हल्ला पस्किएका छन् । सही सूचनाभन्दा ज्यादा तोडमोड भएको सूचनाले पाठकलाई भ्रमित पारेको छ । सायद संसारभरिकै यो पछिल्लो चुनौती हो ।

Batas

नेपालमा यो ज्यादा नै छ, अविकसित यो मुलुकका नागरिक फेसबुक, ट्विटर र युट्युबजस्ता सामाजिक सञ्जालमा दिनको अधिकांश समय जो खर्च गर्छन् ।पत्रकारितालाई मात्रै होइन सामाजिक सञ्जाल त लोकतन्त्रकै लागि चुनौती हुँदैछ भनेर संसार प्रसिद्ध साप्ताहिक म्यागेजिन द इकोनोमिस्टले सन् २०१७ को नोभेम्बर पहिलो साता कभर स्टोरी नै गरेको थियो । यो पत्रिका अहिले पनि संसारभर १० लाख प्रति बिक्री हुन्छ भनिन्छ । नेपालमा सय प्रतिभन्दा कमै आउँछ होला । जसको नेपालमा मूल्य नै ७ सय रुपैयाँ जति छ ।

इकोनोमिस्ट भन्छ— हिलारी क्लिन्टन र डोनाल्ड ट्रम्पबीच प्रतिस्पर्धा भएको अमेरिकी राष्ट्रपतीय निर्वाचनका क्रममा १४६ मिलियन फेसबुक प्रयोगकर्ताले रुससँग सम्बन्धित भनिएका भ्रमपूर्ण सूचना पाएका थिए ।युट्युबमा समेत राष्ट्रपतीय निर्वाचनका विषयमा रुसको हात रहेको भनिएको ११ सय ८ वटा भिडियोहरु अपलोड भएको उक्त म्यागेजिनले उल्लेख गरेको छ ।

ट्विटरमा ३६ हजार ७ सय ४६ वटा भ्रमपूर्ण एकाउन्ट खोलिएका थिए भन्ने तथ्य उसले उजागर गरेको छ ।कुनै घटना÷दुर्घटना हुँदा त्यसको खबर सबैभन्दा पहिला सामाजिक सञ्जालहरुमा देखा पर्छ । अनि पत्रिका कसले पढ्छ भन्ने प्रश्न जल्दोबल्दो रुपमा उठिरहेको छ ।

हो, यहींनेर छ पत्रिकाको भूमिका ।

सामाजिक सञ्जालले सूचनामात्रै दिन्छ । त्यो पनि अपूर्ण, अपांग र भ्रमपूर्ण हुनसक्छ । तथ्य जाँच्ने कसी पत्रिकै हो । या, विश्वसनीय अनलाइनन्युज पोर्टल हो । वा, विश्वसनीय रेडियो वा टेलिभिजन हो ।सामाजिक सञ्जालमा व्यक्तिले सूचना ब्रेक गर्न सक्छ तर त्यसको भित्री तहमा पुगेर समाचार खोतल्न सक्दैन । पत्रकारिताको भूमिका त्यहींनेर हुन्छ ।

सबै सूचना सर्वसाधारण व्यक्तिको सहज पहुँचमा हुँदैनन् । पत्रकारले नै उधिनेर ल्याउनुपर्छ । ताण्डव साप्ताहिकको प्रसंग यहींनेर जोड्न उपयुक्त देख्छु । जुन भूमिका पत्रकारिताले निर्वाह गर्नुपथ्र्याे र पर्छ, त्यो भूमिका यो पत्रिकाले निर्वाह गर्न सकेको छ ।

सूचनाहरु उधिनेर समाचार पस्कन सकेको छ । होइन भने ५० वर्ष पुरानो पोखरेली पत्रकारिताको इतिहासमा गिनेचुनेका समाचारपत्रमा ताण्डव पर्ने थिएन छोटो अवधिमै ।विचार, विश्लेषण र खोजी साप्ताहिक पत्रिकाका विषय हुनुपर्छ ।

दैनन्दिनका घटना÷दुर्घटना अब समाचार हुन छाडिसके । नेताका भाषण त झन् समाचारै बन्न मुस्किल छ । उनीहरुका भाषणमा न सूचना हुन्छ, न गहन विचार । गालीचाहिँ थुप्रै भेटिन्छ । पत्रकारिता नेताहरुले एकापसमा गर्ने गाली ओसारपसार गर्ने माध्यम होइन । उनीहरुको प्रोपोगान्डाको भरिया होइन । यहीं चुरो बुझेर ताण्डवले पत्रकारिता गरेको छ ।

यसका विषयवस्तुमा नेताका भाषणको मात्रा खोज्यो भने चामलमा बियाँसरहमात्रै भेट्न सकिएला ।पत्रकारिता भनेको खोजी गरेको सूचना र समाचार पस्कने कर्म हो । समाचार भनेको आफैंमा खोजेको सूचना हुँदै हो । तर खोजी पत्रकारिताको परिभाषा भने त्योभन्दा व्यापक छ ।

कसैले लुकाउन चाहेको सार्वजनिक महत्व र चासोको सूचना खोजी समाचार हो । त्यस्तो समाचार संकलन गर्ने, लेख्ने र प्रकासन÷प्रसारण गर्ने कर्म खोजी पत्रकारिता हो । एक वर्षको छोटो अवधिमा ताण्डव साप्ताहिकका कभर स्टोरी त्यस्तै छन्, जुन कसैको निहीत स्वार्थमा लुकाउन प्रत्यन गरिएका सूचना थिए ।

ताण्डवले भने उधिनेर बाहिर ल्याइदियो । चाहे त्यो पोखरा महानगरपालिकाको अनुमतिबिना सरकारी जग्गामा बनेको ‘पोखरा सस्तो बजार’को रिपोर्ट होस् या कांग्रेस नेता रामजी बादलको हत्याका नखुलेका पाटाहरुको सार्वजनिकीकरण होस्, ताण्डवले पत्रकारिताको मूलमर्मलाई आत्मसात ग¥यो र रिपोर्ट पस्क्यो ।

सरकारले प्रतिबन्ध लगाएका औषधी छ्यापछ्याप्ती बिक्री भइरहेको खुलासा गरेर प्रशासनको ध्यानाकर्षण गरायो र साँच्चीकै प्रतिबन्ध लगाउन सफल पनि भयो । जनप्रतिनिधि भएर जनहित र नैतिकता विपरीत सार्वजनिक सम्पतिको दोहोन गर्नेहरुको पर्दाफास पनि ताण्डवले ग¥यो । मणिपाल अस्पतालमा कर्मचारीले औषधी खरिदमा गरेको अनियमिता र सिन्डिकेटको पहिलो खुलासा गरेको पनि ताण्डवले नै हो ।

पत्रकारिता भनेको कला पनि हो । सूचना त जासुसले पनि संकलन गर्छ । तर त्यसलाई भाँती पु¥याएर लेख्दामात्रै समाचार हुन्छ । पत्रकारितामा विश्वसनीयता र सन्तुलनजस्ता तत्व झनै महत्वपूर्ण छन् । अपरिहार्य छन् । त्यसमा ताण्डवले सम्झौता गरेको छैन । भाषाको मर्यादा भूलेको छैन । उत्कृष्ट, मर्यादित भाषा शैलीको प्रयोगकै कारण समाचार र रिपोर्टहरु विश्वसनीय बनेका छन् ।

विषयवस्तुको छनोट र सन्तुलित तथा विश्वसनीय लेखनशैलीबाट ताण्डवले आफूलाई खास व्यक्तिगत र व्यापारिक स्वार्थभन्दा माथि उठेको प्रमाण दिन सफल छ । यही कारण हो, एक वर्षमै पोखराका दर्जनौं पत्रपत्रिका र अनलाइन लगायत मिडिया माझ ताण्डव साप्ताहिक र यसको अनलाइन ताण्डवन्युज डटकम पाठकको भरोसालायक बनेको छ । विशुद्ध व्यावसायिक (प्रोफेसनल) पत्रकारिताको गतिलो उदाहरण भएको छ ।

यसो हुनुको जस अवश्यमेव यसको टिमलाई जान्छ । जुन टिममा अर्जुन गिरी सम्पादक छन् । सन्तोष सुवेदी कार्यकारी सम्पादक छन् । विजय लम्साल प्रबन्ध निर्देशक छन् । माधव भुसाल वरिष्ठ संवाददाता छन् । सन्तोष अधिकारी, विनीता सुनार, उमा विक संवाददाता छन् । रमण पौडेल मिडिया हाउस अध्यक्ष छन् । चट्ट र भद्र लेआउट डिजाइन गर्ने प्रदीप कुमाल छन् । यही टिममा जुझारु पत्रकार ईश्वर देवकोटा पनि वरिष्ठ संवाददाता थिए ।

पत्रकारिता पढेको, प्रोफेसनल मिडिया हाउस (समाधान दैनिक)मा अभ्यास गरेको र व्यक्तिगत रुपमै नैतिक र चरित्रवान हुनु यो टिमका मियो अर्जुन गिरीको खासियत पत्रिका र अनलाइनमा प्रतिविम्बित छ । खोज पत्रकारमा नभई नहुने तत्व इमान्दारीपनसहितको साहस त झन् उनको नसानसा छ ।

छोटो अवधिमै ताण्डवले पोखराका थुप्रै सामाजिक विकृतिहरुमाथि प्रहार ग¥यो । उत्तरदायी शासन व्यवस्था र लोकतान्त्रिक प्रणालीलाई चाहिने आलोचनात्मक चेतसहितको पत्रकारिता ग¥यो ।

मनी र मसलका आधारमा सार्वजनिक सम्पतिमाथि रजाइँ गर्नेहरुको भण्डाफोर ग¥यो । शक्तिसँग झुकेन । समाचारका तत्वहरु नयाँपन, सन्दर्भ, जनचासो र सार्वजनिक महत्वहरु समावेश गरेरै तथ्य ल्यायो । सत्यमा चुकेन ।

त्यसैले नै उसको नारा साकार छ-सत्यमा नचुक्ने, शक्तिसँग नझुक्ने ।

(लामिछाने अन्नपूर्ण पोस्ट दैनिकको गण्डकी प्रदेश ब्युरो चिफ हुन् ।)

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.