www.tandavnews.com
Fact ~ In search of truth

समाजले छुट्याईदिएका महिला ‘बिटहरू’

– सुमित्रा भटृराई

समाजमा अरूभन्दा फरक देखिन सबैलाई मन लाग्छ । मेहनत, लगन होस् या अन्य कुनै उपाय र जोखिम मोलेरै भएपनि हामी अरूभन्दा भिन्न देखिने कोशिसमा रहन्छौँ सधैं । निकै फरक लाग्छन्, त्यस्ता मानिस ।

यो प्रतिस्प्रर्धात्मक समयमा आम मानिस भन्दा फरक हुन सजिलो छैन् । ठुला जोखिम मोलेर, केही रहरहरू पन्छाउँदै, क्षमता र विवेकको प्रयोग गर्दै नयाँ–नयाँ क्षेत्रमा काम गर्न रूचाउने मानिस पक्कै दह्रो मुटुका हुन्छन् ।

Batas

एकजना चिनजानकी लेखिका दिदी हुनुहुन्छ अविवाहित । उहाँ नयाँ र फरक धारमा कलम चलाउन सिपालु पनि हुनुहुन्छ । आफ्ना लेखहरूमा महिलाका यौन तथा प्रजनन् अधिकारका विषय उठाउनुहुन्छ ।

सोझै भन्नुपर्दा यसरी लेख्नुहुन्छ कि उहाँका लेखले संकुचन बोकेका र स्वयम्लाई सर्वमान्य सोच धारण गरेकाहरूलाई पचाउन हम्मे हम्मे पर्छ । एक दिन गफैगफमा उहाँले एक घत लाग्दो गरी भन्नुभयो, ‘नानी मेरा लेखहरूले मलाई ट्याग लगायो ।’

कुरो बुझिँन मैले र प्रश्न गरें कस्तो ट्याग ? उत्तर निकै भिन्न थियो । उहाँले फरक विषय अर्थात यौन तथा प्रजनन् अधिकारका क्षेत्रमा कलम उठाएकै कारण अब तेरो बिहे हुँदैन भनि प्रतिक्रिया दिनेहरू भेट्नु भएछ ।

उहाँले ट्याग त बिहे नहुने भनि दिईएको प्रतिक्रियाका बारेमा पो भन्नुभएको रहेछ । त्यो ट्याग उहाँलाई त्यसकारण लाग्यो किनकी उहाँले अरूले नलेखेको विषयमा लेख्ने हिम्मत गर्नुभयो । उहाँले थप्नुभयो, ‘आखिर ट्याग लागिहालेछ, फेरिँदैन अब झनै लेख्छु । यसै ट्याग लाग्यो त्यसै लाग्यो ।’ यो उत्तरले चाहिँ खुसी लाग्यो ।

साँच्चै कस्तो हो हाम्रो सोच ? अनर्थ नलागोस् तर यहाँ प्रधानमन्त्री भैसकेका विश्वेश्वरप्रसाद कोइरालाले आफ्ना कृतिहरूमा यौनका विषयमा लेख्दा व्यक्तित्वमा कुनै आँच नआउने । अनि त्यही यौन तथा प्रजनन् अधिकारका एक महिलाले कलम चलाउँदा चै उसको वैवाहिक जीवन सम्म धरापमा पर्ने ? उसको चरित्रै खराब हुने ? वाह हाम्रो सोच ! धन्य छौँ हामी ।

हामी महिलाले लेख्ने कलमको भागमा सँधै श्रीमान्ले कुटेको, घर परिवारले अवहेलना गरेको मात्रै विषय अटाउने ? हाम्रा आँटका कथा, हामीलाई के गर्दा खुसी मिल्छ भनेर लख्न नपाउने ? हामीले हाम्रा कलम पीडा र अवहेलनामै मात्रै सिमित गर्नुपर्ने ?

दैनिक पत्रिकाले समाज र महिला बिट भाग लगाईदिएजस्तो । यस्ता विषय देख्नेलाई सामान्य लागे पनि लेख्ने र भोग्नेका लागी पीडादायी हुन्छन् । महिला लेखिकाले नयाँ विषय लेखका माध्यमबाट उठाउनु कुनै गल्ती होइन । यौन तथा प्रजनन् अधिकारका लेख लेख्नु अश्लीलता होइन सृजना हो ।

यि त भए कलमले निम्त्याएका समस्याका कुरा ।

हामी थुप्रै यस्तैखाले चुनौतीहरूको सामना गरिरहन्छौँ जीवनभर । सानीछँदा फलानाकी फलानी छोरी फलानी अझै बिकीन है भन्दै गफ गरेको सुन्न पाईन्थ्यो, अर्थ भनें बुझ्दिनथें । के होला नबिक्नु भनेको भन्ने लाग्थ्यो ।

सोच्थें के ति नबिकेकी भन्ने ट्याग लागेकी ति दिदी वा फुपू कुनै वस्तु वा सामान हुन् र बिक्नलाई ? साँच्चै किन बिकिनन् त ? बुझ्ने भएपछि थाहा पाएँ, नबिक्नु भनेको त समयमै बिहे नहुनु भनेको पो रहेछ । त्यतिबेला ति नबिकेका भन्ने ट्याग लागेका दिदी वा फुपूहरू प्रायः क्याम्पस पढ्दै गरेका वा कुनै पेशा अंगालेका हुन्थे ।

छोरी सोह्र/सत्र वर्ष पुगे नबिकेकी भन्ने ट्याग लाग्ला कि भन्ने डरले डोली चढाईहाल्ने चलन रहेको त्यसबेला बिस बाईस पुगे छोरीचेलीले स्वतः नबिकेकीको ट्याग धारण गर्थे ।

सायद ती चेली अझै पढ्न चाहन्थे, प्रगति गर्न चाहन्थे अनि आफू सुहाऊँदो वर पर्खिन्थे तर त्यस बेलासम्म नबिकेकाको ट्याग लागिसक्थ्यो । पुण्य मिल्छ भन्दै रजस्वला नै नभएकी छोरीको बिहेदान गर्ने समयमा बिस बर्ष कट्दा नी बिहे भएन भनेतः उल्कै हुन्थ्यो नि ।

त्यसबेलाको सोह्र सत्र अचेल बाइस तेइस पुगेको छ । अचेल बाइस तेइस पुगे भोज खाने हतार हुन्छ । त्यो भोज त्यसबेला अझ मिठो होला जब छोरीचेली आफै जीवन धान्न सक्षम होलिन् ।

सोच फेरिने क्रममा छ फेरिइसकेको छैन । ट्यागका कारणहरू फेरिने क्रममा छन् तर ट्याग प्रथा निर्मुल भइसकेको छैन् । अचेल बिस बाईस वर्षीया छोरीलाई शहर तिर पीआरवाला ज्वाईलाई दिने फेसन बढ्दो छ, ट्यागहरूकै डरले ।

उहिले न अहिले, पुरूषले कुनै लेख लेख्दा घोत्लीनु पर्दैन नतिजा के आउँछ भनेर । न त बिहे गर्ने समय पार भएकोमा ट्यागबाट तर्सिनुपर्दछ । बढ्दो साक्षरता प्रतिशत सँगसँगै लेख्ने अनि पढ्नेको संख्या स्वतः बढिरहेको छ ।

लेखनका क्षेत्रमा बिट नछुट्याइयोस् अनि खुला भएर इच्छाएको विषयमा कलम चलाउन पाईयोस् । तर्साउने छैनन् नकारात्मक कमेन्ट अनि ट्यागहरूले बरू अझै लेख्न प्रेरित गर्नेछन् ।

फरक विषय र फरक धार लेख्ने महिला लेखिकाको संख्या बढ्दो छ । तिनको सृजना पनि बढिरहेको छ ।

Twitter : @farsumitra
[email protected]

लेखकबाट थप

नबोल्ने मायाहरूका नाउँमा

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.