www.tandavnews.com
Fact ~ In search of truth

फोहोर निषेधित अभियानमा ट्राफिक प्रहरी

सञ्जय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

सडक सफा पार्ने अभियानमा लागेको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले जिल्लामा पर्ने मध्यपहाडी लोकमार्ग र मुस्ताङ्ग जोड्ने मालढुंगा– बेनी सडक खण्डलाई ‘फोहोर फाल्न निषेधित क्षेत्र’ बनाउन लागेको छ ।

मुख्य सडकमा जथाभावी फोहोर फाल्ने क्रम नरोकिँदा लोकमार्ग निकै फोहोर र दुर्गन्धित भएका कारण ट्राफिक प्रहरीकै सक्रियतामा लोकमार्गलाई सफा राख्न यो अभियान थालिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख रामकृष्ण गौलीले जानकारी दिए । उनका अनुसार पर्वत र कास्कीको सीमानामा पर्ने धौलागिरी गेटदेखि पर्वत र बागलुङ जिल्लाको सीमाना मालढुंगा सम्मको मध्यपहाडी लोकमार्गको पर्वत खण्ड र मालढुंगादेखि म्याग्दीको सीमाना वारीबेनी सम्मको सडक खण्ड गरि साढे ४२ किलोमिटर सडक खण्डमा फोहोर फाल्न निषेध गरिएको छ ।

Batas

गौली भन्छन्, ‘ट्राफिक प्रहरीको काम चिट काटेर राजश्व सङ्कलन गर्ने मात्र होइन सडकसँग सम्बन्धित अरु धेरै कामहरु गर्न बाँकी छन् । हामीले सुरुमा राजमार्गलाई सफा बनाउन लागिरहेका छौँ ।’ गौली कै नेतृत्वमा केही दिन अगाडि मात्र सडकमा रहेका साना ठूला ढुंगादेखि प्लास्टिक, कागज, काठका टुक्रा लगायतका फोहोर वस्तुहरु हटाइसकिएको छ ।

पर्यटकीय हबको रुपमा विकास हुँदै गएको पर्वतमा आउने आन्तरिक र बाह्य पर्यटक र सवारी साधनमा यात्रा गर्ने सर्वसाधरण यात्रुलाई समेत सचेत बनाउँदै निषेधित क्षेत्र लागु गर्ने तयारी प्रहरीको छ । ‘स्थानीय तहको सहकार्यमा यो अभियान सञ्चालन गर्न लागेका हौँ,’ जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख, प्रहरी नायव उपरीक्षक भुवनेश्वर तिवारीले भने, ‘सडकलाई फोहोर निषेधित क्षेत्र घोषण गर्न लागिएको सम्भवत पहिलो अभ्यास भएकाले यसलाई सफल कार्यान्वयन गर्ने पक्षमा छौँ ।’

सडक क्षेत्रमा पर्ने मोदी गाउँपालिका, कुश्मा नगरपालिका र जलजला गाउँपालिकाले आफ्नो क्षेत्रलाई फोहोर फाल्न निषेधित क्षेत्र घोषणा गर्ने प्रमुख तिवारीले बताए । पालिकाको सुरुवात र अन्त्य हुने ठाउँमा सचेतनामुलक होडिङ्ग बोर्ड राख्ने, सवारी साधनमा फोहोर नफाल्ने स्टिकर टाँस्ने तथा प्रहरी सहित पालिका, वडा र टोल तहका सामुदायिक प्रहरी समितिले हरेक सवारी साधनमा चढेर यात्रुहरुलाई अनुरोध गर्ने कार्यक्रम राखिएको छ । सुरुमा जनचेतना जगाउने र पछिल्ला दिनमा फोहोर फालेको भेटेमा कारबाही गर्ने योजना प्रहरीको छ ।

जिल्ला प्रहरी कार्यालयले विभिन्न क्षेत्रका व्यक्तिसँग दैनिक रुपमा आयोजना गर्ने ‘टि–टक’ कार्यक्रममा तिन वटै पालिकाका प्रमुख र प्रतिनिधिको उपस्थितिमा सरसफाइलाई नमुना बनाउनका लागि सडकमा जथाभावी फोहोर नफाल्ने निर्णय भएको थियो ।

सडक फोहोर गर्नेलाई के हुन्छ कारबाही ?

सडक सफा राख्ने अभियान थालेको प्रहरीले सडक वा सडक आसपासका ठाउँमा फोहोर हुने गरी कुनै पनि अनावश्यक वस्तु फालेको थाहा पाएमा ती व्यक्तिलाई कारबाही गर्ने छ । ट्राफिक प्रहरी प्रमुख गौलीका अनुसार कसैले पनि सडकमा फोहोर फालेको पाइएमा फोहोर फाल्ने व्यक्तिलाई पक्राउ गरी उसलाई सडकको फोहोर हटाउन लगाइने छ ।

पर्वतको मुख्य र बढी भिडभाड हुने बजार क्षेत्र कुश्माको शिवालयचोकमा दैनिक रुपमा ट्राफिक प्रहरीको ड्यूटी नै राखिएको छ । ड्यूटीमा रहने प्रहरीले मोटरसाइकल मार्पmत लोकमार्गको पनि अवलोकन गर्ने छन् । कोही पनि व्यक्तिले एक पटक मात्र पनि सडकमा फोहोर फालेमा उक्त ठाउँको सबै फोहोर उसले नै सफा गर्नुपर्ने छ ।

यस्तै, बस बिसौनी लगायतका अन्य ठाउँमा पनि सवारी साधनहरु रोक्ने क्रममा राखिने वेटको रुपमा ढुंगा प्रयोग गर्न पाइने छैन । चालकहरुले वेटको रुपमा सडक छेउका ढुंगा सडकमा ल्याउने तर पछि सडकमा त्यसै छोडेर हिँड्ने गर्दा सडक नै ढुंगाले पुरिने गरेको तथा अरु सवारीलाई दुर्घटनाको जोखिम बढेका कारण वेटको रुपमा ढुंगा राख्न नपाउने बनाइएको हो ।

सवारी चालकहरुले फलामको वेट बनाएर सवारीमा राखेरै हिँड्नुपर्ने छ । रोक्नपर्ने ठाउँमा त्यही वेट मात्र प्रयोग गर्न पाइने छ । ट्राफिक प्रहरी प्रमुख गौली भन्छन्, ‘कसैले पनि वेटको रुपमा एउटा मात्र ढुंगा सडकमा ल्याए भने, उसले अरु थप १० वटा ढुंगा सडकबाट सफा गर्नुपर्ने छ ।’

यस्तो छ चुनौती

जिल्ला प्रहरी कार्यालय पर्वत र जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले सुरु गरेको यो अभियानमा सघाउन जिल्लाका सामाजिक संघ संस्था, सरकारी कार्यालय र स्थानीय तहहरु पनि तयार भएका छन् । जिल्लाबासीले प्रहरीले सुरु गरेको यो अभियानको प्रशंसा पनि गरेका छन् ।

तर राजमार्ग गुड्ने सवारी साधनमा सवार यात्रुहरुले थाहा नपाएकै कारण सवारीका झ्यालबाट फाल्ने फोहोर भने अभियानको लागि चुनौती हुन सक्ने बताउँछन् । राजमार्गको छेवैमा घर भएका नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा पर्वतका सभापति रुद्रबहादुर रिमाल भन्छन्, ‘प्रहरीले थालेको यो अभियान निकै प्रशंसनीय छ । राम्रो कामको थालनी भएको छ । तर बसका यात्रुहरुले झ्यालबाट फाल्ने फोहोरले अलि चुनौती थप्ने हो की ?’

यद्यपि डिएसपी तिवारी भने यसलाई नियन्त्रण गर्न चुनौती नरहेको बताउँछन् । सडकका बिभिन्न ठाउँमा सीसी क्यामेरा राखिएका कारण कुन सवारीबाट फोहोर फालिएको हो भन्ने थाहा हुने भएकाले सोही अनुसार फ्लोअप गर्दा झुक्किएर गल्ती गर्नेहरुलाई सजग बनाउने उनको भनाइ छ ।

यस्तै, सवारी साधनहरु भित्र नै कुहिने र नकुहिने गरेर २ खालका डस्विन राख्न लगाउने योजना रहेकाले यात्रुहरुले बसभित्रैको डस्विन प्रयोग गर्नेमा आपूm ढुक्क रहेको उनको भनाइ छ ।

त्यसबाहेक जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्वतले पनि सडकमा गुड्ने गाडीहरुलाई यसबारेमा रोक्दै जानकारी गराउँदै गरिरहेका कारण रुटमा चल्ने सबै सवारी साधनहरुलाई अभियानबारे थाहा हुने ट्राफिक प्रहरी प्रमुख गौलीले बताए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.