www.tandavnews.com
Fact ~ In search of truth

गुलजार कोशी, डेट् एक्सपायर्ड ब्यारेज

– सुरज हजारे दाहाल

पोखरा र राजधानीबाट साँझपख छुटेका बसहरु बिहानको झिसमिसेमा पूर्वी भेग पुग्दा एउटा लामो पुलमा बत्ति बलेको देखिन्छ ।

उक्त पुल यति लामो छ कि कहाँ निर अन्त्य भएको छ ठम्याउनै गाह्रोे हुन्छ । एकैछिनमा आफैले देखेको त्यो पुलमाथि बस गुड्न थालेपछि पनि पुल अन्त्यहिन जस्तो लाग्छ ।

Batas

सो पुल केबल पुल मात्र नभएर नदीको बहावलाई नियन्त्रण गर्ने ब्यारेज समेत हो । नेपालको सबैभन्दा ठूलो नदी कोशीमाथि निर्मित पुलको नाम हो कोशी ब्यारेज ।

कोशी ब्यारेजको छेउमा रहेको सेतो बोर्डमा कालो अक्षरमा अंग्रेजी भाषामा ‘कोशी ब्यारेजमा यहाँलाई स्वागत छ, बनाइएको साल सन् १९६४, ब्यारेजको लम्बाई ११४९ मिटर, पानी छोड्ने गेट ५६ वटा, सवारी गति सिमा प्रति घण्टा २० किमी, यहाँ तस्विर लिन सख्त मनाही छ ।’ भनेर लेखिएको छ ।

पुलमा सवारी गति प्रति घण्टा २० किमी भनेता पनि चेकजाँच नहुँदा तिब्र गतिमा मालबाहक साधानहरु हुत्तिएर आउँछन् । केही समय अगाडि यहि कोशी ब्यारेजको रेलिङ भत्काएर तिब्र गतिमा आएको ट्रक कोशी नदीमा खसेको थियो ।

कोशी नदी स्थानीयहरुका लागि रोजीरोटीको साधन पनि हो । कोशीमा माछा मारी बेचेर कैयौं जलारीहरुले आफ्नो परिवारको जिविका चलाएका छन् । कोशी ब्यारेजको फुटपाथबाट बालुवाले बनाएका टापु देखिन्छन् जहाँ जलारीहरु आफ्नो जालहरु सुकाउँछन् र डुंगाहरु बाँधेर राख्छन् ।

क्यामेरा भएमा लेन्स जुम गरेर कोशी ब्यारेज पारी माझीले माछा मार्दै गरेको दृश्य कैद गर्न सकिन्छ । तर ब्यारेजतर्फ भने तस्विर कैद गर्न प्रतिबन्धको संकेत बोर्ड छ । जलारीहरुले जाल हानेर फसेका माछालाई टापुमा बसेर माछा झिक्दै गरेको दृश्य निकै रोमाञ्चक देखिन्छ । साना बालकहरु भने ब्यारेजबाट नै बल्छी थाप्छन् ।

कोशी नदी नेपालकै सबैभन्दा ठूलो नदी भए पनि दुःखद पक्ष के छ भने हालसम्म यस नदीबाट विद्युत उत्पादन गरिएको छैन । ब्यारेज मुनी ५६ वटा ढोका रहेका छन् । बाढी आउँदा नदीमा अत्यधिक पानी बग्दा सबै ५० वटा जति ढोका खोल्ने गरिन्छ ।

यो ब्यारेज नेपाल इन्डिया सिमा नजिकै नेपाली भूमिमा छ । कोशी ब्यारेज सन् १९५८ देखि १९६४ को बिचमा निर्माण सम्पन्न गरिएको थियो । २५ वर्ष आयु तोकिएको कोशी ब्यारेजको डेट एक्सपायर सन् १९८७ मा भएर पनि ३० वर्ष बढी प्रयोग भइसकेकाले जिर्ण भएको छ ।

यहि ब्यारेजबाट करिब ७ किलोमिटर टाढा कोशी टापु आरक्षण केन्द्र रहेको छ । अझै पनि कोशी ब्यारेजको घुमाउरो नियन्त्रण इन्डियाले गर्दै आएको छ । भारतको अनुमति बिना बाढी आउँदा समेत सबै ढोका खोल्न पाइदैन ।

१० वर्ष अगाडि २०६५ भदौ २ गते कोशीमा ठूलो बाढी आउदा ब्यारेजको सबै ढोका नखोलिदिँदा कोशी ब्यारेज रहेको सुनसरी जिल्लाका तत्कालिन ५ गाविसहरु बाढीको चपेटामा परेका थिए । सुनसरीका करिब १० हजार परिवारका ६० हजार व्यक्तिहरु कोशीबाट प्रभावित भएका थिए । उसो त कोशीको पानीले भारतको बिहारलाई पनि डुबाउदै आएको छ ।

ब्यारेजको पारीतर्फ कोशीमा मारिएका माछाहरुको परिकार बेच्ने झुपडीहरुको लस्कर नै छ । त्यहाँ कोशीको तिल्पिया, झिंगा माछा, कोशी बाम र कत्ले जस्ता माछाहरुको फ्राइ, ग्रेभी जस्ता परिकारहरु पाइन्छन् ।

ब्यारेज कटेर लामो यात्राको थकान मेट्ने यात्रुहरुको भिड माछा पसलमा देखिन्छ । भुजा र प्लेट भरि माछाको ८० रुपैयाँमै पाइन्छ । एक सोली फ्राइ गरेको झिंगे माछालाई ६० रुपैयाँ पर्छ । कोशी नदीमा मारिएको चाँदी झैं टल्किने माछालाई मसलेदार तरिकाले भुटेर मुखै रसाउने सुनौला रंग हुन्जेल भुटेर ग्राहकलाई दिइन्छ ।

यसरी पुग्ने

कोशी ब्यारेज मात्रै घुम्ने भनेर कोही जाँदैन तर धरान तथा भेडेटार घुम्न जाँदा धरान पुगेर आराम गरेपछि भोलिपल्ट लोकल गाडीमा २ घण्टा यात्रा गरेपछि ब्यारेज आइपुगिन्छ ।

धरानसम्म पुग्न हरेक दिन बेलुकी ४ः३० बजे डिलक्स बस लेकसाइडबाट छुट्छ जुन भोलिपल्ट बिहान ५ बजेतिर कोशी ब्यारेज आइपुग्छ । पूर्वीको कुन ठाउँ घुम्ने हो सोही अनुसार न्यूनतम खर्च १५ हजार रुपैयाँमा थप्नुपर्छ ।

लेखकबाट थप

भेडेंटारको कुहिरो र राजारानी ताल

चिया बगानदेखि प्यालासम्म …

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.