www.tandavnews.com
Fact ~ In search of truth

टिकापुर पार्क, दरबार र पुष्पवाटिका

– सुरज हजारे दाहाल

२०२४ सालमा राजा महेन्दलाई हृदयघात भएपछि चिकित्सकले उनलाई प्राकृतिक क्षेत्रमा केही महिना आराम गर्न सुझाएका थिए । त्यसपछि उनी कैलाली जिल्लाको टिकापुर गएका थिए ।

पञ्चायती शाषण मार्फत देशको बागडोर आफ्नो हातमा लिएका राजा महेन्द्रले स्वस्थ्यलाभ गरुन्जेल कैलालीको टिकापुरबाट देश चलाएका थिए । तत्कालिन सुदूरपश्चिम र हालको प्रदेश नं ७ मा पर्ने टिकापुर क्षेत्र बर्दिया, बाँके, महेन्द्रनगर आसपासका विद्यार्थीहरुले छोटो भ्रमण गर्ने स्थल पनि हो ।

Batas

नेपालकै सबैभन्दा ठूलो मानव निर्मित टिकापुर पार्कमा वनभोज गर्न आउँनेको पनि घुँइचो लाग्छ । २० रुपैयाँको टिकट काटेर छिर्न सकिने यस पार्कको दक्षिणमा कर्णाली नदी सलल बगिरहेको हुन्छ । सिजनको बेला एकै दिन हजारौं मानिस घुम्न आउँछन् ।

टिकापुर पार्क टिकापुर बजारबाट करिब ४ किलोमिटर दक्षिणमा पर्छ । बजार पुग्न भने महेन्द्र राजमार्गसँगै जोडिएको लम्कीबाट कच्ची बाटो हुँदै बसमा २ घण्टा यात्रा गर्नुपर्छ । आधुनिक तरिकाले बस्ती बसाल्नकै लागि भनेर टिकापुरमा पुर्वाधार पनि खडा गरिएको छ । टिकापुर पार्कको कुल क्षेत्रफल ८५ बिगाह छ । करौंडौ लागतमा टिकापुर नगरपालिकाले महेन्द्र आरोग्य केन्द्र, वीरेन्द्र आश्रम, ऐश्वर्य बगैंचा नाम दिएर पूर्वाधारहरु खडा गरेको छ ।

पार्कमा मौसमी र बेमौसी फूलहरु फुलेको देख्न सकिन्छ । रानी ऐश्वर्य टिकापुर भ्रमण आउँदा उनले यहाँ विभिन्न फूलहरु रोप्ने गर्थिन् । बगैंचा र फूलहरुमा बढी दिलचस्पी राख्ने रानी ऐश्वर्य कवियत्री पनि थिइन् । यिनकै नामबाट ऐश्वर्य बगैंचा नामकरण गरिएको हो । तराईको सदाबहार मौसमी क्षेत्रमा पर्ने यस पार्कमा विशेष गरि गुलाफका धेरै प्रजाती फुलेको देख्न सकिन्छ ।

पार्क प्रवेश गरेपछि एउटा ठूलो स्तम्भ आउँछ जुन पार्कको रजत स्तम्भ हो । स्तम्भमा महेन्द्रले रचना गरेको उपहार नामक कविता कुँदिएको छ । सोहि स्तम्भ नजिकै हेलीप्याड पनि रहेको छ जहाँ तत्कालिन राजपरिवार अवतरण गर्ने गर्दथे ।

पार्कलाई तीन भागमा विभाजन गरिएको छ । स्तम्भको बायाँ तर्फ राजा वीरेन्द्रको विश्राम गृह रहेको छ । त्यसवरपरको बगैंचलाई ऐश्वर्य वाटिका नामकरण गरिएको छ । स्तम्भको अगाडि महेन्द्र आरोग्य गृह रहेको छ र त्यसवरपरको बगैंचालाई रत्न वाटिका नाम दिइएको छ ।

यस्तै उक्त पार्कमा ठूलो फलफूल बगैंचा रहेको छ जहाँ विभिन्न फलहरु फलेको देखिन्छ । आँप, लिची, रुख कटहर जस्ता गर्मी क्षेत्रमा फल्ने फलहरु पार्कका रोपिएका छन् । महेन्द्र र वीरेन्द्र विश्राम गृह सुन्दर तरिकाले काष्ठकलाबाट निर्माण गरिएको छ । बाहिरबाट हेर्दा काठको भए पनि भित्र भने सुुविधा सम्पन्न बेडरुम, बाथरुम, अतिथि कक्ष रहेका छन् ।

यस पार्कमा राजपरिवारहरु आएर गर्मी महिनामा विश्राम गर्ने गर्दथे । पार्क भरि ८० प्रकारका गुलाफको फूल फुल्छन् । शान्त र रमणीय पार्कको वातावरणका कारण मुटु रोगबाट पीडित भएका राजा महेन्द्रले बिसं २०२४ सालमा टिकापुरमा आएर करिब डेढ महिना आराम गरेका थिए ।

टिकापुर बसेर राज्य चलाउन अप्ठ्यारो भएपछि राजा काठमाडौं फर्किए र टिकापुर क्षेत्रमा सहरी विकास गर्न र कर्णाली किनारमा पार्क बनाउन राजाबाट निर्देशन भएको थियो । २०२८ सालमा भौतिक योजना तथा निर्माण मन्त्रालय अन्तर्गत टिकापुर विकास समिति स्थापना गरी ३ हजार १ सय ७३ विगाह जमिन दिएर सहरी विकास गर्ने अधिकार सरकारले दिएको थियो ।

यहि टिकापुर पार्कबाट कर्णाली नदीमा डल्फीन तथा गोही पनि देखिन्छ ।

यसरी पुग्ने

पोखरादेखि हरेक दिन १ः३० बजे महेन्द्रनगर जाने बस छुट्छ । उक्त बस भोलीपल्ट बिहान ५ बजेतिर कैलाली जिल्ला आइपुग्छ । कैलालीको लम्की आएपछि त्यहाँबाट लोकल बसमा करिब दुई घढटामा टिकापुर पार्क पुगिन्छ ।

पार्ककै आसपास बनाना क्याम्प पनि छ, जहाँ केराको परिकारहरु पाईन्छ । साथै कर्णालीमा राफ्टिङ पनि गर्न सकिन्छ । पार्कबाट २४ किमीको दूरीमा कर्णाली पुल र ४८ किमीको दूरीमा घोडाघोडी ताल पनि रहेको छ । यी सबै ठाउँमा एक हप्ता समय छुट्टाएर घुम्दा १८ हजार रुपैयाँ खर्च लाग्छ ।

लेखकबाट थप

गाभर भ्यालीः गर्मीमा छहारी

प्रेमको प्रतीक रानी महल

गुलजार कोशी, डेट् एक्सपायर्ड ब्यारेज

जाऔं बर्दिया निकुञ्जको सफारीमा…

नयनमा गड्ने सुन्दर ‘नैनीताल’

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.