www.tandavnews.com
Fact ~ In search of truth

पोखरामा नसुल्झिएका चार हत्याकाण्ड

अर्जुन गिरी
पोखरा, ताण्डव न्यूज । 

हत्या जघन्य अपराध हो । हत्या भएपछि प्रहरीले अनुसन्धान थाल्छ । स्थलगत मुचुल्का गर्छ । विभिन्न व्यक्तिलाई कानुनी दायरामा ल्याएर सोधपुछ गर्छ । मिसिल (मुद्धाको लागि तयार पारेको प्रमाण र कागजपत्र) तयार पार्छ अनि सरकारी वकिल हुँदै अदालतमा मुद्दा पुग्छ ।

कहिलेकाँही विभिन्न कारणले गर्दा हत्याको घटना प्रहरीको फाइलमा मात्र सिमित हुन पुग्छ । केही हत्या नभएपनि आफन्तले दावि गर्ने हुँदा समस्या आउछ त कहिले हत्याको प्रमाण फेला नपार्दा घटना सुल्झाउन सकिदैन् ।

Batas

त्यति मात्र होइन प्रहरीले सुरुवातकै समयमा सही छानबिन नगर्दा र केही शक्ति र राजनीतिक दवावका कारण दसी प्रमाण नष्ट गर्दा घटनाले किनारा पाउँदैन् । जसका कारण जघन्य अपराधका घटनामा वास्तविक न्याय दिलाउने ढोका थुनिन्छ ।

त्यति मात्र होइन पीडितले स्पष्ट जाहेरी नदिँदा पनि यस्तो हत्याको घटनामा समस्या आउने गर्छन् । जुन घटना प्रहरीको फाइलमा मात्र सिमित हुन पुग्छ । हुन प्रहरी चाहेमा २० वर्षसम्म पनि अनुसन्धान गर्न सक्छ तर प्रहरी अधिकृतको इच्छाशक्तिमा भर पर्ने कुरा हो ।

डाक्टरले ‘कज अफ डेथ’ प्रष्ट पार्दा पनि प्रहरी निस्कर्षमा नपुग्नु अर्को विडम्वना हो । अनुसन्धानलाई निरन्तरर्ता दिएको खण्डमा अपराध र अपराधी पकै पनि पत्ता लाग्थ्यो होला । तर अनुसन्धान अधिकृत एक दुई वर्षमै फेरिदा जुन गतिमा अनुसन्धा हुन पर्ने हो त्यो गतीमा नहुदा घटना सेलाउन पुग्छ । कास्कीमा पनि यस्तै केही घटनाहरु यस्तै छन् । जुन अहिले कास्की प्रहरीको फाइलमा सिमित छन । ति फाइलमा पेन्डिङ केश अहिले पनि पीडितहरुको लागि न्यायको बाटो हुन सक्छ ।

हत्या भएको भनी रुँदारुदै आमाको आशु सकियो

मादी सिल्दुजुरे घर भई पोखरा नयाँ बजार बस्ने २५ वर्षीय सूर्य पाण्डेको २०७१ साल फागुन ६ गते नयाँबजार राममन्दिर पछाडि सेती नदी पुलमुनी शव फेला प¥यो ।

आफ्नो छोरालाई ५–६ जनाले कुटेर मारेको भन्दै आमा विष्णुकुमारी पाण्डे न्यायको लागि कहाँ पुगिनन् । न त उनले अहिलेसम्म न्यायनै पाएकी छन् न त प्रहरी प्रशासनले उनको छोराको मरण आफै भएको भन्न सकेका छन् । ४ वर्ष अघिको घटनाको तत्कालिन कास्की प्रहरीले फितलो अनुसन्धान गरेको अरोप पनि लागेको थियो ।

त्यही भएर पनि होला साउन ७ गते विष्णुकुमारीलाई लिएर राष्ट्रिय मानव अधिकार आयोग पोखरा कार्यालयका निमित्त निर्देशक नितु गर्तौला, इन्सेक पोखरा कार्यालय संयोजक शिव खकुरेल, इन्सेक पोखरा कार्यालयका प्रलेख अधिकृत सुमित्रा भट्टराई र सूर्यका आफन्त कास्की प्रहरीकहाँ पुगेका थिए । जिल्ला प्रहरी कार्यालय कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङले घटनाको थप अनुसन्धान गर्ने बताएका थिए । तर ४ वर्ष अघि जस्तै अहिलेसम्म कुनै किनारा लगाउन सकेको छैन् । यसघटना पनि हत्या हो कि होइन कास्की प्रहरी अन्यौलमै छ ।

ओझेलमा परेको लिम्बु हत्या काण्ड

३ बर्ष अघि मोरङ घर भएकी ४० वर्षीया सरस्वती लिम्बु, मालेपाटनमा मृत भेटिइन् । उनको टाउको पछिल्लो भागमा चोट थियो ।

पोखरा नयाँ गाउँकी नेहाको हत्या हुन भन्दा दुई दिन अघि उनको शव फेला परेको हो । नेहा हत्या काण्डले पोख्रेलीको ध्यान तान्यो र मिडियाको पनि विग कभरेज बन्यो तर ति लिम्बुको कुनै चासो भएन् । सामान्यतया प्रहरीले आफ्नो भुमिका मात्र निभायो ।

मालेपाटनमा डेरा गरी बस्ने लिम्बुको पनि हत्या भएको हो भन्ने प्रहरीलेनै भनेको थियो । एउटा ठाउँमा मारेर अर्को ठाउँमा उनलाई फालिएको थियो । रगतको आहाल बाटोमा थियो तर उनको शव २ फिटको पर्खाल नघाएर फालिएको थियो ।

त्यो वेला वडा प्रहरी कार्यालय वैदामले ‘हिट एण्ड रन’ को केश हो भनेपनि लिम्बुको कम्मरमुनी कुनै चोट नभएको मेडिकल रिपोर्टमा थियो । उनको कज अफ डेथ टाउको चोटको कारण भएको स्पष्ट थियो । तर अहिलेसम्म उनको हत्यारा पत्ता लागेको छैन् ।

बुवालाई मारेर कुलोमा फालेको हुनपर्छ

दुई वर्ष अघि कास्की कोट घर भई अर्घौ रिठ्ठे पानी बस्दै आएका भक्त गिरीको शव चाउथे एक कुला फेला प¥यो । उनको पनि टाउकोमा चोट थियो ।

लभ कुश दूध डेरीमा काम गरेर राती करिब ८ बजेतिर घर फर्कदा उनको हत्या भएको आफ्न्तको भनाई थियो । घर परिवारमा कुनै तनाव थिएन् । अन्य साथीभाई आफन्तसँग पनि राम्रै सम्बन्ध थियो गिरीको । तर एक्कासी कुलमा शव फेला पर्दा हत्या भएको हुन सक्ने आफ्न्तको दावी थियो ।

कास्की प्रहरीले घटनाबारे अनुसन्धान थाल्यो तर हत्या भएको हो वा होइन भनेर किटान अझैसम्म पनि गर्न सकेको छैन् । एक महिना अघि भक्तकी छोरी सुनिता गिरीले घटना बारे पुन जाहेरी दिएकी छन् ।

‘वुवाको हत्यानै भएको हो, टाउकोमा कसैले हानेर मारेको हुनुपर्छ,’ उनले भनिन्, ‘घरमा केही त्यस्तो थिएन् सबै राम्रौ थियो । कसैले मारेर कुलोमा फाल्दिएको हुनु पर्छ । शव हेर्दा त्यस्तै देखिन्थ्यो । तर अहिले सम्म न्याय पाएका छैनौ ।’

पुष्पा हत्या काण्ड

यही भदौ ७ गते बलात्कार पछि हत्या भएको भन्दै पोखरा–१३ लामाचौरकी पुष्पा केसीको घटना बाहिर आयो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले बलात्कार नभएको पुष्टी त ग¥यो तर हत्या हो की होइन भन्ने अझै पत्ता लागेको छैन् ।

आफन्तले हत्या भएको भनिरहँदा प्रहरीले हत्या भएको कुनै आधार प्रमाण पत्ता लाउन सकेको छैन् । घटना भएको दिन पढाई सकेर विद्यालयबाट घर फर्कदै गरेकी पुष्पा घर भन्दा झण्डै सय मिटर वर झरिन् । विन्ध्यवासिनी माध्यमिक विद्यालय बाटुलेचौरको बसले घर छाड्ने क्रममा तरकारी किन्न ममीले भन्नुभएको भन्दै उनी त्यहाँ झरेकी थिइन ।

स्कुल छुटेर त्यहाँ झरेकी पुष्पा त्यो रातभरी वेपत्ता भइन् । उनको शव भोलिपल्ट फापरतरो स्थित शैलजा स्मृती पार्कको पाडिको भिर मुनी फेला प¥यो । पुष्पाको देब्रे भाग लतारिएको थियो । स्कुल डे«सको जामा फुक्लिएको थियो । चश्मा र जुत्ता फुत्किएको थियो ।

गोरो वर्णकी पुष्पाको शरिरमा कतै बाहिरी चोट भने थिएन् । भीरबाट १२ मिटर तल र भिरालो जमिनको १० मिटर परसम्म पुष्पा लछारिएको हुन सक्ने प्रहरीको अनुमान छ । देब्रे खुट्टाको गोलिगाँठो भन्दा माथिको जोर्नी फुस्किएको देखिन्छ ।

एक महिना वित्तिसक्दा पनि पुष्पाको हत्या भएको हो या होइन भनेर प्रहरी निस्कर्षमा पुग्न सकेको छैन् । पुष्पाको अंग (भिसेरा) रिपोर्ट लागि काठमाडांै पठाइएको छ । त्यहाँबाट धेरै कुरा खुल्ने जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए । ‘यहाँबाट अनुसन्धान भइरहेको छ,’ उनले भने, ‘धेरै कुरा भिसेराको रिपोर्टले देखाउछ, हामी पनि त्यही कुरेर बसेका छौ ।’

वैज्ञानिक पद्धती नहुँदा अपराध र अपराधी पत्ता लाग्दैन्

जनकल्याण पराजुली
अधिवक्ता

हाम्रो अपराध अनुसन्धान गर्ने पद्धती वैज्ञानिक छैन् । परम्परागत तरिकाले दसी–प्रमाण जुटाउने गरको पाइन्छ । अपराधीले हतियार, काजपत्र, अन्य सामान छोडेको छ कि भन्ने मात्र खोजिन्छ ।

त्यस वाहेक रौको खोजी हुदैन् । मानिसको रौले अपराध पत्ता लगाउने सबैभन्दा बलियो प्रमाण मानिन्छ । डिएनए टेस्ट ग¥यो भने अपराधी पत्ता लगाउन सजिलो हुन्छ ।

अपराधलाई राजनीतिक बनाउनु अर्को विडम्बन हुन सक्छ । राजनीतिक र शक्तिको हस्तक्षेपले पनि अपराध र अपराधी लुकाउने काम गर्न सकिन्छ । अहिलेको निर्मला हत्या काण्ड यसको बलियो उदाहरण हो । यस्तो अन्य हत्याका घटनामा यहाँ भन्दा पहिल्यै धेरै पटक भएको छ ।

मिडियाको भूमिकाले पनि यस्तो कुरामा असर गर्छ । अपराध र अपराधी पहिचान हुनु अघि अनुसन्धानमै असर पर्ने काम कहिलेकाँही मिडियाबाट हुन्छ । अपराध र अपराधी पहिचान हुनु अघि जनमानसमा अर्को गलत प्रभाव पारिन्छ अनि सोही अनुसार जनलहर उर्लिने हुन् । त्यस्तो अवस्थाले कहिलेकाँही अनुसन्धान अधिकृतलाई डर पैदा गर्न सक्छ । हुन त त्यस्तोमा पनि अनुसन्धान अधिकृतको क्षमतामा भर पर्छ । अनुसन्धानले एउटा कुरा पत्ता लागेको हुन्छ अनि मासले अर्को कुरा चाहेको हुन्छ त्यो वेला मिडियाको भूमिका कस्तो हुन्छ भन्ने हो ।

सरकारी वकिलले मार्ग दर्शक र निर्देशन नदिनु पनि कहिलेकाँहि यस्तो घटनामा प्रहरी चुकेको पाइन्छ । विधि शास्त्रको प्रयोग हुदैन् । त्यही भएर प्रहरीको काम कारवाहीले पनि कहिलेकाँही घटनालाई असर पार्छ । कसुुर हो कि होइन भनेर हेर्नु भन्दा पहिला पक्राउ पर्नु अनि गुस्तरीय काम भन्दा पनि संख्यात्मक काम गर्नु ।

जसले गर्दा प्रहरीले काम गरेको छ है भनेर भ्रम पार्ने काम गर्दा प्रमाण जुटाउन तिर भन्दा अनावश्यक काममा ध्यान जाने हुन्छ ।

स्पष्ट जाहेरी नदिँदा समस्या

रवीन्द्रमान गुरुङ
प्रवक्ता तथा डिएसपी
जिल्ला प्रहरी कार्यालय कास्की

कुनै पनि हत्या वा अरु घटना हुन्छन् । हामीकहाँ खबर आउँछ, अनि हामी घटना स्थलमा पुगेर अनुसन्धान अघि बढाउछौं । घटनाबारे सम्बन्धी पक्ष (पीडित)ले जाहेरी दिएपछि सोही अनुसार आवश्यक परेको मान्छेलाई सोधपुछका लागि ल्याउने हिरासतमा राख्ने गरिन्छ ।

कहिलेकाँही घटना हुन्छ । पीडित पक्षले स्पष्ट जाहेरी आउदैन, त्यसले पनि समस्या पर्छ । त्यस्तो केस पेन्डिङ रहन्छ । हत्याको सन्दर्भमा २० वर्षसम्म पनि अनुसन्धान गर्न मिल्ने हुन्छ । त्यसको फ्लोअप गरिरहेका हुन्छौ । पुष्पको केसमा भने अन्य अनुसन्धान भइसकेको छ ।

पोष्ट मार्टम रिपोर्ट पनि आएको छ अब भिसेरा रिपोर्टको आधारमा हामी अघि बढ्छांै ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.