www.tandavnews.com
Fact ~ In search of truth

दुलेगौंडामा युआरएलको शाखा

पोखरा

गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)ले तनहुँको शुक्लगण्डकी नगरपालिकाको दुलेगौंडामा शाखा खोलेको छ । शुक्लगण्डकी ४ मा स्थापित शाखा  गण्डकी प्रदेशका आन्तरिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सुरुआत गरे ।

करिब १ करोड लागतमा शाखा स्थापना भएको हो । सामान्य ल्याबमा नहुने जाँचदेखि विदेश र राजधानी पठाउनुपर्ने संवेदनशील रक्त परीक्षण गरी जनस्वास्थ्यमा टेवा पु¥याउने उद्देश्यले युआरएलले शाखा खोलेको हो । मन्त्री गुरुङले नेपालीहरु धेरै प्रकारका भ्रममा बाँचिरहेको बताए । उनले भने, ‘धेरै कुरामा हामी भ्रममा बाँचेका छौं । स्वास्थ्य, शिक्षा, धर्ममा पनि भ्रममा छौं ।’ भ्रमबाट मुक्त भएर यथार्थपरक जीवन बाच्दै समृद्धिको यात्रा अहिलेको आवश्यकता भएकोमा उनले जोड दिए ।

Batas

स्वस्थ शरीर नै धन भएकाले नागरिकलाई स्वस्थ बनाउन ३ दिनै तहका सरकार लागिपरेको उनले बताए । रोगले थला परिसकेपछि र उपचार नहुने अवस्थामा अस्पताल जाने परिपाटी हटाउँदै बेला बेलामा आफैं गएर परीक्षण गरी स्वस्थ र दीर्घ जीवन बाच्न उनले आग्रह गरे । गण्डकी प्रदेशसभा सदस्य आशा कोइरालाले शुक्लागण्डकी जस्ता नगरमा अत्याधुनिक ल्याब स्थापना हुँदा जनताले गुणस्तरी सेवा पाउने बताइन् ।

पेट तथा कलेजो रोग विशेषज्ञ डा. सुवास भट्टराईले रोगसँग डराएर समाधान नहुने भएकाले समयमै उपचार र आहारविहारमा ध्यान दिन आग्रह गरे । बजारमा अनेक प्रकारका भ्रम रहेको चर्चा गर्दै उनले भ्रमको पछि नलागी विज्ञानले प्रमाणित गरेको चिकित्साकै भर गर्न आग्रह गरे । उनले भने, ‘जन्डिस भए बेसार खान हुन्न, सुगर भए भात खान हुन्न, के केक जुस खाए ठिक हुन्छ भन्ने भ्रमको पछि नलाग्नुस् ।’

तनुहँका दुलेगौंडा, बेलचौतरा, खैरेनीटार, ढोरफिर्दी, भिमाद, थर्पु लगायतका स्थानमा रहेका सेवाग्राहीलाई अन्तर्राष्ट्रिय स्तरको स्वास्थ्य प्रयोगशाला सेवा दिन शाखा स्थापना गरेको युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्तले बताए । उनले गण्डकी प्रदेशलाई रक्त परीक्षण आत्मनिर्भर बनाउने गरी युआरएल लागिरहेको बताए ।

५ वर्षअघि स्थापना भएको युआरएलले यसअघि नै तनहुँको दमौलीमा शाखा खोलिसकेको छ । सोही अवसरमा भएको थाइराइड तथा रगतमा हुने खराब बोसो (टिजी) सम्बन्धी निशुल्क रक्त परीक्षण शिविरमा ४ सय ५३ जनाले सित्तैमा जाँच गराएका छन् । युआरएलले हालसम्म विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेका ६३ शिविरबाट ३५ हजारले निशुल्क सेवा लिएका छन् ।

युआरएलका अध्यक्ष सुशील थापा नागरिकलाई आफैं आफ्नो स्वास्थ्यको जिम्मा लिने बनाउनु युआरएलको लक्ष्य भएको बताए । उनले भने, ‘सुगर भएको छ कि छैन, किड्नी कस्तो छ जचाउन डाक्टरले लेखिरहन पर्दैन, आफैं जाँच गर्न मिल्छ । ’ युआरएलका निर्देशक दिनेशबाबु खड्काले नागरिकलाई गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने दायित्वलाई मार्गदर्शन मानेको बताए । कार्यक्रममा सञ्चारकर्मी ऋषि खतिवडाले पनि बोलेका थिए ।

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.