www.tandavnews.com
Fact ~ In search of truth

गफिने जोडीलाई ठाउँको अभाव

संजय रेग्मी
पर्वत, ताण्डव न्यूज ।

भ्यालेन्टाईन डे माया गर्नेहरुको लागि खुसी र माया साट्ने दिन । भ्यालेन्टाईन डे मा रमणीय ठाउँ वा पार्कमा गएर प्रमिल जोडीहरु गफिने गर्छन् । माया गर्ने जोडीहरुलाई प्रेम पार्कको महत्व ठूलो छ ।

तर, भ्यालेन्टाईन डे मा डेटिङ जानका लागि पर्वतमा उपयुक्त ठाउँको अभाव छ । पार्कहरु निर्माण नभएको पर्वतमा मायालु जोडीहरुलाई डेटिङ स्पटको अभाव भएकै कारण भ्यालेन्टाईन डे मा पार्कमा बसेर मायामा डुबेकाहरुको दृश्य देख्न मुस्किल छ ।

Batas

लभ्ली हिल बन्यो सेक्स हिल

केही बर्ष पहिले सम्म कुश्मा नगरपालिका ५ बडागाउँको नजिकै रहेको लभ्ली हिल भ्यालेन्टाईन डे मा भरीभराउ हुन्थो । हरियो घाँस र अग्ला ठूला काला पत्थरहरुले भरिएको लभ्ली हिलमा भ्यालेन्टाईन डे को दिन त भैहाल्यो त्यस बाहेकको समयमा पनि प्रेम गर्नेहरुको लागि भेट हुने र कुरा गर्ने हब बनेको थियो ।

तर, बजारको बिस्तारसँगै त्यस क्षेत्रमा घरहरु बनेपछि भेटिएर माया साट्नेहरुको लागि ठाउँको अभाव हुन थाल्यो ।

लभ्ली हिल नजिकै बसोबास गर्दै आएका सूर्य केसी भन्छन, ‘केही बर्ष पहिले सम्म यहाँ बिशेष गरी साँझको समयमा आएर जोडीहरु कुरा गरिरहेका देखिन्थे तर आजभोली यो ठाउँमा त्यस्तो छैन् । डेटिङ जानेहरु पनि गफै मात्र गरेर फर्किँदैनन्, गफ गर्न पुगेकाहरु यौन क्रियाकलापमा लागेको देखिन्थ्यो ।’

केसीको भनाई जस्तै साँझपख मायालुसँग भेट्न पुग्ने युवा युवतीहरुले समाजको ख्याल नै नगरी खुल्ला ठाउँमा यौन क्रियाकलापमा संलग्न हुँदा माया साट्ने पाखो प्यास मेटाउने पाखोको रुपमा परिचित भएको त्यस वरपर बस्नेहरु बताउँछन् । त्यही कारणले पनि प्रहरीले सुरक्षाको निरगानी पनि बढाएको थियो ।

अहिलेको गन्तव्य

माया गर्ने जोडीहरुको लागि आजभोली बजार भन्दा बाहिरका केही सार्वजनिक ठाउँहरु बढी प्रचलनमा छन् । डेटिङ स्पटकै रुपमा नचिनिएको भएपनि केही ठाउँहरुमा यदाकदा माया गर्ने जोडीहरु भेटिने नयाँ ठाउँ छन् ।

कुश्मा नगरपालिका–९ कटुवाचौपारीको छेउखन्नमा रहेको पाटेश्वरी मन्दिरको पछाडीको खुल्ला र समथर चौरमा केही जोडीहरु गफिँदै गरेको देखिने गरेको त्यस आसपास बस्नेहरु बताउँछन् । जुन ठाउँ कुश्मा ज्ञादी जोड्ने झोलुङ्गे पुल तरेपछि १० मिनेटको पैदल यात्रामा पुग्न सकिन्छ ।

टेली चलचित्रदेखि, म्युजिक भिडियो र चलचित्र पनि सुटिङ हुने गरेको उक्त क्षेत्रमा बिशेष गरि बिदाका दिनमा घुम्न जानेहरु घण्टौंसम्म मायालुसँग गफ गरेर बसिरहेको देख्न पाइन्छ । बस्तीको नजिकै रहेको त्यस क्षेत्रमा जाने जोडीहरु कतिपय आफ्ना जोडीसँग मनका बह पोखेर फर्किने गरेका छन् त कतिपय भने यौन क्रियाकलापमा नै संलग्न हुने गरेका छन् ।

स्थानीय राजु दीपक शर्मा भन्छन, ‘यहाँ देखिने गरेका जोडीहरु कतिपय त गफ गर्ने, खुल्ला वातावरणमा आनन्दले रमाउने गरेका पाइन्छन् । तर कतिपयको भने हेर्दा नै लाज लाग्दो पनि देखिएको छ । गाउँको नजिकको खुल्ला चौरमा यौन क्रियाकलाप गर्दा हाम्रो समाजमा के असर पर्छ ? यसको वरपर बस्ने बासिन्दाले के सिक्ने ?’

पाटेश्वरी पछाडीको क्षेत्रमा बेला बेलामा प्रहरीले पनि निगरानी गर्दै आएको छ । त्यस क्षेत्रमा घाँस काट्न देखि बस्तुभाउ चराउन जानेहरुले पनि चौरमा यत्रतत्र छरिएका कण्डमहरु देख्ने गरेका कारण बिकृति बढेको भन्दै उनीहरुले प्रहरीमा गुनासो पनि पोख्ने गरेका छन् ।

पुल पारीका स्पटमा बढी आकर्षण

अर्को लभ एरिया कुश्मा बलेवा जोड्ने झोलुङ्गे पुल पारीको क्षेत्र बनेको छ । घुम्न र अग्ला पुल हेर्ने बहानामा पुलमा पुग्नेहरु त्यहाँबाट १५ मिनेटको पैदल यात्रा गरेर बलेवा बिमानस्थलको तल्लो भागमा रहेको सल्लेरीमा पुग्ने गर्छन् ।

अहिले धेरैको रोजाईमा त्यो ठाउँ पर्ने गरेको पुलको आसपासमा व्यापार गरेर बस्नेहरु बताउँछन् । त्यहाँ भने प्रहरीको त्यती धेरै उपस्थिति रहँदैन र वरपर बस्ती पनि छैन् । यस्तै कुश्मा र बलेवा जोड्ने यान्त्रिक पुलको बलेवातर्फ को भाग नेपाने पनि जोडीहरुको रोजाईमा पर्ने गरेको छ । पुल रहेको क्षेत्र वरीपरी मानव बस्ती छैन् ।

त्यस वरपरको क्षेत्रमा खुल्ला चौर र केही उतारचढाव भएको भूभाग छ । मूल बाटो छोडेर दायाँ बायाँ स्थानीय र यात्रीहरुको पनि खासै उपस्थिति हुँदैन् । सोही कारण उक्त क्षेत्रमा पनि प्रमिल जोडीहरु भेटिने गर्छन् ।

भ्यालेन्टाईन र सेक्स पर्यायवाची 

भ्यालेन्टाईन डे भनेपछि अहिले धेरैले यौनको पर्यायवाची शब्दको रुपमा बुझ्ने गरेको धेरैले बताउँछन् । भ्यालेन्टाईन डे मा प्रेम प्रेमिकाहरु भेटिएर आपसमा कुराकानी गर्ने, मायाका भावना बुझ्ने लगायत प्रेमलाई सफल बनाउन योजना बुन्ने काम उत्तम हुने भएपनि अहिलेको पुस्ताले भने भ्यालेन्टाईन डे लाई सेक्स डे का रुपमा बुझ्ने गरेको प्रौढ पुस्ताको बुझाई छ

‘अहिलेको पुस्ताले पहिले जस्तो मायामा दुःख कष्ट पाएको छैन् । अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालहरुले नै मायाका कुरा गर्ने अवसर प्रदान गरेको छ,’ कुश्मा नगरपालिका ५ बडागाउँका ५० बर्षीय उमेश शर्मा पौडेलले भने, ‘ऊ बेलामा महिनौँपछि मायालुलाई भेट्न पाईन्थ्यो, भेट हुने बेलामा यौनको चाहाना त आउने नै थिएन, प्रेममा कसैको आँखा नलागोस भन्न योजनाहरु बनाईन्थे ।’ पौडेल जस्तै प्रौढ पुस्ताका अरुको बुझाई पनि यही छ । भ्यालाईन्टाईन डे लाई माया साट्ने दिनको रुपमा नलिएर शारीरिक रमाईलो गर्ने दिनको रुपमा बुझेको धेरैको भनाई छ । यो दिनमा बिशेषत आफूले मन पराएको मान्छेलाई प्रेम प्रस्ताव राख्न राम्रो मान्ने गरिन्छ ।

होटलका कोठाहरु नै लभ स्पट

खुल्ला चौर वा पार्कमा बस्दा अरुले देख्ने, कुरा काट्ने, समाजमा बद्नामी हुने लगायतका डरका कारण पनि आजभोलीको भ्यालेन्टाईनमा होटलका कोठाहरु डेटिङका लागि बढी सुरक्षित भएको युवा युवतीको बुझाई छ ।

होटल सञ्चालकहरु होटलका रुममा त्यसरी बस्नेहरु नआउने बताउँछन् । होटलमा रुम दिँदा श्रीमान श्रीमती भएको वा स्पष्ट नाता खुल्ने परिचय लिएर मात्र रुम दिनुपर्ने उनीहरुको भनाई छ । होटल संचालन गर्दै आएका एक व्यवसायीले भने, ‘प्रहरीको निगरानी भैरहेको हुन्छ, स्पष्ट नाता खुलेमा र कुनै फरक नपर्ने भएमा मात्र रुम दिन सकिन्छ । नत्र रुम चाहियो भनेकै आधारमा रुम मिल्दैन् ।’

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.