www.tandavnews.com
Fact ~ In search of truth

सुरक्षित छैनन् लभपार्क

सन्तोष सुवेदी
पोखरा, ताण्डव न्यूज ।

सहरभन्दा अल्ली पर । कुनै प्राकृतिक सुन्दरताले ढाकिएको ठाउँ । आधुनिक पुस्ता प्रेम व्यक्त गर्न वातावरणले पनि साथ दिने डेटिङ स्पोट खोज्ने गरेको पाइन्छ । मान्छेहरुको धेरै चाप नहोस जसले गर्दा रोमान्स गर्न, मायालुसँग जिस्कन, कुराकानी गर्न यस्ता गोप्य ठाउँ तन्नेरीको रोजाइमा पर्ने गर्छन् ।

पोखरा, आफैमा प्रमिल ठाउँ हो । यहाँ थुप्रै यस्ता ठाउँहरु छन्, जहाँ दिनहूँ युगल जोडीहरु माया साटिरहेका हुन्छन् । फेवातालको पानीलाई साँची राखी कसम खाएका हुन्छन्, शान्ती स्तुपाको पवित्र स्थललाई छोएर जिन्दगी कटाउने वाचा गरेका हुन्छन् ।

Batas

तर, केही वर्ष यता पोखराका यस्ता ठाउँ युगल जोडीहरुका लागि असुरक्षित बन्दै गएका छन् । कतिपय डेटिङमा गएका जोडी उच्छृङखल जमातबाट कुटिएका–पिटिएका पनि छन् । डेटिङमा गएका युवालाई कुटेर युवतीमाथि दुव्र्यवहार गर्ने घटनाहरू पनि धेरै घटेको उदाहरण छ । यस विषयमा प्रहरीले भने कुनै तदारूकता देखाउन सकेको छैन ।

यस विषयमा न त कसैलाई भन्न मिल्ने न त नगई बसिरहन सकिन् । कतिपय जोडीहरु स्थानीय व्यक्तिबाट असुरक्षित छन् भने कति पुलिसको भेष बनेर गएका नक्कली पुलिसको व्यवहारमा हैरानी खेप्नु परेको छ । जस्तो की केही उदाहरण प्रस्तुत गर्दैछौं ।

घटना १

पोखराका एक सञ्चारकर्मी आफ्नो गलफ्रेन्डसँग कार्कीडाँडा घुम्न गए । उनीहरु त्यहाँ मायालु गफ गर्दै रमिरहेका थिए । कुनै अश्लिल क्रियापकलाप गरेका थिएनन् ।

त्यत्तिकैमा एक जना मान्छे नजिकै आएर चर्को स्वरले ‘के गरेको ?’ भन्दै कराए । एक्कासी चर्को आवाज आउँदा उनीहरु झस्किएर आत्तिदै उठे । ‘म प्रहरी हुँ , यस्तो सार्वजानिक ठाउँमा यसरी बस्न पाइन्छ ? तेरो यो केटी को पर्छे ?’ उसले एकपछि अर्को प्रश्न ग¥यो । उनीहरु अक्कनवक्क परे । गलफ्रेन्डसँग गएका युवक नडराई भने, ‘हामीले के गरेका छौ ? यत्तिकै बस्न पनि पाइदैन ?’ उसले जवाफ फर्काउन नपाउँदै उसले पैसा नदिए कारवाही गर्ने धम्की दियो । ती मान्छेले उनीहरुसँग पैसा माग्यो, नदिई चौकीमा लाने बतायो ।

चौकीमा लाने धम्की दिएपछि उनीहरुले केही रकम दिए र त्यहाँबाट फर्के । ति सञ्चारकर्मीले प्रहरीकोमा जानकारी दिन सक्थे तर प्रेमिकाले वेकार झमेला नगरौ भनेपछि रकम दिएको खुलाए ।

घटना २

एकवर्ष पहिले मणिपाल शिक्षण अस्पतालको सेती नदीको डिलमा एक एमविविएसका विद्यार्थी प्रेमिकासँग बसेका थिए । रमाइला कुराकानी र हासो ठट्टा गर्दै बसेका उनीहरुलाई चर्को आवाजले झस्कायो । त्यो आवाज अरु कसैको थिएन्, त्यही नक्कली प्रहरीको थियो । ‘के गरेर बसेको ?’ पछाडिबाट आवाज आयो, ‘म सिभिल पुलिस हो’ त्यो मान्छेले भन्यो ।

पहिलो घटनामा जसरी उसले पैसा र मोबाइलमा बार्गेनिङ गर्न थाल्यो । नदिई प्रहरी कार्यालयमा लैजाने धम्की दिएपछि आफ्नो प्रेम सार्वजानिक हुने डरले पनि उनीहरुले मोबाइल दिन बाध्य भए ।

बिना कारण बसेर गफ गर्दैमा प्रहरी हुँ भन्दै मोबाइल माग्नु केही रहस्य ठानेर ती विद्यार्थीले जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिए । पछि जिल्ला प्रहरी कार्यालय कास्कीले प्रक्राउ गरेपछि नक्कली प्रहरी भएको थाहा भयो ।

यी केही वर्ष पहिले भएका उदाहरणहरु हुन् । अहिले पनि यस्ता घटनाहरु भईरहन्छन तर बाहिरा भने आउदैन् । घटना सार्वजनिक भयो भने उल्टो आफूहरुलाई समस्यामा पर्ने भएकाले प्राय रकम दिएरै भएपनि यस्तो घटना लुकाउने गर्छन् । यस्तो घटनाको सिकार बनेका धेरै जोडीहरु प्रहरीकहाँ उभिने आट गर्दैनन् ।

त्यस्तो किसिमको घटनाको गुनासो नआएको कास्की जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता तथा डिएसपी रवीन्द्रमान गुरुङ बताउँछन् । ‘यस्तो घटना हामीकहाँ आयो भने तुरुन्तै कारवाहीको दायरमा ल्याउछौ, केही जोड कतै बस्दैमा पक्राउ गर्न मिल्दैन,’ उनले भने, ‘पाच्य र अपाच्य कुराहरुमा निर्भार हुन्छ । सोही अनुसार प्रहरीले काम कारवाही गर्छ ।’

पोखराको रमाइलो वातावरणमा रमाउन बानी परेकाहरू निकै टाढा डाँडामा डेटिङमा पुग्दा विभिन्न समस्याले सताउने गरेको सुनाउँछन् । समय मिलाउनुपर्ने, टाढा भएकाले कसैले देख्नेबित्तिकै शंकाको घेराभित्र परिहालिने आदि समस्या निकै हुने गरेको केहीको भनाई थियो ।

अहिले डेटिङमा रमाउने युवायुवती कि त रेस्टुरेन्ट कि फिल्महलमा थन्किन बाध्य छन् । पामेमा रेस्टुरेन्ट सञ्चालन गर्दै आएका राजन सुवेदीले आजकल युगल जोडीहरु पहिलाको तुलनामा कम आउने बताउँछन् । ‘खै आजकल के भयो कुन्नी पहिलाको तुलनामा निकै कम जोडीहरु आउने गरेका छन्,’ उनले भने, ‘अहिले समग्र होटेलको व्यापार नै छैन भन्दा पनि हुन्छ । हाम्रो तिर नेपाली भन्दा पनि विदेशी घुम्न आउने गरेका छन् ।’

फेवातालको किनार, पावर हाउस, पामे, सराङकोट, डेभिड फल्स, माटेपानी गुम्बा, शान्ति स्तूपा, बसुन्धरा पार्क, भद्रकाली, हेम्जा, पुम्दीभुम्दी, माछापुच्छ्रे भ्यू टावर, पोखराको फूलबारीबाट भलाम जाने सडकमा पृथ्वीनारायण क्याम्पस परिसर, सेतीको डिल तथा काली खोलाको डिलमा गाला र कुम जोड्दै प्रेम साटासाट गरिएका दृश्य देख्न सकिन्छ । दिउँसोको तुलनामा साँझ त्यहाँ मस्ती गर्नेहरू बढी हुन्छन् ।

गन्तव्यहरु

लभ्ली डाँडा

नाम नै लभ्ली भएर पनि हुन सक्छ पोखराको पुरानो मायालु भेटिने गन्तव्य हो लभ्ली डाँडा । पस्र्याङमा अवस्थित लभ्ली डाँडा प्रेममा बाधिनेहरुका निम्ती उत्कृष्ट रमणीय स्थल हो । चिसो हावाको वेगसँगै युवायुवती डाँडा चढ्ने गर्छने ।

माछापुच्छ्रे हिमाल र पोखराको सेरोफेरो हेर्दौ डाँडाको टुप्पो सम्म प्राय जोडीहरु पुग्ने गर्छन् । लभ्ली डाँडा प्रेम गर्नेहरुको पहिलो घुम्ने गन्तव्य हो । तर बिहान मर्निङवाक जाने बाहेक उतिसाह्रो युवायुवतीको जोडी बाधेर बसेको भेटिदैन् । सुरक्षाको दृष्टिबाट पनि कतिपय जोडीहरु घेराबन्दीमा भएको खबर आउने गरेकै हुन्थ्यो । अहिले त माया गर्ने डाँडाको सुन्दरतामा हस ल्याउने काम भइरहेको छ ।

पामे

पोखराको लेकसाइडस्थित हल्लनचोकबाट पामे जाने सडकमा आफ्ना मायालुसँग मस्त जोडी बग्रेल्ती देखिन्छन् । यहाँ सुन्दर फेवाताल, वरिपरिका डाँडाकाँडा अनि आकाशमा उडिरहेका प्याराग्लाइडिङ हेर्दै आफ्नो मायालुसँगको बसाइलाई अविस्मरणीय बनाउन सकिन्छ । पामे जाने यो मार्गमा स्थानीय युवा–युवतीदेखि पोखरा घुम्न आएकाहरूसमेत यहाँ आ–आफ्ना प्रेमी–प्रेमिकासँग भेटिन्छन् ।

सराङकोट

सूर्योदय र सूर्यास्त हेर्न मात्र होइन, पोखरा आसपासको सौन्र्दय नियाल्न पनि यहाँ पुग्न जोडीहरू लालायित रहन्छन् । पोखराबाट सराङकोट जाने सडकका विभिन्न घुम्तीमा हरेक दिन यस्ता गतिविधि भैरहेका हुन्छन् । यो हाइवेमा आफ्ना मायालुसँग मस्त जोडीहरू छ्यापछ्याप्ती भेटिन्छन् भने कलेज ड्रेसमै रोमान्स गर्ने टिनएजरको संख्या पनि उस्तै हुन्छ ।

फूलबारी–भलाम

भलाम जाने सडकमा पृथ्वीनारायण क्याम्पस परिसर, सेतीको डिल तथा काली खोलाको डिलमा गाला र कुम जोड्दै प्रेम साटासाट गरिएका दृश्य देख्न सकिन्छ । दिउँसोको तुलनामा साँझ त्यहाँ मस्ती गर्नेहरू बढी हुन्छन् ।

काहुँडाँडा

यहाँबाट हिमाल प्रस्टसँग देख्न सकिन्छ । पोखरा बजारबाट सात किमी टाढा रहेको काहुँ डाँडामा धरहरा रहेको छ । जहाँ पुगेर हिमाल र पोखरा बजारलाई पृष्ठभूमिा राखेर कयौं जोडीहरु सेल्फी लिइरहेका हुन्छन् ।

पावर हाउस 

बिरौटाबाट केही तल झरेपछि फेवा पावर हाउस आउँछ । पावर हाउस झर्ने सिँढीहरुमा गएर फोटो खिच्नेहरु थुप्रै भेटिन्छन् । त्यहाँ पार्क पनि रहेको छ । त्यहाँबाट पनि हरियाली मनोरम दृश्यहरु देखिने हुँदा प्रेमी/प्रेमीकाहरु मनोरञ्जन लिने गरेको पाइन्छ । सहरबाट अल्ली शान्त र रमणीय ठाउँ भएकोले पनि युगल जोडी एक न एकचोटी त्यहाँ पुग्ने गरेका हुन्छन् ।

रेस्टुरेन्ट–फिल्महल 

प्रेमदिवसका बेला आफ्ना प्रेमी–प्रेमिकासँग डेटिङ जाने रहर सबैलाई हुन्छ, तर एकान्त स्थलहरू सुरक्षित नहुँदा उनीहरू दिक्क पनि छन् । स्थानीय मात्र होइनन्, मुलुकका विभिन्न भागबाट पनि युगल जोडीहरू आफ्नो प्रेमलाई बलियो पार्न डेटिङ स्थल खोज्दै पोखरा आउँछन्, तर सुरक्षाको चिन्ता उनीहरूमा पनि छ ।

चियाएर बस्नेहरू उनीहरूको एकान्त भंग गर्ने अनेक प्रयत्न गर्छन् । कतिपय डेटिङ स्थलमा मारपिटसमेत हुने गरेको सुनिन्छ । त्यही भएर डेटिङ जोडीहरू बिच्किएका छन् । एकान्त र रमणीय ठाउँहरू डेटिङ स्पटका लागि असुरक्षित बन्दै गएपछि जोडीहरू होटल–रेस्टुराँ तथा चलचित्र हलतिर धाउन थालेका छन् ।

अन्य 

सिद्धार्थ हाइवे अन्तर्गत पर्ने पोखरा भ्यू प्वाइन्ट, माछापुच्छ्रे भ्यू प्वाइन्ट लगायतमा पनि पुगेको भेटिन्छ । स्याङ्जाको भालुपहाडसम्म पनि आफ्ना प्रेमी–प्रेमिकासँग समय बिताउनेहरू पनि त्यत्तिकै हुन्छन् ।

याम्दी घट्टेखोला, नौडाँडा, लुम्ले आदि विभिन्न ठाउँमा प्रेमलील जोडीहरू फेला पर्छन् । राखी मिजुरे सडकअन्तर्गत टाइगरटप डाँडा पनि मायालु जोडीहरूको पुग्ने गन्तव्य हुन् । सेती नदी, फुर्सेखोला किनार, महतगौडा, ढुङ्गेसाँघु आदि । कास्कीको सार्दीखोला, घट्टेखोलादेखि धम्पुस, हेम्जाबाट लाहाचोक ल्वाङघलेल पनि युगल जोडिहरु पुग्ने गरेको पाइन्छ ।

भ्यालेन्टाइन विशेष सामाग्री

गफिने जोडीलाई ठाउँको अभाव

प्रेम गर्नेको दिन

भ्यालेन्टाइन डे मनाउनु आवश्यकता कि विकृति ?

प्रेमको साक्षी फूल

प्रेम पत्र…

गुलाबी माया…

जे छ आखिर प्रेममै त छ…

© 2019, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.