www.tandavnews.com
Fact ~ In search of truth

विष पिइरहेछ पोखरा

माधव भुसाल
पोखरा,ताण्डव न्यूज ।

अक्सिजनको एक र हाइड्रोजनको दुई एटमले बनेको पानीले मानव शरिरको ६० प्रतिशत भाग ओगट्छ । अक्सिजन बाहेक, शरिर जिवित राख्नकालागि चाहिने महत्वपुर्ण तत्व पानी हो ।

यसअर्थमा पानी पिउनु अतिआवश्यक छ । मात्रै ‘पानी’ होइन, शुद्ध पानी । शुद्ध पानी दिनहुँ मात्रा पुग्ने गरी पियो भने ९० प्रतिशत रोग लाग्नै नदिने शक्ति पानीले सञ्चित गर्छ ।

Batas

बढ्दो शहरीकरणसँगै बढेको जनसंख्या र विनास भैरहेको प्राकृतिक श्रोतसाधनकै कारण देशका शहरहरुमा पानीको अभाव छ । धारामा पानी भन्दा धेरै हावा सुसाउँछ ।

पानीको अभाव खेप्ने शहरको पहिलो नम्बरमा काठमाडौंले आफ्नो नाम सुरक्षीत गरिसक्यो । पोखरा यति नै नम्बरमा पर्छ भन्नेबारे अन्यौलता छ । तर, पोखरेलीहरुले सहजताका साथ शुद्ध पानी पिउन नपाइरहेको यथार्थ छर्लङ्ग छ, शुद्ध पानी जस्तै ।

धारामा हावा नसुसाउँदा कहिलेकाहीं आउने पानी घर सफा गर्न, भाँडा माझ्न, कपडा धुनेसम्म प्रयोग गर्न सकिन्छ । कहिलेकाहीं तिनै कामका लागि पनि अयोग्य हुन्छ । पानी आउँछ तर लेदो सहित ।

धारामा पानी आउला र खाउँला भनेर कुरेर बस्ने सायदै होलान्, पोखरामा । कार्यालय, संघसंस्था, घर, डेरा जताततै किनेर खाने बानी परिसकेको छ ।

शुद्धताको प्रतिक…फलानो, ढिस्कानो ब्राण्डको पानी । गज्जबकै नाम र स्लोगन राखेर पोखरामा पानी कम्पनी फस्टाइरहेका छन् । शुद्धताको नारा भजाउने पानी कम्पनीहरुले के साँच्चै शुद्ध पानी बेचिरहेका छन् त ? सर्वसाधारणको नांगो आँखाले सफा देखेपछि त्यो पिउन योग्य भएको ठहर्छ । सफा देखिएपछि शुद्धतामाथी आँखाले हेरेर प्रश्न गर्न पनि मनासिव देखिएन ।

पोखरामा यस्ता केहि ठग कम्पनी भेटिएका छन् जसले सर्वसाधारणको आँखालाई मात्र शुद्ध देखाउन सङ्गलो तर परिक्षण गर्दा किटाणु मिश्रीत पानी बजारमा बेचिरहेका छन् ।

पैसाको लोभमा जनताको स्वास्थ्यमाथि खेलवाड गरेका कम्पनीको पानीलाई मुल्य तिरेर पानीको नाममा विष पिइरहेको छ पोखरा ।

विष बेच्नेहरु…

गत असार २७ गते बुधबार पोखराको टूडेज मिनरल वाटरमा कास्की प्रशासनले अनुगमन गर्यो । सिएम अक्वा वेभरेज प्रालिले शुद्ध भनेर, लेखेर जनताको घर दैलोमा पुर्याउने जारको पानीमा कोलिफर्म भेटियो ।

नाम चलेका व्यवसायी र ब्राण्ड बनेको कम्पनीले जनताको स्वास्थ्यसँग खेलवाड गर्यो । कम्पनीका मेनेजर कपिल श्रेष्ठ पक्राउ परे । जनतालाई कोलिफर्म पिलाएको कसुरमा उनी जिल्ला प्रशासन कार्यालय कास्कीमा तारिख धाइरहेका छन् ।

कपिलले तारिख धाइरहँदा, यता टुडेज मिनरल वाटरजस्तै अरु कम्पनीहरु बजारमा भेटिएका छन् ।

प्रशासन कार्यालय कास्कीले यहि १८ गते गरेको अनुगमनका क्रममा कम्पनीहरुले बेच्ने गरेको पानीमा कोलिफर्म पाइएको हो ।

धिताल नेचुरल र अन्नपुर्ण पानी उद्योगले बेच्ने जारको पानीमा कोलिफर्म पाइएको उपभोक्ता मञ्च कास्की अध्यक्ष कपिलनाथ कोइरालाले बताए । ‘जाँचका क्रममा कोलिफर्म देखिएपछि कम्पनीमा तत्काल सिलबन्दी गरिएको छ’, उनले भने ‘जनताको स्वास्थ्यमाथि खेलवाड गर्ने कम्पनीहरुलाई कडा कारवाही गरिन्छ ।’

असारयता कास्कीका १० पानी कम्पनीमा गरेको अनुगमन मध्ये ३ कम्पनीमा कोलिफर्म भेटिएको छ ।

के हो कोलिफर्म ?

कोलिफर्म दिसामा पाइने ब्याक्टेरिया हो । यो पानीमा मात्रै होइन, तरकारीहरुमा पनि देखिन्छ । अक्वाटीक अर्थात् पानी भएको स्थानमा यो ब्याक्टेरियाले आफूलाई उपस्थित गराउँछ ।

जब हामी कोलिफर्मयुक्त पानी, तरकारी वा अन्य कुरा खान्छौ, ब्याक्टेरिया हाम्रो शरिरमा जान्छन् । कोलिफर्मकै कारण पेट दुख्ने, रगतसहितको झाडापखाला, वान्ता, ज्वरो आउने हुन्छ ।

यसबाहेक निमोनिया हुने, श्वास प्रश्वास र पिसाबको समस्या समेत देखा पर्छ ।

© 2018, ताण्डव न्यूज. सर्वाधिकार सुरक्षित नोट : यस ताण्डव न्यूजबाट सम्प्रेषित कुनै पनि समाचार वा जानकारी सर्वाधिकार सुरक्षित गरिएको छ । ‘ताण्डव न्यूज डटकम’बाट प्रेषित समाचार अनलाइन न्यूजहरुले जस्ताको तस्तै साभार गरेको पाइएकाले यो नगर्न हुन अनुरोध गर्दछौं । अन्यथा, बिनाअनुमति हाम्रा सामग्री प्रयोग गरे कानुनी कारबाहीमा जान बाध्य हुनेछौं ।

You might also like

Comments are closed.